कहिलेकाहीँ यात्राको सबैभन्दा सुन्दर क्षण गन्तव्यमा पुग्दा होइन, गन्तव्य पहिलोपटक आँखाअघि खुल्दा आउँछ। डोल्पाका साँघुरा पहाडी बाटा, सुलीगाडको निरन्तर आवाज, घना जङ्गल र उकालो चढ्दै गर्दा शरीर थाकिरहेको हुन्छ। पाइला भारी हुन्छन्, सासको गति बढ्छ। तर अचानक पहाडको एउटा घुम्ती पार गरेपछि आँखाअघि नीलो पानीको विशाल फैलावट देखिन्छ। केही क्षणका लागि पाइला रोकिन्छन्। अग्ला चट्टानी पहाडको बीचमा फैलिएको फोक्सुण्डो कुनै चित्रकारको कल्पनाबाट बनेको दृश्यजस्तो लाग्छ। त्यो दृश्यमा पानी मात्र हुँदैन। त्यहाँ हजारौँ वर्ष पुरानो भूगर्भीय इतिहास हुन्छ, पुस्तौँदेखि जोगिएको संस्कृति हुन्छ, हिमाली वन्यजन्तुको संसार हुन्छ र प्रकृतिसँग सहअस्तित्वमा बाँचेको मानव जीवन हुन्छ। त्यसैले फोक्सुण्डो पुग्नु एउटा ताल हेर्नु मात्र होइन, हिमाली भूगोल र सभ्यताको एउटा दुर्लभ संसारमा प्रवेश गर्नु पनि हो। चारैतिर अग्ला चट्टानी पहाडले घेरिएको यसको नीलो पानी पहिलोपटक देख्दा सामान्य हिमाली तालभन्दा निकै फरक अनुभूति हुन्छ। डोल्पास्थित शे-फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल समुद्री सतहबाट करिब ३ हजार ५८९ मिटर उचाइमा अवस्थित छ। चारैतिर अग्ला चट्टानी पहाडले घेरिएको यसको नीलो पानी पहिलोपटक देख्दा सामान्य हिमाली तालभन्दा निकै फरक अनुभूति हुन्छ। घामको कोण, बादलको छाया र हावाको गतिअनुसार पानीको रङ फेरिएजस्तो देखिन्छ। कतिबेला गाढा नीलो, कतिबेला फिरोजी त कतिबेला नीलमजस्तै चम्किलो। हिमालको काखमा फैलिएको नीलो फोक्सुण्डो ताल। तस्बिर: छिरिङ वङ्गेल/विकिमिडिया कमन्स फोक्सुण्डोको आकर्षण यही दृश्यमा मात्र सीमित छैन। यसको उत्पत्ति, किनारमा विकसित रिङ्मो बस्ती, बोन्पो धर्मको जीवित परम्परा, हिमाली जैविक विविधता र उपल्लो डोल्पासँग जोडिने प्राचीन पदमार्गले यसलाई बहुआयामिक सम्पदा बनाएका छन्। पहाड भत्किएर बनेको ताल फोक्सुण्डोको वास्तविक कथा बुझ्न यसको उत्पत्तिसम्म पुग्नुपर्छ। सामान्यतया हिमनदीले खोपेको उपत्यकामा पानी जम्मा भएर हिमताल बन्ने गर्छन्। तर फोक्सुण्डोको उत्पत्ति फरक भूगर्भीय प्रक्रियासँग जोडिएको छ। हिमनदी पछि हटेपछि अस्थिर बनेको पहाड सम्भवतः भूकम्पका कारण खसेको र यो घटना करिब ३० देखि ४० हजार वर्षअघि भएको हुन सक्ने अनुसन्धानले अनुमान गरेको छ। सन् १९९७ मा नेपाल भूगर्भ समाजको प्रकाशनमा भूगर्भविद् एच. यागीले प्रस्तुत गरेको अनुसन्धानअनुसार तालको दक्षिणपूर्वी भागमा विशाल पहिरोका संरचना भेटिन्छन्। पहाडको ठूलो भाग भत्किएर खसेको चट्टानी पदार्थले खोलाको प्राकृतिक बहाव थुनेपछि ताल बनेको उनको अध्ययनको निष्कर्ष छ। हिमनदी पछि हटेपछि अस्थिर बनेको पहाड सम्भवतः भूकम्पका कारण खसेको र यो घटना करिब ३० देखि ४० हजार वर्षअघि भएको हुन सक्ने अनुसन्धानले अनुमान गरेको छ। अर्थात्, फोक्सुण्डो प्रकृतिको एउटा आकस्मिक परिवर्तनबाट जन्मिएको ताल हो। पहाड भत्किनु यहाँको विनाश मात्र बनेन, कालान्तरमा संसारकै सुन्दर हिमाली तालमध्ये एकको निर्माणको कारण पनि बन्यो। पहाडले घेरिएको तालको मनोरम दृश्य। तस्बिर: अस्मिता खनाल/ विकिमिडिया कमन्स जल तथा मौसम विज्ञान विभागको सन् २०१९ को जल मापन प्रतिवेदनअनुसार ताल समुद्री सतहबाट ३ हजार ५८८.