बाजुराको अम्कोट पहिरो नियन्त्रण गर्न ५२ करोड बजेट विनियोजन

बाजुरा । बाजुराको साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। वर्षौंदेखि पहिरोका कारण सडक अवरुद्ध हुने र स्थानीय बासिन्दाले जोखिमपूर्ण जीवन बिताउनुपर्ने समस्या समाधान गर्ने उद्देश्यले सरकारले उक्त बजेट छुट्याएको हो। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि आयोजना अघि बढाउने गरी बजेट विनियोजन गरेको जनाएको छ। आयोजना सडक डिभिजन कार्यालय साँफेबगर, अछाममार्फत कार्यान्वयन गर्ने तयारी गरिएको छ। अहिले आयोजना टेन्डर प्रक्रियामा रहेको र निर्माण अघि बढाउनुअघि प्राविधिक डिजाइन पुनरावलोकन गरिने जनाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार लागत अनुमान तयार भइसकेको छ। डिजाइन पुनः जाँच गरी आवश्यक परिमार्जन गरेपछि टेन्डर प्रक्रिया अघि बढाइनेछ। आयोजनाको काम बहुवर्षीय ठेक्कामार्फत सम्पन्न गर्ने योजना रहेको छ। बाजुराको अम्कोट क्षेत्रमा पहिरोको समस्या लामो समयदेखि कायम छ। पहिरोका कारण साँफे–मार्तडी सडकमा यातायात सञ्चालन प्रभावित हुँदै आएको छ भने बुढीगंगा नगरपालिका–१ स्थित अम्कोट गाउँका बासिन्दासमेत जोखिममा छन्। पहिरोले खेतीयोग्य जमिन कटान गर्नुका साथै केही घरमा पनि क्षति पुर्याएको छ। यस क्षेत्रमा सडकको तल्लो भागमा बूढीगंगा नदीले कटान गरिरहेको छ भने अर्कोतर्फ त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रमा पहिरोको जोखिम छ। नदी कटान र पहिरोको दोहोरो समस्याले सडकलाई सुरक्षित राख्न चुनौती थपिएको छ। विगतमा वर्षायामका बेला अम्कोट क्षेत्रमा महिनौँसम्म यातायात अवरुद्ध हुने गरेको थियो। विशेषगरी २०७७ र २०७९ सालमा पहिरोका कारण करिब चार महिनासम्म सडक सञ्चालन हुन सकेको थिएन। २०७७ भदौमा सडक भासिँदा एक जनाको ज्यानसमेत गएको थियो। अम्कोट पहिरोको दीर्घकालीन समाधानका लागि यसअघि पनि अध्ययन गरिएको थियो। २०७९ सालमा भूगर्भविद्को टोलीले गरेको अध्ययनपछि उक्त क्षेत्रमा सडक निर्माण तथा व्यवस्थापनका लागि करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। ठूलो लागत लाग्ने देखिएपछि पहिरो नियन्त्रण र सडक सुधारको काम लामो समयसम्म अघि बढ्न सकेको थिएन। यसपटक बजेट विनियोजन भएपछि स्थानीय बासिन्दामा समस्या समाधान हुने आशा पलाएको छ। स्थानीय वसन्त थापाले लामो समयदेखि पहिरो नियन्त्रण र सडक सुधारका लागि बजेट माग गर्दै आएको बताउँदै अब विनियोजित रकमअनुसार काम अघि बढ्नुपर्ने बताए। उनका अनुसार बजेट छुट्याउनु सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ। साँफे–मार्तडी सडक बाजुराको सदरमुकाम मार्तडीलाई अन्य क्षेत्रसँग जोड्ने प्रमुख मार्ग हो। यसै सडकबाट हुम्ला र मुगुका बासिन्दासमेत आवतजावत गर्ने भएकाले अम्कोटको पहिरो नियन्त्रणले धेरै क्षेत्रको यातायातमा सहजता ल्याउने अपेक्षा गरिएको छ। वर्षायाममा सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र यात्रु आवतजावतमा समस्या हुँदै आएको छ। सडक जोखिमपूर्ण हुँदा दुर्घटनाको सम्भावना पनि रहन्छ। ५२ करोडभन्दा बढी बजेट विनियोजन भए पनि पहिरोको जोखिम कति कम हुन्छ भन्ने कुरा निर्माणको प्राविधिक योजना र कार्यान्वयनमा निर्भर रहनेछ। अब डिजाइन पुनरावलोकन, टेन्डर प्रक्रिया र निर्माण कार्य समयमै अघि बढाउनु सम्बन्धित निकायका लागि महत्त्वपूर्ण हुनेछ। The post बाजुराको अम्कोट पहिरो नियन्त्रण गर्न ५२ करोड बजेट विनियोजन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ। धेरै बस्ती पहिरोको ...

रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताको सम्भावना बढेको ट्रम्पको सङ्केत
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे । ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । ...

समय चिनाइरहेको भानु चोक
भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो । ...


