Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गर्ने सरकारी प्रयास तत्काल बन्द गर्न सरकारसँग कडा माग गरेको छ। काभ्रेको धुलिखेलमा सम्पन्न सरोकारवालाहरूको सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित गर्दै महासंघले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र न्यायपालिकामाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको हो। महासंघले मंसिर ५ र ६ गते धुलिखेलमा आयोजना गरेको सम्मेलन तथा बैठकले सरकारका पछिल्ला गतिविधिले प्रेस स्वतन्त्रता र नागरिकका संवैधानिक अधिकार सङ्कुचित हुँदै गएको निष्कर्षसहित विभिन्न माग अघि सारेको छ। सम्मेलनले संविधान र प्रचलित कानुनद्वारा प्राप्त मौलिक तथा कानुनी हकको प्रयोग सङ्कुचित, नियन्त्रित र निर्देशित हुँदै गएको भन्दै सरकारलाई त्यस्ता कार्य तत्काल रोक्न आग्रह गरेको छ। महासंघले पारित प्रस्तावमा भनेको छ, “संविधान र प्रचलित कानुनद्वारा प्राप्त मौलिक तथा कानुनी हकको प्रयोग र पालना सङ्कुचित, नियन्त्रित र निर्देशित हुँदै गएकोले सरकारलाई त्यस्ता कार्यहरू रोकेर संविधानको अक्षरशः पालना गर्न–गराउन यो सम्मेलन जोडदार माग गर्दछ।” प्रेस स्वतन्त्रतालाई सङ्कुचित गर्ने उद्देश्यले प्रस्ताव गरिएको प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गर्दै महासंघले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकलगायतका सञ्चारसम्बन्धी कानुन सरोकारवालाहरूसँग व्यापक छलफल र परामर्शपछि मात्र निर्माण गर्नुपर्ने जनाएको छ। त्यसैगरी, प्रेस काउन्सिल, पत्रकार तथा आमसञ्चारमाध्यममाथि सरकारी निर्देशनमा गैरकानुनी हस्तक्षेप, निर्देशन र नियन्त्रण भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग माग गरिएको छ। पत्रकारलाई समाचारको स्रोत खोल्न बाध्य पार्ने, त्यसका लागि सरकारी संयन्त्र, प्रेस काउन्सिल तथा प्रहरी प्रशासनबाट केरकार, धम्की र दबाब दिने कार्य रोक्न पनि महासंघले जोडदार माग गरेको छ। सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गराउने तथा समाचार कक्षमै प्रहरी प्रवेश गरी समाचारको स्रोत खोज्ने कार्यको महासंघले घोर निन्दा गरेको छ। त्यस्ता घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरिएको छ। महासंघले समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ तथा धरपकड गर्ने, पत्रकारले प्रयोग गर्ने मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार सामग्री नियन्त्रणमा लिने तथा त्यस्ता उपकरणमा रहेका तथ्याङ्क मेटाउने वा हटाउन बाध्य पार्ने सरकारी रवैयाको अन्त्य गर्नसमेत माग गरेको छ। यसैगरी, पूर्वअभ्यास र अन्तर्राष्ट्रिय मान्यताविपरीत पत्रपत्रिकाले प्राप्त गर्दै आएका लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द वा सङ्कुचित गर्ने कार्यप्रति महासंघले विरोध जनाएको छ। संघीयताको मर्म र भावनाविपरीत प्रदेशमा दर्ता भएका सञ्चारमाध्यमलाई संघीय संरचनाबाट नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै महासंघले प्रदेश संरचनाबाटै दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन माग गरेको छ। सरकारी स्वामित्वका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारहरूलाई बिनाकारण एकैपटक ठूलो संख्यामा हटाइएको भन्दै महासंघले हटाइएका सबै पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको छ। त्यस्तै, संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले प्रत्याभूत गरेको सूचनाको हक कार्यान्वयनमा भूमिका निर्वाह गर्ने सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखिएकोप्रति महासंघले आपत्ति जनाएको छ। महासंघले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न, अदालतमा हुने राजनीतिक हस्तक्षेप र दबाब अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम राख्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हननका विषयमा उपचार खोज्दै अदालत पुग्ने नागरिकका रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने वा सुनुवाइमा ढिलाइ गर्ने कार्य तत्काल रोक्न माग गरिएको छ। प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नरहने व्यवस्था गरिएमा काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न महासंघ बाध्य नहुने चेतावनीसमेत प्रस्तावमा दिइएको छ। त्यस्तो अवस्था आए महासंघ आफैँले आचारसंहिता जारी गरेर अघि बढ्ने घोषणा गरिएको छ। यसका अतिरिक्त, विभिन्न पेसाकर्मीहरूको पेसागत स्वतन्त्रता र भयमुक्त वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न तथा निःशुल्क सूचना प्रवाह गर्दै आएका एफएम रेडियोमाथि लगाइएको दोहोरो–तेहोरो कर प्रणाली अन्त्य गर्न महासंघले माग गरेको छ। सम्मेलनले पारित गरेका १६ वटै प्रस्तावप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार, विधिको शासन, सूचनाको हक र स्वतन्त्र न्यायपालिकाको संरक्षणका लागि सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा महत्वपूर्ण छलफल तथा सहमति भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचनपछि […] ...

काठमाण्डुपाटी
एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा
PoliticsJust now

एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणमा जाँदा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन गरेको भन्दै चर्को आलोचना खेपेका कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ यसपटक भने चम्किलो रिफ्लेक्टिभ ज्याकेट लगाएर प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थल पुगेका छन् । प्रधानमन्त्री शाह भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा सोमबार राति श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाज पार्किङ क्षेत्र (एप्रोन एरिया) मा […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो, के पाएन ?
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो, के पाएन ?

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमण आठवटा समझदारीपत्रमा हस्ताक्षर, छवटा आयोजना उद्घाटन तथा शिलान्यास र २४ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको छ । भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार, स्वास्थ्य, सुरक्षा, प्रविधि, व्यापार तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएको छ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको ...

जनताटाइम्स
प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको उल्लेख गरेका छन् । उनले दक्षिण […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement