काठमाडौं । काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामीले चलाएको बा.प्र.०२-०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट स्कुटरको पछाडि सवार दोलखाकी २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको प्रहरीले जनाएको छ। नारायणगोपाल चोकबाट सामाखुशीतर्फ जाँदै कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीले कार चालक धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङलाई पक्राउ गरेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई तत्काल उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। स्कुटर चालक सोमबहादुर धामी भने सामान्य घाइते भएका छन्। हाल दुवै सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका छन्। कारलाई थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।
बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