८५ मिटर उचाइमा छ। यसको अधिकतम गहिराइ १३६.२ मिटर र सतहको क्षेत्रफल ४.८४९ वर्ग किलोमिटर छ। तालको आकार अङ्ग्रेजी अक्षर ‘वाई’ जस्तो देखिन्छ। यसको लम्बाइ करिब पाँच किलोमिटर र अधिकतम चौडाइ करिब आठ सय मिटर रहेको विवरण पाइन्छ। फोक्सुण्डोलाई नेपालको सबैभन्दा गहिरो ताल भनेर चिनाउने गरिएको भए पनि पछिल्लो आधिकारिक जल मापन तथ्याङ्कले यो दाबी सच्याएको छ। विभागको सन् २०२३ को नापअनुसार रारा तालको अधिकतम गहिराइ १६९.९३ मिटर छ भने फोक्सुण्डोको १३६.२ मिटर। त्यसैले फोक्सुण्डो नेपालको सबैभन्दा गहिरो ताल होइन। यसको वास्तविक महत्त्व भने उच्च हिमाली भूभागमा रहेको विशाल, गहिरो र अन्तर्राष्ट्रिय महत्त्व प्राप्त सिमसार हुनुमा छ। सामान्यतया काठमाडौँबाट नेपालगञ्ज हुँदै डोल्पाको जुफालसम्म हवाई यात्रा गरेर यहाँको पदयात्रा सुरु गर्न सकिन्छ। विशाल चट्टानी पर्खाल, पहिरोबाट बनेका भिराला सतह र पानीको प्राकृतिक निकासले ताललाई विशिष्ट स्वरूप दिएका छन्। तालको दक्षिणी भागमा देखिने चट्टानी संरचनाले हजारौँ वर्षअघिको प्राकृतिक घटनालाई आज पनि आँखैअगाडि देखाइरहेको अनुभूति हुन्छ। सुलीगाडको आवाजसँगै हिमालतिर फोक्सुण्डो पुग्ने यात्रा आफैँमा एउटा अविस्मरणीय अनुभव हो। सामान्यतया काठमाडौँबाट नेपालगञ्ज हुँदै डोल्पाको जुफालसम्म हवाई यात्रा गरेर यहाँको पदयात्रा सुरु गर्न सकिन्छ। जुफालबाट दुनै हुँदै सुलीगाड क्षेत्र पुगेपछि पैदल यात्रा अघि बढ्छ। उचाइबाट देखिएको फोक्सुण्डो ताल र आसपासको दृश्य। तस्बिर: पासाङ दोल्पो/विकिमिडिया कमन्स सुलीगाडको पुल पार गरेपछि खोलाको किनारैकिनार यात्रा सुरु हुन्छ। बाटोमा जेलाशा, साङ्टा, छेप्का, र्याँची र सुम्दुवा हुँदै अगाडि बढिन्छ। कतै साँघुरो गोरेटो, कतै वनभित्रको छायादार बाटो त कतै पहाडको फेदीमा टाँसिएर हिँड्नुपर्ने भीरालो मार्ग भेटिन्छ। खोलाको आवाजले यात्राभर साथ दिइरहन्छ। वर्षायाममा चिप्लो बाटो र खोलाको बढ्दो बहावले यात्रा थप चुनौतीपूर्ण बनाउँछ। तर वरिपरि फैलिएको वन, चट्टानी पहाड र हिमाली वातावरणले यात्राको कठिनाइलाई पनि अनुभवको एउटा हिस्सा बनाइदिन्छ। चलचित्रमा अभिनय गरेका लामाको घोडाबाट लडेर भाले जुरामा निधन भएपछि उनको सम्झनामा यहाँ स्मारक निर्माण गरिएको छ। साङ्टामा आँखे खोलाको पानीबाट स्थानीय रूपमा विद्युत् उत्पादन गरिएको छ। दुर्गम हिमाली बस्तीमा उपलब्ध प्राकृतिक स्रोतलाई स्थानीय आवश्यकतासँग जोड्ने प्रयास यहाँ देख्न सकिन्छ। करिब दुई घण्टाको पैदल यात्रापछि पुगिने छेप्कामा स्थानीय आवास र शिविरको व्यवस्था छ। छेप्काभन्दा अगाडि खेमझ्यापुवामा नेपाली चलचित्र इतिहाससँग जोडिएको एउटा स्मारक भेटिन्छ। फ्रान्सेली निर्देशक एरिक भालीको चर्चित चलचित्र ‘क्याराभान’ मा थिन्ले लुलुपु लामाले निर्वाह गरेको पात्रले डोल्पाको भूगोल, जीवनशैली र परम्परालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याएको थियो। चलचित्रमा अभिनय गरेका लामाको घोडाबाट लडेर भाले जुरामा निधन भएपछि उनको सम्झनामा यहाँ स्मारक निर्माण गरिएको छ। यो स्मारक कलाकारको सम्झना मात्र होइन, डोल्पाको जीवन र भूगोललाई विश्व चलचित्रको पर्दासम्म पुर्याउने सांस्कृतिक सन्दर्भ पनि हो। नीलो तालमाथि ठडिएका हिमाली पहाड। तस्बिर: निर बी. गुरुङ/विकिमिडिया कमन्स