बर्दिया । बर्दियामा भएका अलग अलग दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाकाअनुसार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज गुलरिया सडक खण्डको बर्दिया बढैयाताल गाउँपालिका-८ शितलाबजार नजिकै गुलरियाबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रत भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक जिल्ला बाँके, कोहलपुर नगरपालिका-९ बस्ने वर्ष २० का दिक्षित श्रेष्ठ तथा मोटरसाइकलको पछाडि सवार सोही स्थानका वर्ष १६ का रिदम थापा घाइते भएका थिए । दुवै जनालाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनऊस्थित अस्पताल लगिएकोमा मंगलबार बिहान ७ बजे उपचारकै क्रममा रिदम थापाको मृत्यु भएको छ । मोटरसाइकल चालक दिक्षित श्रेष्ठको सोही अस्पतालमा भेन्टिलेटरमा राखी गम्भीर अवस्थामा उपचार भइरहेको छ। यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । एक जना भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । गुलरिया नगरपालिका–११ का २४ वर्षीय ओमकार थारुको मृत्यु भएको हो । भारतको लखनउमा उपचारका लागि लैजाने क्रममा थारुको मृत्यु भएको हो । दुर्घटनामा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बर्दिया, बारबर्दिया नगरपालिका-३, बानियाभारका २५ वर्षीय आशिष थारु, सोही मोटरसाइकलमा पछाडि सवार बाँसगढी-७ का १८ वर्षीय रमन थारु, भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइका १८ वर्षीय सहाबुद्दीन खान र सोही मोटरसाइकलमा पछाडि सवार भारत, लौकाइका २२ वर्षीय जमाल खान घाइते भएका छन् ।
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






