काठमाडौं । एसीसी राइजिङ स्टार्स कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १२१ रनमै समेटेको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको धारिलो प्रदर्शनसामु टिक्न सकेन । नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दा मात्र ११ रन खर्चिनुभयो । खराब सुरुवात गरेको यूएईले ११ रन जोड्दा दुई विकेट गुमाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका रसिद खानले आर्यान्स शर्मालाई आठ रनमा आउट गर्नुभयो । अंश टन्डन पनि एक रनमा रनआउट हुनुभयो । त्यसपछि हर्प्रित सिंह र मुहम्मद सेहदादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाल्ने प्रयास गर्नुभयो । तर, सन्दीपले उक्त साझेदारी तोडेपछि यूएईको ब्याटिङ क्रम धराशयी बन्यो । यूएईका आठ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि मुहम्मद सेहदादले सर्वाधिक ४० र हर्प्रित सिंहले ३२ रन बनाउनुभयो । नेपाली बलरको प्रभावकारी प्रदर्शनका कारण यूएई ३९.५ ओभरमा १२१ रनमै अलआउट भयो । यस खेलमा कप्तान सन्दीपले स्पिन बलिङलाई प्राथमिकता दिँदै पाँच जना स्पिनर प्रयोग गर्नुभएको थियो ।
सन्दीप र कुशलको घातक बलिङ, यूएई १२१ रनमै अलआउट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