र्याँचीबाट खोलाको किनारैकिनार अघि बढ्दा सुलीगाड र पुग्मोगाडको दोभान सुम्दुवा आइपुग्छ। यहाँ राष्ट्रिय निकुञ्जको सुरक्षा चौकी र नेपाली सेनाको उपस्थिति छ। सुम्दुवा पार गरेपछि तापरिचा क्षेत्र पुगिन्छ। यहाँ आम्ची अस्पताल, शे-फोक्सुण्डो स्वास्थ्य चौकी र तापरिचा विद्यालय छन्। रिङ्मो, पुग्मोलगायत आसपासका गाउँका बालबालिकालाई आवासीय शिक्षा उपलब्ध गराउने तापरिचा विद्यालय दुर्गम हिमाली क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण संस्था हो। स्थानीय विवरणअनुसार सन् १९९८ देखि टासीडी नामक संस्थाले यसको व्यवस्थापन गर्दै आएको छ। पहाडको काखमा फैलिएको गाउँको छेउबाट अचानक देखिने नीलो तालले बाटोभरि सञ्चित थकान क्षणभरमै बिर्साइदिन्छ। तापरिचाबाट पोलामतर्फ अघि बढेपछि बाटो खोलाको किनार छाडेर उकालो लाग्छ। यही उकालोको अन्तिम भागमा सुलीगाड झरनाको दृश्य देखिन्छ। चट्टानको भीरबाट तल झर्ने पानीको आवाज टाढैबाट सुनिन्छ। करिब १६७ मिटर अग्लो यो झरना फोक्सुण्डो तालको प्राकृतिक निकास हो। झरना पार गरेर उकालो चढेपछि रिङ्मो गाउँ पुगिन्छ। यात्राको सबैभन्दा प्रतीक्षित क्षण यहीँ हो। पहाडको काखमा फैलिएको गाउँको छेउबाट अचानक देखिने नीलो तालले बाटोभरि सञ्चित थकान क्षणभरमै बिर्साइदिन्छ। रिङ्मोमा जीवित डोल्पो संस्कृति फोक्सुण्डोको कथा रिङ्मो गाउँबिना अधुरो हुन्छ। तालको किनारमा रहेको यो गाउँ डोल्पो समुदायको ऐतिहासिक बसोबास, वास्तुकला र धार्मिक परम्पराको जीवित उदाहरण हो। यहाँका परम्परागत घरहरू ढुङ्गा, काठ र स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरेर बनाइएका छन्। बाक्ला भित्ता र हिमाली मौसम अनुकूल बनाइएको घरको संरचनाले यहाँको वास्तुकलामा प्रकृतिसँगको अनुकूलन देखाउँछ। घरहरूको बनावट, गाउँका साँघुरा गल्ली र धार्मिक संरचनाले परम्परागत हिमाली बस्तीको छुट्टै पहिचान निर्माण गरेका छन्। फोक्सुण्डो तालसँगै देखिएको हिमाली बस्ती। तस्बिर: रक्स्याकस्कुल ड्रेस्डेन/विकिमिडिया कमन्स गाउँको उत्पत्तिबारे स्थानीय जनश्रुतिमा करिब नौ सय वर्ष पुरानो इतिहास सुनिन्छ। पहिरोले खोलाको प्राकृतिक निकास थुनेर ताल बनेपछि यस क्षेत्रमा बस्ती विकास भएको विश्वास पनि स्थानीय कथनमा पाइन्छ। तर गाउँको स्थापना मिति र बसोबासको निरन्तर इतिहास पुष्टि गर्ने पर्याप्त लिखित अभिलेख उपलब्ध छैन। त्यसैले यसलाई प्रमाणित ऐतिहासिक तथ्यभन्दा स्थानीय मौखिक परम्पराका रूपमा बुझ्नु उपयुक्त हुन्छ। रिङ्मोको अर्को विशिष्टता यहाँको धार्मिक सहअस्तित्व हो। बोन्पो परम्परा र तिब्बती बौद्ध धर्मका अभ्यासले डोल्पो समाजको धार्मिक पहिचान निर्माण गरेका छन्। तालको किनारमा रहेको थासुङ छोलिङ गुम्बा यस क्षेत्रको धार्मिक र सांस्कृतिक जीवनसँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। बोन्पो धर्मलाई बौद्ध धर्मकै अर्को नामका रूपमा बुझ्नु उचित हुँदैन। यसको आफ्नै दर्शन, धार्मिक ग्रन्थ, अनुष्ठान र ऐतिहासिक परम्परा छन्। डोल्पामा बोन्पो र बौद्ध परम्परा लामो समयदेखि एकअर्काको निकटतामा विकसित भएका छन्। स्थानीय धार्मिक संरचना, गुम्बा र सांस्कृतिक अभ्यासमा यी परम्पराको ऐतिहासिक अन्तरसम्बन्ध देख्न सकिन्छ। यात्रुहरूले स्थानीय परिकार, आतिथ्य र हिमाली जीवनशैली नजिकबाट