प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

सुर्खेत । लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए । सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको करिब ९५ किलोमिटर सडकखण्ड हिमपातका कारण अवरुद्ध भएको छ । विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको नेपालीले जानकारी दिए । तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन समस्या भएको उनले बताए । ‘नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको छ । हिउँ पन्छाउने काम भइरहेको छ । मौसमले साथ दिए सोमबारसम्म सडक खुलाउने लक्ष्य छ,’ नेपालीले भने । समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन चुनौती भएको छ । ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा बढी हिउँ जमेको आयोजनाले जनाएको छ । हिउँ पन्छाउन जेसीबी प्रयोग भइरहेको छ । ९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेलिङ गरिएको छ । बाँकी सडक ट्र्याक खोलिएको अवस्थामा छ । सडक योजनाले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर प्रयोग गरेर हिउँ हटाउने काम गरिरहेको नेपालीले बताए । सडक खुलाउन दुई जनाको टोली खटिएको छ । टोलीले दिनभर काम गर्ने र साँझ यारीमा फर्किएर खाने तथा बस्ने गरेको छ । कठिन भौगोलिक अवस्था र अत्यधिक हिउँका कारण काम गर्न समस्या भइरहेको छ । पुनः हिमपात भए सडक पूर्ण रूपमा अवरुद्ध हुने र खुलाउने काममा थप ढिलाइ हुन सक्ने नेपालीले बताए । मौसम अनुकूल रहे सोमबारसम्म यातायात सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ । दशैं मनाउन घर फर्किने नेपाली प्रतीक्षामा सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयवासी प्रभावित भएका छन् । चीनको ताक्लाकोट क्षेत्रमा व्यापार तथा रोजगारीका लागि पुगेका हुम्लासहितका नेपालीलाई समेत घर फर्किन समस्या भएको छ । चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्न सडक अवरुद्ध हुँदा कठिनाइ भएको छ । दशैं मनाउन घर फर्किने तयारीमा रहेका नेपाली सडक खुल्ने प्रतीक्षामा छन् । हिल्सा क्षेत्रमा रहेका स्थानीयवासीसमेत सडक सञ्चालनमा आउने आशामा बसेका छन् । हिल्सा नेपाल–चीन सीमावर्ती क्षेत्र हो । सडक बन्द हुँदा दैनिक आवतजावत तथा सामान ढुवानी प्रभावित भएको छ । सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा रोकिएका नेपालीलाई घर फर्किन सहज हुने अपेक्षा गरिएको छ । यसअघि पनि नारा लेक क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाउन जेसीबी परिचालन गरिएको थियो । तर, पटकपटकको हिमपात र कतिपय स्थानमा अत्यधिक हिउँ जमेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ । हिमपातले लिमी जाने सडक पनि अवरुद्ध हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यका जाने सडकसमेत हिमपातका कारण अवरुद्ध भएको छ । सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको हो । नाम्खा गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेपछि लिमीका तिल, हल्जी र जाङलगायत गाउँको आवतजावत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि बाहिर लैजान तथा अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या भएको छ । सडकबाट आवतजावत गर्न नसक्ने अवस्था आएपछि बिरामीलाई उपचारका लागि बाहिर लैजानसमेत कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् । लिमी उपत्यका कैलाश–मानसरोवर क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मानसरोवरको दर्शन तथा हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकसमेत सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् । लिमी जाने सडक प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । हिमपात जारी रहे सडक सञ्चालनमा थप ढिलाइ हुने जोखिम छ । सिमकोट–हिल्सा सडक र लिमी जाने सडक दुवै अवरुद्ध हुँदा उत्तरी हुम्लाको आवतजावत, व्यापार तथा पर्यटन प्रभावित बनेको छ । मौसम अनुकूल हुनेबित्तिकै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिएको छ ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


