काठमाडौं, मंसिर २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारलाई ‘सेतो हात्ती’ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । उहाँले प्रदेश सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माण तथा सेवा प्रवाहका क्षेत्रमा काम गरिरहेको दाबी गर्नुभएको छ । बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलको नवनिर्मित ओपीडी भवन उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेश सरकार खर्चिलो मात्र नभई जनताका लागि काम गर्ने र देखिने सरकार भएको बताउनुभयो । उहाँले तीन तहका सरकारको चालु खर्चको तुलनात्मक विवरण प्रस्तुत गर्दै प्रदेश सरकारको चालु खर्च न्यून रहेको दाबी गर्नुभयो । चालु खर्चमा संघीय सरकारको बजेट ८० प्रतिशत खर्च हुन्छ बताउँदै उहाँले प्रदेश सरकारको जम्मा ५ प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत बजेट चालु खर्चमा विनियोजन भएर खर्च भएको जानकारी दिनुभयाे । ‘आज देखिने काम भएको छ भने त्यो प्रदेश सरकारबाट भएको छ । धेरै कामहरू प्रदेशअन्तर्गत भएका छन् । त्यसैले प्रदेश सेतो हात्ती होइन, प्रदेश देखिने सरकार हो । त्यही देखिने सरकार भएर हामीले काम गरिरहेका छौँ,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री थापाले प्रदेश सरकार गठन भएको नौ वर्षको अवधिमा भएका कामहरूको मूल्यांकन गर्न आग्रह गर्नुभयो । एकले अर्कालाई दोषारोपण र हिलो छ्याप्ने प्रवृत्ति त्यागेर सबै जनप्रतिनिधि विकास निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । ‘धेरै काम भएको छ, अब फिनिसिङ गर्नुपर्ने छ । सबै मिलेर गर्ने हो भने चाँडै फिनिसिङ गर्न सकिन्छ, देश बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो । भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य काम भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले अब नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । गाउँमै स्वास्थ्य सेवा र उच्च शिक्षाको व्यवस्था गर्न सके सहर केन्द्रित जनसंख्याको चापसमेत घट्ने उहाँको विश्वास छ । ‘अब गाउँगाउँमा स्वास्थ्य सेवा र कलेज सञ्चालन गर्ने हो भने पढ्नकै लागि सबै मानिस सहरमा जम्मा हुनुपर्ने अवस्था रहँदैन । हामीले शिक्षा, स्वास्थ्य र रोजगारी गाउँमै पुर्याउने हो भने काठमाडौं केन्द्रित मानिसहरू गाउँ फर्कन्छन्,’ उहाँले भन्नुभयो । उहाँले पछिल्लो ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य सही नभएको बताउँदै यस अवधिमा स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । नेपालीको औसत आयु बढेर ७२ वर्ष पुगेको उल्लेख गर्दै उहाँले यसको एउटा प्रमुख कारण स्वास्थ्य सेवामा आएको सुधार भएको बताउनुभयो । ‘संघीयता आएपछि बागमती प्रदेशले प्रत्येक जिल्लामा प्रादेशिक अस्पताल सञ्चालन गरेको छ । ती अस्पतालबाट नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री थापाका अनुसार अहिले प्रदेशका गाउँगाउँमा सडक सञ्जाल विस्तार भएको छ भने घरघरमा खानेपानीका धारा पुगेका छन् । सामुदायिक विद्यालय तथा आधारभूत अस्पतालहरू पनि गाउँस्तरमै निर्माण भएका छन् । तीनवटै तहका सरकार जनताप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीच कामको स्पष्ट जिम्मेवारी र नीतिगत समन्वय हुनुपर्ने बताउनुभयो । कुन तहको सरकारले कहाँ र के काम गर्ने भन्ने स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । शीर मेमोरियल एड्भेन्टिस्ट हस्पिटल सामुदायिक अस्पताल भएकाले यसको संरक्षण र विकासमा सबैले सहयोग गर्नुपर्ने मुख्यमन्त्री थापाले बताउनुभयो । आफू स्वास्थ्यमन्त्री रहँदा यस्ता सामुदायिक अस्पताललाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने उद्देश्यले ऐन निर्माण गरी अस्पताल दर्ताको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो । शीर मेमोरियल अस्पतालबाट काभ्रेपलाञ्चोकका नागरिकले मात्र नभई अन्य जिल्लाका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरिरहेको उहाँले बताउनुभयो । अस्पतालले पुर्याएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै उहाँले यसको सेवा विस्तारमा प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालको ओपीडी भवन निर्माणका लागि सहयोग गर्नुभएका राजभाइ प्रधानको पनि मुख्यमन्त्री थापाले प्रशंसा गर्नुभयो । धनसँगै मन भएका व्यक्तिहरूले समाजको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने उहाँको भनाइ थियो । ‘राज्यले मात्रै सबै काम गर्न सक्दैन । राजभाइ प्रधानजस्ता धन र मन भएका व्यक्तिहरूले समाज विकासमा ठूलो योगदान पुर्याउनुभएको छ । यस्ता सहयोगी मन भएका व्यक्तिहरूको योगदान समाजका लागि निकै महत्त्वपूर्ण छ,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री थापाले शीर मेमोरियल अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । पछिल्लो समय क्यान्सरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले सो अस्पतालबाटै क्यान्सर रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । सामुदायिक अस्पताललाई प्रदेश सरकारले सोझै बजेट उपलब्ध गराउन नमिल्ने कानुनी व्यवस्थाका कारण बनेपा नगरपालिकामार्फत वित्तीय हस्तान्तरण हुने गरी साे अस्पतालाई दुई करोड रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । क्यान्सर उपचारका लागि आवश्यक उपकरण व्यवस्थापनमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उहाँले संघीय सरकारले उपकरण राख्ने बंकर निर्माणमा सहयोग गरे प्रदेश सरकारले उपचारमा प्रयोग हुने मेसिन व्यवस्थापनका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शीर मेमोरियल अस्पतालको सेवा विस्तारबाट काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
प्रदेश सरकार सेतो हात्ती होइन, देखिने र काम गर्ने सरकार हो : मुख्यमन्त्री किरण थापा

Read Complete Original Article
Published originally on जनताटाइम्स