अनुभव गर्न सक्छन्। सन् २०२५ मा प्रकाशित डोल्पाको धार्मिक वास्तुकलासम्बन्धी अनुसन्धानले यस क्षेत्रका बौद्ध तथा बोन्पो धार्मिक संरचनामा स्थानीय वास्तुकला र धार्मिक परम्पराको अन्तरसम्बन्ध देखाएको छ। अनुसन्धानकर्ताहरूले सन् २०१८ देखि २०२३ सम्मको स्थलगत अध्ययनका आधारमा १८ धार्मिक स्थलको वास्तुकला अभिलेखीकरण गरेका छन्। थासुङ छोलिङ गुम्बाको परिसरबाट ताल र रिङ्मो गाउँलाई एकैसाथ हेर्न सकिन्छ। पहाडले घेरिएको बस्ती, गुम्बाको धार्मिक संरचना र तल फैलिएको नीलो तालको दृश्यले प्रकृति र संस्कृतिको सम्बन्धलाई एउटै चित्रमा उतार्छ। रिङ्मोमा स्थानीय परिवारले सञ्चालन गरेका होमस्टे र होटल उपलब्ध छन्। यात्रुहरूले स्थानीय परिकार, आतिथ्य र हिमाली जीवनशैली नजिकबाट अनुभव गर्न सक्छन्। स्थानीय खानामा जौ, आलु र अन्य उपलब्ध मौसमी अन्न तथा कृषि उत्पादनको प्रयोग हुन्छ। रिङ्मोको सांस्कृतिक पहिचान संरक्षण गर्न स्थानीय समुदायको सहभागिता र उनीहरूको आफ्नै प्राथमिकतालाई केन्द्रमा राख्न आवश्यक छ। यहाँको आवासीय सुविधा केवल पर्यटकलाई रात बिताउने ठाउँ उपलब्ध गराउने माध्यम होइन। स्थानीय परिवारसँगको अन्तरक्रिया, उनीहरूको दैनिकी, खानपान र सामाजिक जीवन बुझ्ने अवसर पनि हो। तर पर्यटनको विस्तारसँगै स्थानीय संस्कृति कसरी परिवर्तन हुँदैछ भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ। नयाँ पुस्ताको शिक्षा, बाह्य रोजगारी, आधुनिक सञ्चार र पर्यटन व्यवसायले गाउँको परम्परागत जीवनशैलीमा परिवर्तन ल्याइरहेका छन्। त्यसैले रिङ्मोको सांस्कृतिक पहिचान संरक्षण गर्न स्थानीय समुदायको सहभागिता र उनीहरूको आफ्नै प्राथमिकतालाई केन्द्रमा राख्न आवश्यक छ। नीलो पानीभित्रको जैविक संसार फोक्सुण्डोको पानीको रङ यसको सबैभन्दा चर्चित आकर्षण हो। तर यसलाई नीलो पानीको सुन्दर दृश्यमा मात्र सीमित गर्दा यहाँको पर्यावरणीय महत्त्व ओझेलमा पर्छ। ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको महत्त्वपूर्ण पारिस्थितिक प्रणालीको हिस्सा हो। यसको वरपर रहेका हिमाली वन, घाँसे मैदान, सिमसार र उच्च हिमाली पाटन विभिन्न वनस्पति तथा वन्यजन्तुका आश्रयस्थल हुन्। अग्ला पाटन र चट्टानी पहाडमा समूहमा विचरण गर्ने नाउर हिउँ चितुवाको प्रमुख आहार प्रजातिमध्ये एक हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अभिलेखअनुसार निकुञ्जमा दुई सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन्। यस क्षेत्रमा विभिन्न स्तनधारी वन्यजन्तु र दर्जनौँ प्रजातिका पुतली पनि भेटिन्छन्। डाँफे, हिमाली चिल, चिर र अन्य उच्च हिमाली चराहरू यहाँका प्राकृतिक सम्पदाका हिस्सा हुन्। हिउँ चितुवा, नाउर, कस्तुरी मृग, हिमाली ब्वाँसो र हिमाली भालु यस क्षेत्रको पारिस्थितिक प्रणालीका महत्त्वपूर्ण वन्यजन्तु हुन्। पदयात्राका क्रममा नाउरको बथान देखिनु यात्रुका लागि विशेष अनुभव हुन सक्छ। अग्ला पाटन र चट्टानी पहाडमा समूहमा विचरण गर्ने नाउर हिउँ चितुवाको प्रमुख आहार प्रजातिमध्ये एक हो। नाउरको उपस्थिति र हिउँ चितुवाको बासस्थानबीच प्रत्यक्ष सम्बन्ध छ। यसले हिमाली खाद्य शृङ्खलाको सन्तुलन कायम राख्न मद्दत गर्छ। त्यसैले एउटा प्रजातिको संरक्षणलाई अर्को प्रजाति र समग्र पर्यावरणको संरक्षणबाट