काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रसुवाको धैबुङ कालिका मन्दिर पर्याप्त प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी र नेपाल–चीन युद्धसँग जोडिएको इतिहास बोकेको यो क्षेत्रलाई संरक्षण र पूर्वाधार विकास गर्न सके रसुवाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइमा रहेको यो मन्दिर रसुवाको सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिण र काठमाडौंबाट ९४ किलोमिटर उत्तरमा पर्छ । पासाङल्हामु राजमार्गको छेउमै रहेको मन्दिरसम्म सडकबाट पुगेपछि करिब पाँच मिनेट पैदल हिँडेर सहजै पुग्न सकिन्छ । गर्मीमा हिमाली शीतल हावा चल्ने र जाडोमा समेत तुसारो नपर्ने यहाँको हावापानीले भ्रमणका लागि आकर्षक बनाएको छ । मन्दिरको इतिहास नेपाल–चीन (भोट) युद्धसँग जोडिएको कालिका क्षेत्र विकास समितिले उल्लेख गरेको छ । दोस्रो नेपाल–चीन युद्धका क्रममा चिनियाँ फौज नेपाली सेनालाई पछि हटाउँदै बेत्रावतीसम्म आइपुगेका बेला यसै मन्दिर परिसरमा गाई र गोरुको बलि चढाइएको किंवदन्ती छ । त्यसपछि भीषण चट्याङ, हावाहुरी र प्राकृतिक विपत्ति उत्पन्न हुँदा चिनियाँ फौजले ठूलो क्षति बेहोरेको र त्रिशूली नदीमा होमिन पुगेको तथा नेपाली भूमि सुरक्षित रहेको जनविश्वास छ । यही घटनापछि कालिकामाईको शक्तिको चर्चा फैलिएको र मन्दिरलाई ‘धैबुङ चित्र कालिका’का रूपमा पुज्न थालिएको स्थानीय मान्यता छ । मन्दिरसँग जोडिएको अर्को रोचक लोकविश्वास पनि छ । पण्डित टङ्कप्रसाद ढकालका अनुसार विगतमा विवाह, व्रतबन्ध तथा अन्य ठूला सांस्कृतिक कार्यका लागि आवश्यक पर्ने तामा र पित्तलका भाँडाकुँडा कालिकामाईसँग प्रार्थना गरेकै भरमा उपलब्ध हुने गर्दथे । तर, पछि मानिसहरूले भाँडाकुँडा फिर्ता नगरेपछि माई रिसाएर यस्तो चलन रोकिएको जनविश्वास रहेको उनले बताए । ढकालका भनाइमा यो स्थल एउटा मन्दिर मात्र नभई रसुवाको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक सम्पदा हो । कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेले परापूर्वकालदेखि महाशक्तिपीठका रूपमा पुजिँदै आएको धैबुङ कालिका रसुवाकै अमूल्य धरोहर भएको बताए । गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले पालिकाभित्रका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै धार्मिक तथा ऐतिहासिक पर्यटन विकासका लागि नीति र बजेटको व्यवस्था गरिएको जानकारी दिए । तर, मन्दिर परिसरको पर्याप्त संरक्षण र व्यवस्थापन हुन नसक्दा धार्मिक गतिविधि तथा पर्यटकको आवागमन प्रभावित भएको छ । विसं २०६० मा राम्चेमा गएको विनाशकारी पहिरोले सैनिक ब्यारेक बगाएपछि विस्थापित सैनिकहरू अस्थायी रूपमा मन्दिर परिसरमा बस्दै आएका छन् । ब्यारेकले मन्दिर परिसरको खुला स्थान ओगट्दा नियमित पूजापाठ र सर्वसाधारणको सहज आवागमनमा समेत सङ्कुचन आएको छ । विगतमा काठमाडौँ उपत्यका, नुवाकोटलगायतका क्षेत्रबाट धार्मिक पर्यटक तथा वनभोजका लागि ठूलो सङ्ख्यामा मानिस आउने गरे पनि अहिले पर्याप्त खुला स्थानको अभाव देखिएको छ । मन्दिरको पूर्वपट्टि रहेको नेपाल–चीन युद्धकालीन ऐतिहासिक कोतघर अहिले भग्नावशेषमा परिणत भएको छ । त्यस्तै, वरपरका कमारेगढी र घलेगढीजस्ता पुरातात्त्विक महत्त्वका प्राचीन किल्लासमेत उचित मर्मतसम्भार र संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् । यी संरचनाको संरक्षण गर्न सके मन्दिर क्षेत्रको ऐतिहासिक महत्त्वलाई थप उजागर गर्न सकिने स्थानीयको अपेक्षा छ। धार्मिक आस्था, युद्धकालीन इतिहास, प्राचीन गढी र प्राकृतिक दृश्यलाई एकीकृत गरी पर्यटन पूर्वाधार विकास गर्न सके धैबुङ कालिका क्षेत्र रसुवाको आकर्षक गन्तव्य बन्न सक्छ । राजमार्गबाट सहजै पुग्न सकिने यस क्षेत्रको व्यवस्थित प्रचारप्रसार, ऐतिहासिक संरचनाको पुनःस्थापना र मन्दिर परिसरको व्यवस्थापनले स्थानीय पर्यटन व्यवसाय तथा अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने सम्भावना छ ।
प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा धैबुङ कालिका मन्दिर

Read Complete Original Article
Published originally on विश्वखबर






