बाजुरा। हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादन बढ्दै गएको छ। जिल्लामा स्याउखेती विस्तार भएसँगै खेती गरिएको क्षेत्रफल, फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढेको हो। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा ३३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ। गत वर्षको तुलनामा उत्पादन बढेको केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताए। उनका अनुसार क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको हो। “यहाँ मुख्य गरी चार स्थानीय तहमा स्याउखेती गरिन्छ”, न्यौपानेले भने, “यस वर्ष स्वामीकार्तिक खापरमा १२५, जगन्नाथमा ९७, हिमाली गाउँपालिकामा ३७ र बुढीनन्दा नगरपालिकामा ७८ मेट्रिकटन स्याउ उत्पादन भएको छ।” कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको उनले जानकारी दिए। जिल्लाभित्र र बाहिर गरी एक करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा एक करोड ५० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो। जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ। त्यसमध्ये २१० हेक्टरमा मात्रै उत्पादन हुँदै आएको छ। चार स्थानीय तहका अतिरिक्त खप्तड छेडेदह र गौमुललगायत क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले क्षेत्रफल विस्तारसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री हुन नसकेको बताए। वर्षात्का कारण अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म सञ्चालनमा नआउँदा ढुवानी र बजारीकरणमा समस्या भएको उनको भनाइ छ। “दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी, धनगढी र नेपालगञ्जसम्म स्याउ बिक्री भएको हो”, विष्टले भने। उनका अनुसार विगतमा स्याउ ढुवानीका लागि कार्यालयले अनुदान दिने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट नआउँदा किसान आफैँले ढुवानी खर्च बेहोर्नुपरेको छ। लगानी र मिहिनेतअनुसार उत्पादन हुन थालेपछि पछिल्लो समय स्याउखेतीप्रति किसानको आकर्षण बढेको विष्टले बताए। उनका अनुसार क्षेत्रफल विस्तार र बगैँचा सुदृढीकरणका लागि कृषि ज्ञान केन्द्रले अनुदानमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जिल्लामा स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसजस्ता उन्नत जातको खेती पनि विस्तार भइरहेको छ। उत्पादन बढे पनि बजार र उचित मूल्य पाउन किसानलाई अझै चुनौती छ। बारीबाट बजारसम्म स्याउ पुर्याउन सहज सडक र भरपर्दो ढुवानी सेवाको अभाव रहेको विष्टले बताए। वर्षायाममा सडक अवरुद्ध हुँदा उत्पादन भएको स्याउ समयमै बजार पुर्याउन समस्या हुने गरेको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्ज्वल रावतले बताए। उनका अनुसार स्याउ उत्पादन हुने समयमा सडक बन्द हुँदा बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता छ। यसले गर्दा धेरै स्याउ बारीमै खेर जाने गरेको छ। सडक सञ्चालनमा आएपछि पनि लामो दूरी, महँगो ढुवानी खर्च र असहज सडकका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्। अर्को सिजनका लागि स्याउ भण्डारण गर्न चिस्यान केन्द्र नहुँदा पनि ठूलो परिमाणमा उत्पादन भएको स्याउ बिक्री गर्न समस्या हुने गरेको किसान बताउँछन्। स्याउखेतीलाई व्यावसायिक बनाउन स्थानीय तह र कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। किसानलाई स्याउका बिरुवा वितरण, प्राविधिक परामर्श, खेती व्यवस्थापनसम्बन्धी जानकारी र उत्पादन बजारसम्म पुर्याउन सहयोग गर्ने कार्यक्रमले व्यावसायिक खेतीप्रति आकर्षण बढाएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए। सडक स्तरोन्नति, सहज यातायात, नियमित ढुवानी सेवा, शीतभण्डार निर्माण, बजार व्यवस्थापन र प्राविधिक सहयोग प्रभावकारी बनाउन सके बाजुराको स्याउखेतीले जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ छ।
बाजुरामा स्याउ उत्पादन बढ्यो, बजार पुर्याउन अझै सास्ती

Read Complete Original Article
Published originally on नेपालन्युज