अलग गरेर हेर्न सकिँदैन। पशुधनमाथि वन्यजन्तुले गर्ने आक्रमणले स्थानीय परिवारको आर्थिक अवस्थामा असर पार्न सक्छ। यस्तो अवस्थामा संरक्षण र स्थानीय जीविकोपार्जनबीच सन्तुलन कायम गर्नु आवश्यक हुन्छ। तर हिउँ चितुवा संरक्षणको कथा वन्यजन्तुको मात्र कथा होइन। यसको सम्बन्ध पशुपालनमा निर्भर स्थानीय परिवारको जीविकोपार्जनसँग पनि जोडिएको छ। पशुधनमाथि वन्यजन्तुले गर्ने आक्रमणले स्थानीय परिवारको आर्थिक अवस्थामा असर पार्न सक्छ। यस्तो अवस्थामा संरक्षण र स्थानीय जीविकोपार्जनबीच सन्तुलन कायम गर्नु आवश्यक हुन्छ। सन् २०२५ मा वैज्ञानिक प्रकाशन ओरिक्समा प्रकाशित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्बन्धी अनुसन्धानले पशुधनमाथि हिउँ चितुवाले गर्ने आक्रमणले स्थानीय समुदायको संरक्षणप्रतिको दृष्टिकोण प्रभावित पार्न सक्ने देखाएको छ। क्षति न्यूनीकरणमा सरकारी तथा संरक्षण संस्थाको सहयोग सहज रूपमा उपलब्ध हुँदा समुदायको सकारात्मक दृष्टिकोण बढ्ने अध्ययनको निष्कर्ष छ। संरक्षणको लाभ वन्यजन्तुले मात्र होइन, त्यसको बासस्थानसँग जोडिएको समुदायले पनि पाउनुपर्छ। पशुधन क्षतिको क्षतिपूर्ति, वैकल्पिक जीविकोपार्जन, स्थानीय पर्यटन व्यवसाय र संरक्षणसम्बन्धी शिक्षाले मानव तथा वन्यजन्तुबीचको सहअस्तित्व बलियो बनाउन सक्छ। अन्तर्राष्ट्रिय महत्त्वको सिमसार फोक्सुण्डो तालको महत्त्व नेपालको सीमाभित्र मात्र सीमित छैन। सन् २००७ सेप्टेम्बर २३ मा यो अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्र अर्थात् रामसार सूचीमा सूचीकृत भएको हो। तालमा जम्मा हुने पानीले तल्लो क्षेत्रको जलप्रवाहमा योगदान गर्छ। त्यसैले यसको संरक्षण तालको किनारसम्म मात्र सीमित हुन सक्दैन। यसको पहिचान उच्च हिमाली सिमसार, जैविक विविधता, दुर्लभ वन्यजन्तुको बासस्थान र सांस्कृतिक महत्त्वसँग जोडिएको छ। रामसार सूचीमा समावेश हुनु पर्यटन प्रवर्द्धनको प्रमाणपत्र मात्र होइन। यसले सिमसारको पारिस्थितिक महत्त्व स्वीकार गर्दै यसको संरक्षण र विवेकपूर्ण उपयोगप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाउँछ। तालमा जम्मा हुने पानीले तल्लो क्षेत्रको जलप्रवाहमा योगदान गर्छ। त्यसैले यसको संरक्षण तालको किनारसम्म मात्र सीमित हुन सक्दैन। जलाधार क्षेत्र, पहिरो, वनस्पति, हिमाली जलवायु र मानवीय गतिविधिबीचको सम्बन्धलाई एकीकृत रूपमा हेर्नुपर्छ। तालको दक्षिणपश्चिमी किनारमा चट्टान काटेर बनाइएको साँघुरो बाटोबाट उपल्लो डोल्पातर्फको यात्रा अघि बढ्छ। यही मार्ग हुँदै शे गुम्बा, साल्दाङ र उपल्लो डोल्पाका बस्तीमा पुग्न सकिन्छ। ‘क्याराभान’ चलचित्रमा देखिएको चट्टानी भूगोलले यस क्षेत्रको कठिन जीवन र परम्परागत व्यापारिक मार्गको स्मरण गराउँछ। प्राकृतिक प्रक्रिया भए पनि जलवायु परिवर्तन, हिमाली भूक्षय र बदलिँदो जलप्रवाहको प्रभाव बुझ्न दीर्घकालीन वैज्ञानिक अध्ययन आवश्यक छ। तालको दृश्यावलोकन स्थलबाट रिङ्मो गाउँ र पानीको विशाल फैलावट हेर्न सकिन्छ। आसपासका हिमाली जलस्रोतबाट आउने खोलाहरूले तालमा पानी पुर्याउँछन्। ती खोलाले बगाएर ल्याउने गेग्रानका कारण केही किनारमा क्रमिक रूपमा अवसादन भइरहेको देखिन्छ। यो प्राकृतिक प्रक्रिया भए पनि जलवायु परिवर्तन, हिमाली भूक्षय र