काठमाडौं, कात्तिक २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीयताको सुन्दर पक्ष भनेकै प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा, संस्कृति र मौलिक पहिचानलाई राज्यले सम्मान गर्दै संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकता दिनु रहेको बताउनुभएको छ। नेपाल संवत् ११४७ को अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। “संघीयताको सुन्दर पक्ष भनेकै यही हो। प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसलाई मान्यता दिएर बजेट विनियोजन गरी भाषा र संस्कृतिलाई अघि बढाउँदै आएका छौँ”, उहाँले भन्नुभयो। मुख्यमन्त्री थापामगरले नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकाले हरेक भाषा, संस्कृति र संस्कारको आफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्नुभयो। “हरेक भाषाको आफ्नै मौलिकता छ, संस्कृति छ, संस्कार छ। आज नेपालभाषाको पनि आफ्नै संस्कृति र संस्कार छ र यसको विकास हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो। उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाःले खोलाको बालुवा चालेर सुन निकाली ऋणमा डुबेका नागरिकलाई ऋणमुक्त गराउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सामाजिक सेवाभाव र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताउनुभयो। शंखधर साख्वाःको योगदान र इतिहासलाई संरक्षण गर्न प्रदेशका प्रत्येक जिल्लामा उहाँकै नाममा प्रतिष्ठान स्थापना गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापामगरले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। अन्य जिल्लाबाट पनि प्रतिष्ठान स्थापनाको माग आएमा आवश्यक बजेट उपलब्ध गराइने उहाँले बताउनुभयो। त्यसैगरी, शंखधर साख्वाः प्रतिष्ठानको संग्रहालय निर्माणलगायतका कामका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो। मुख्यमन्त्री थापामगरले नेपालभाषा र तामाङ भाषालाई सरकारी कार्यालयको कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने उद्देश्यसहित प्रदेश सरकारले कानुन बनाइ सकेको स्मरण गराउनुभयो। भाषा र संस्कृतिलाई व्यवहारमै स्थापित गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको उहाँको भनाइ थियो। नेपालभाषाको संरक्षण र विकासलाई काठमाडौं उपत्यकामा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै उहाँले प्रदेशका सबै जिल्लामा यसको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। भाषा, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण नै समावेशी संघीयताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले बागमती प्रदेश सरकारले यस्ता सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि आगामी दिनमा पनि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर

Read Complete Original Article
Published originally on जनताटाइम्स






