काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठपछिको अवधिमा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ । कार्यप्रगति विवरणमा कूटनीतिक सम्बन्ध, नीतिगत तथा प्रशासनिक सुधार, सार्वजनिक खरिद व्यवस्थापन, विपद् व्यवस्थापन, सूचना प्रविधि, लगानी प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित काम समेटिएका छन् । प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्तासहित द्विपक्षीय सहकार्यका महत्त्वपूर्ण विषयमा छलफल भएको कार्यालयले जनाएको छ । जेन जेड आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि अघि सारिएको एकीकृत प्याकेजको कार्यान्वयन अवस्था समीक्षा गरिएको छ । बाँकी काम शीघ्र टुङ्ग्याउन सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ भने नेपाल जेन जेड परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ । उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको कार्यालयले जनाएको छ । नीतिगत तथा प्रशासनिक सुधारसंघ, प्रदेश र स्थानीय तहका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत समन्वय कायम गर्न र कार्यक्रमको दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षका विवरणको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ । सरकारी निकायले सञ्चालन गर्दै आएका सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका सरकारबाट सञ्चालित कार्यक्रममा दोहोरोपना हटाउन अध्ययन गरी सुझाव दिने कार्यदल गठन गरिएको छ । सार्वजनिक निकायमा कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको, सेवा प्रवाहको अवस्था र सेवाग्राहीको सन्तुष्टिबारे अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरिएको छ । सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ । लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशको गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ । सार्वजनिक खरिद तथा अनुगमननयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) सञ्चालनमा ल्याइएको छ । उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् । सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा व्यवस्थित गर्न ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी जारी गरिएको छ । खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्ने गरी परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ । निर्माण तथा परामर्श सेवा खरिदका विषयमा २३ सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्शसमेत उपलब्ध गराइएको छ । सार्वजनिक निकायको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ । सूचना प्रविधि तथा लगानी सहजीकरणराष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामा सम्बन्धित विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट प्राप्त सुझाव समेटेर परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति उपलब्ध गराउने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले राष्ट्रिय संवेदनशील सूचना पूर्वाधार पहिचान तथा संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाका विषयमा छलफल भएको छ । जलविद्युत् आयोजना तथा सरकारी सम्पत्ति व्यवस्थापनसन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बीओओटी) ढाँचामा अघि बढाउन विकासकर्ता छनोट गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेको उक्त आयोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भावना पहिल्याउन धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ । The post प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