बदलिँदो जलप्रवाहको प्रभाव बुझ्न दीर्घकालीन वैज्ञानिक अध्ययन आवश्यक छ। छायाँनाथसँग जोडिएको संरक्षणको नयाँ अध्याय फोक्सुण्डोको यात्रा गर्दा यसको संरक्षण व्यवस्थापनमा आएको नयाँ परिवर्तन पनि बुझ्न आवश्यक छ। सरकारले पहिले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेटिएको मुगुको भूभाग छुट्याएर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। २०८२ भदौ १३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न क्षेत्र समेटेर ८४३.३६ वर्ग किलोमिटर क्षेत्रफलको नयाँ निकुञ्ज बनाउने निर्णय भएको हो। यससँगै नेपालको राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ। छायाँनाथको स्थापनापछि शे-फोक्सुण्डोको क्षेत्रफल ३ हजार ५५५ वर्ग किलोमिटरबाट घटेर करिब २ हजार ७१२ वर्ग किलोमिटरमा सीमित भएको छ। तथापि यो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जकै रूपमा कायम छ। वन्यजन्तु संरक्षण, चोरीसिकार नियन्त्रण, कर्मचारी परिचालन र स्थानीयलाई सेवा प्रवाह सहज बनाउने उद्देश्यले नयाँ निकुञ्ज स्थापना गरिएको सरकारी अधिकारीहरूको भनाइ छ। यस निर्णयको प्रमुख उद्देश्य व्यवस्थापकीय सहजता हो। विशाल भूभागमा फैलिएको पुरानो निकुञ्जको मुख्यालयबाट मुगुको उत्तरी क्षेत्रमा पुग्न स्थानीयले धेरै दिन पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। वन्यजन्तु संरक्षण, चोरीसिकार नियन्त्रण, कर्मचारी परिचालन र स्थानीयलाई सेवा प्रवाह सहज बनाउने उद्देश्यले नयाँ निकुञ्ज स्थापना गरिएको सरकारी अधिकारीहरूको भनाइ छ। छायाँनाथ हिमाल, धार्मिक स्थल र यार्सागुम्बा पाइने उच्च हिमाली पाटनले नयाँ निकुञ्जलाई छुट्टै पर्यटकीय सम्भावना प्रदान गर्छन्। ग्रेट हिमालयन ट्रेलसँग जोडिने पदमार्ग र तिहार, डोल्फु, भिजेर तथा याला भञ्ज्याङ क्षेत्र हुँदै शे-फोक्सुण्डोसम्म पुग्ने सम्भावित मार्गले भविष्यमा नयाँ पदयात्रा गन्तव्य विकास गर्न सक्छन्। तर निकुञ्ज घोषणा हुनु र प्रभावकारी संरक्षण सञ्चालन हुनु फरक कुरा हुन्। कार्यालय, कर्मचारी, बजेट, स्थानीय सहभागिता र वैज्ञानिक व्यवस्थापनले मात्र यसको वास्तविक प्रभाव निर्धारण गर्नेछन्। निकुञ्जको सिमाना फेरिए पनि हिमाल, वन्यजन्तु र जलाधारका प्राकृतिक सम्बन्ध प्रशासनिक सीमाले छुट्याउन सक्दैनन्। यस परिवर्तनले फोक्सुण्डो क्षेत्रको संरक्षण व्यवस्थापनलाई पनि नयाँ दृष्टिले हेर्नुपर्ने बनाएको छ। निकुञ्जको सिमाना फेरिए पनि हिमाल, वन्यजन्तु र जलाधारका प्राकृतिक सम्बन्ध प्रशासनिक सीमाले छुट्याउन सक्दैनन्। त्यसैले शे-फोक्सुण्डो र छायाँनाथबीच संरक्षण समन्वय अपरिहार्य हुनेछ। पर्यटन बढ्दै, संरक्षणको चुनौती थपिँदै फोक्सुण्डोमा पर्यटकको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ। उपलब्ध निकुञ्ज तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ जना पर्यटकले तालको भ्रमण गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर ७ हजार २३२ पुगेको थियो। आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ७३८ जना पर्यटक पुगेको विवरण छ। दसैँपछि पर्यटकको आवागमन बढ्ने गरेको स्थानीय अनुभव छ। पर्यटक बढ्नु स्थानीय होटल, होमस्टे, यातायात, घोडा सेवा, पथप्रदर्शक र खाद्य व्यवसायका लागि अवसर