बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’

पाल्पा।पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो। महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ। महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो। तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ। विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ। रानीमहलको आँगनमा बाढीको चोट देखिन्छ भने आसपासका स्थानीयका सपना बगरमा छरिएका छन्। प्रेमको प्रतीकका रूपमा परिचित रानीमहलको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा छन्। बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पुर्याएको छ। रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। प्राकृतिक विपत्तिले व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट पुर्याएको छ। बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको स्थानीय शङ्कर बस्यालले बताए। उनले भने, “ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको छ। हरेक वर्ष दसैंको बेला रानीमहल घुम्न आउने पर्यटकहरुको संख्या बढ्ने गरे पनि यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरु मर्कामा पर्नुपरेको छ।” प्राकृतिक विपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा स्थानीय सरकारले ध्यान नदिएको उनको आरोप छ। बाढीले पुर्याएको क्षतिभन्दा पनि विपत्तिपछि आफ्नो पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले उनीहरूलाई थप निराश बनाएको छ। बस्यालले कर संकलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनु पर्ने बताए। रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको दाबी गरे। उनका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन। गिरीले रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने बताए। यता, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको बताइन्। बाढीपछि निरन्तर वर्षा भइरहेको र त्यसलगत्तै दसैं बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उनको भनाइ छ। अध्यक्ष चिदीले अबको एक–दुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने बताइन्। ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ। जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित छ। तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं १९५४ मा रानीमहल निर्माण गरेका थिए। पत्नी तेजकुमारी देवीको मृत्युपछि उनकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गरेका हुन्। रानीलाई बगैंचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ पाँच वर्ष लगाएर रानीमहल निर्माण गराएका थिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १ई समाचार’मा प्रस्तुत गरेका छौँ– कालोपत्रे सडक विस्थापित गर्ने सरकारी नीति सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग... ...

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौँ, कात्तिक ११ गते । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ प... ...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
काठमाडौँ, कात्तिक ११ गते । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।विसं २०७९ वैशाख १६ गते... ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली (तनहुँ), कात्तिक ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानी... ...


