न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ । वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ । यसअघि सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएको थियो । हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको सन्देशमा एलिससँगको सम्बन्ध स्वीकार गर्दै पत्नीप्रति बेइमानी गरेको बताएका थिए । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध रहेको आरोप लगाएको विवरण पनि सार्वजनिक भएको छ । एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचरको निशानामा परेको रिपोर्टबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको छ । उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । यसैबीच, अमेरिकी कङ्ग्रेसले पनि एलिससँगको सम्बन्धबारे उहाँसँग बन्द कोठामा जानकारी मागेको न्युयोर्क टाइम्सले जनाएको छ । व्यक्तिगत सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा गिरावट आएको छ । कम्पनी र हुआङविरुद्ध लगानीकर्तासँगको सम्बन्धबारे आवश्यक जानकारी नदिएको आरोपमा सेयरधनीहरूले सामूहिक मुद्दासमेत दायर गरेका छन् । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि चिप उत्पादन गर्ने एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक हो । -एएफपी
जेन्सेनलाई एनभिडियाकाे सीईओबाट हटाउने तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