हो। स्थानीय उत्पादनको बजार विस्तार, युवा रोजगारी र सांस्कृतिक सम्पदाको संरक्षणसँग पर्यटनलाई जोड्न सके मात्र यसको लाभ दीर्घकालीन हुन सक्छ। निकुञ्ज प्रवेश गर्ने प्रत्येक यात्रुले आफूले उत्पादन गरेको फोहोर आफैँ फर्काएर लैजाने, वन्यजन्तुलाई जिस्क्याउने काम नगर्ने, स्थानीय धार्मिक स्थलको मर्यादा कायम गर्ने र स्थानीय सेवाको उपयोग गर्ने अभ्यास गर्नुपर्छ। तर पर्यटन विस्तारसँगै फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग, पानीका स्रोतमा प्रदूषण, अनियन्त्रित निर्माण र संवेदनशील वनस्पतिमाथि पर्ने दबाबलाई बेवास्ता गर्न मिल्दैन। हिमाली भूभागमा पर्यावरणीय क्षति पुनःस्थापना गर्न लामो समय लाग्न सक्छ। त्यसैले पर्यटकको सङ्ख्या बढाउनेभन्दा पर्यटकको व्यवहार र पर्यटन व्यवस्थापनको गुणस्तर सुधार गर्नु महत्त्वपूर्ण छ। निकुञ्ज प्रवेश गर्ने प्रत्येक यात्रुले आफूले उत्पादन गरेको फोहोर आफैँ फर्काएर लैजाने, वन्यजन्तुलाई जिस्क्याउने काम नगर्ने, स्थानीय धार्मिक स्थलको मर्यादा कायम गर्ने र स्थानीय सेवाको उपयोग गर्ने अभ्यास गर्नुपर्छ। पर्यटनले रिङ्मोको सांस्कृतिक पहिचानलाई कमजोर होइन, थप जीवन्त बनाउने दिशामा काम गर्नुपर्छ। स्थानीय समुदायको सहभागिताबिना पर्यटनको दीर्घकालीन विकास सम्भव हुँदैन। गाउँका बासिन्दाले पर्यटनबाट आम्दानी पाउने, स्थानीय उत्पादनको बजार विस्तार हुने र युवाले आफ्नै ठाउँमा रोजगारीको अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्छ। प्रकृतिको संरक्षण र स्थानीय समृद्धि एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक बन्नुपर्छ। नीलो तालभन्दा परको डोल्पो संसार फोक्सुण्डो तालको यात्रा रिङ्मोमै समाप्त हुनुपर्दैन। यहाँबाट उपल्लो डोल्पाका प्राचीन बस्ती, शे गुम्बा, साल्दाङ र धो तरापसम्म पुग्ने पदमार्गहरू खुल्छन्। यी मार्गले हिमाली भूगोल मात्र होइन, तिब्बती सांस्कृतिक प्रभाव, प्राचीन व्यापारिक सम्बन्ध, धार्मिक परम्परा र पशुपालनमा आधारित जीवनशैली बुझ्ने अवसर दिन्छन्। बोन्पो धर्मका धार्मिक अभ्यास, गुम्बाका भित्तेचित्र, परम्परागत मृत्यु संस्कार र स्थानीय सामाजिक संरचना अध्ययनका महत्त्वपूर्ण विषय हुन्। उपल्लो डोल्पामा पुग्दा भाषा, पहिरन, घर निर्माण शैली, खाद्य संस्कृति र सामाजिक जीवनमा देखिने विविधताले एउटै जिल्लाभित्र पनि कति फरक सांस्कृतिक संसार अस्तित्वमा छन् भन्ने देखाउँछ। बोन्पो धर्मका धार्मिक अभ्यास, गुम्बाका भित्तेचित्र, परम्परागत मृत्यु संस्कार र स्थानीय सामाजिक संरचना अध्ययनका महत्त्वपूर्ण विषय हुन्। बहुपति प्रथाजस्ता सामाजिक अभ्यासलाई पनि कुनै समुदायको अनौठो आकर्षणका रूपमा प्रस्तुत गर्नुको सट्टा ऐतिहासिक, आर्थिक र सामाजिक सन्दर्भमा बुझ्न आवश्यक छ। यहाँको सामाजिक संरचना भौगोलिक कठिनाइ, सीमित स्रोतसाधन, परिवारको आर्थिक अवस्था र पुस्तौँदेखि विकसित जीवनपद्धतिसँग जोडिएको छ। डोल्पो समाजका लागि पहाड केवल दृश्य होइन, जीवनको आधार हो। पाटन पशुचरणका लागि चाहिन्छ। खोलाको पानी दैनिक जीवनका लागि आवश्यक छ। गुम्बा धार्मिक र सामुदायिक जीवनको केन्द्र हो। हिमाली मौसमअनुसार बसोबास र पशुपालनको परम्परा विकसित भएको छ। त्यसैले यहाँको संस्कृति प्रकृतिबाट अलग छैन। ताललाई जन्म