काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल तथा संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी हुनुहुन्छ । त्यसैगरी, भ्रमण टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित कुल ३५ सदस्य सहभागी रहनुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको उहाँकाे सचिवालयले जनाएकाे छ । भ्रमणका अवसरमा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै, भोलि सोमबार प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धासुमन अर्पण गर्नुहुनेछ । दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर भाेलि साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहितको भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका क्रममा भएका भेटवार्ता, छलफल, समझदारी तथा उपलब्धिबारे जानकारी गराउनुहुने जनाइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

Read Complete Original Article
Published originally on जनताटाइम्स