दिने पहाड, पानी ल्याउने जलाधार, त्यसको वरपर फैलिएका वन र पाटन, वन्यजन्तु तथा पुस्तौँदेखि यहाँ बसोबास गर्ने समुदायको भविष्यसँग गाँसिएको छ। आज जलवायु परिवर्तनले हिमाली जीवनका यिनै आधारमा चुनौती थपिरहेको छ। हिमाली पशुपालक समुदायको जल, ऊर्जा, खाद्य सुरक्षा र प्राकृतिक स्रोतमा निर्भरता उच्च छ। सन् २०२३ मा प्रकाशित एक अध्ययनले शे-फोक्सुण्डोसहितका हिमाली राष्ट्रिय निकुञ्जमा बसोबास गर्ने घुमन्ते पशुपालक समुदाय जलवायु परिवर्तनप्रति मध्यम स्तरको जोखिममा रहेको देखाएको छ। मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि उनीहरूको जीविकोपार्जनमा चुनौती बनेको छ। फोक्सुण्डोको भविष्य त्यसैले पर्यटकले देख्ने नीलो पानीमा मात्र निर्भर छैन। यो ताललाई जन्म दिने पहाड, पानी ल्याउने जलाधार, त्यसको वरपर फैलिएका वन र पाटन, वन्यजन्तु तथा पुस्तौँदेखि यहाँ बसोबास गर्ने समुदायको भविष्यसँग गाँसिएको छ। फोक्सुण्डो केवल घुम्न पुग्ने गन्तव्य होइन, प्रकृति र मानव सभ्यताबीचको सम्बन्ध बुझ्ने एउटा खुला पुस्तक हो। रिङ्मोबाट फर्कने बेला तालतर्फ अन्तिमपटक हेर्दा यसको सौन्दर्य आँखामा मात्र सीमित रहँदैन। यसको गहिराइमा भूगर्भीय इतिहास छ, किनारमा संस्कृति छ, पहाडमा जैविक विविधता छ र वरपरका बस्तीमा पुस्तौँको जीवन अनुभव छ। यही कारण फोक्सुण्डो केवल घुम्न पुग्ने गन्तव्य होइन, प्रकृति र मानव सभ्यताबीचको सम्बन्ध बुझ्ने एउटा खुला पुस्तक हो। यसको नीलो पानी हेर्न पुग्ने यात्रुले त्यहाँबाट फर्किंदा संरक्षणको अर्थ पनि बुझेर फर्किनु आवश्यक छ। यात्रा जानकारी स्थान : रिङ्मो, शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा समुद्री सतहबाट उचाइ : ३ हजार ५८८.८५ मिटर तालको क्षेत्रफल : ४.८४९ वर्ग किलोमिटर अधिकतम गहिराइ : १३६.२ मिटर राष्ट्रिय निकुञ्ज स्थापना : सन् १९८४ रामसार सूचीमा सूचीकृत : २३ सेप्टेम्बर २००७ उपयुक्त भ्रमण समय : मार्चदेखि मे र सेप्टेम्बरदेखि अक्टोबर कसरी पुग्ने? हवाईमार्ग : काठमाडौँबाट नेपालगञ्ज हुँदै जुफालसम्म हवाई यात्रा गर्न सकिन्छ। नेपालगञ्जबाट जुफालसम्मको उडान मौसमअनुसार प्रभावित हुन सक्छ। पदयात्रा : जुफालबाट दुनै हुँदै सुलीगाड पुगेर साङ्टा, छेप्का, र्याँची, सुम्दुवा र तापरिचा हुँदै रिङ्मो पुग्न सकिन्छ। यात्रा अवधि : जुफालदेखि फोक्सुण्डो पुगेर फर्किन कम्तीमा ६ देखि ८ दिन छुट्याउनु व्यावहारिक हुन्छ। बाटो, मौसम र यात्राको गतिअनुसार समय फरक पर्न सक्छ। बसोबास : छेप्का, र्याँची, तापरिचा र रिङ्मो आसपास स्थानीय होटल, होमस्टे तथा शिविरको व्यवस्था उपलब्ध छ। प्रवेश अनुमति : राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क र आवश्यक कागजातबारे यात्रा गर्नुअघि निकुञ्ज कार्यालयबाट जानकारी लिनुपर्छ। उपल्लो डोल्पाको प्रतिबन्धित क्षेत्रतर्फ जाने यात्रुले छुट्टै अनुमति लिनुपर्ने हुन सक्छ। सावधानी : उच्च उचाइका कारण देखिन सक्ने स्वास्थ्य समस्या, चिसो मौसम, वर्षायामको चिप्लो बाटो र सीमित स्वास्थ्य सुविधालाई ध्यान दिनुपर्छ। आवश्यक औषधि, उपयुक्त लुगा र अनुभवी पथप्रदर्शकको व्यवस्था गर्नु उपयुक्त हुन्छ।
प्रकृति र संस्कृतिको सङ्गम

Read Complete Original Article
Published originally on नेपालन्युज






