पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्याली आयोजना गरेको हो । ‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य सहभागीहरू जोडिएका थिए । भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्यालीले काठमाडौं उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदा स्थललाई समेटेको थियो । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे सन्देश दिन र्याली आयोजना गरिएको आयोजकले जनाएको छ । र्यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिहरू सहभागी थिए । त्यसैगरी रोटरी क्लब आफ आरसी भक्तपुरले कार्यक्रम होस्ट गरेको थियो । क्लबका अध्यक्ष दशरथ प्रजापतिले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने बताएका छन् । साथै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताएका छन् । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतनाको महत्त्व रहेको बताए । ‘बालबालिकाको स्वास्थ्य सुरक्षित राख्नु परिवारको मात्र नभई सिंगो समाजको जिम्मेवारी हो। पोलियोजस्तो रोगबाट बच्न नियमित खोप आवश्यक छ। यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्याउन सहयोग गर्छन्,’ प्रजापतिले बताए । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताए । ‘पोलियो उन्मूलनका लागि विश्वभर भइरहेका प्रयासलाई सफल बनाउन सबैको साथ आवश्यक छ । रोग नियन्त्रणमा प्रगति भए पनि पूर्ण रूपमा अन्त्य नभएसम्म हाम्रो अभियान जारी रहनुपर्छ । यो साइकल र्याली पनि त्यही प्रतिबद्धताको एउटा हिस्सा हो,’ कार्कीले बताए । रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकालले पोलियोबारे जनचेतना फैलाउन समाजका सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताइन् । ‘स्वस्थ भविष्यका लागि आजका बालबालिकालाई सुरक्षित राख्नुपर्छ। पोलियोबाट बच्ने प्रभावकारी उपाय नियमित खोप हो। हामी सबैले यो सन्देश आफ्नो परिवार र समुदायसम्म पुर्याउन सक्छौँ,’ उनले बताइन् । उद्घाटन कार्यक्रम पोलियोप्लस उपसमिति अध्यक्ष रोटरियन बिनिता हाडा प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यसपछि सहभागी साइकल यात्रीहरू निर्धारित मार्ग हुँदै विभिन्न सम्पदा स्थलको परिक्रमा गर्दै ललितपुरतर्फ अघि बढेका थिए । पाटन दरबार स्क्वायरमा आयोजित समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, डिस्ट्रिक्ट गभर्नर कार्की, पूर्वडिस्ट्रिक्ट गभर्नरहरू, विभिन्न रोटरी क्लबका सदस्य तथा अन्य सहभागीहरूको उपस्थिति थियो । रोटरी क्लब अफ भक्तपुरले ‘साइकल कनेक्ट भक्तपुर’सँगको सहकार्यमा र्याली सञ्चालन गरेको थियो । त्यसैगरी कार्यक्रमको समन्वय भने नेटवर्क अफ रोटरी क्लब अफ ललितपुर (एनआरसीएल)ले गरेको थियो । समापनका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ऐतिहासिक सम्पदा स्थललाई स्वास्थ्य सचेतनासँग जोड्नु सकारात्मक पहल भएको बताए । ‘हाम्रा सम्पदा स्थल इतिहास र संस्कृतिको पहिचान मात्र होइनन्, समाजलाई सकारात्मक सन्देश दिने महत्त्वपूर्ण ठाउँ पनि हुन् । सातवटा विश्व सम्पदा स्थललाई जोडेर पोलियो उन्मूलनको सन्देश फैलाउनु राम्रो प्रयास हो । यस्ता कार्यक्रमले स्वास्थ्य सचेतनासँगै सम्पदाको महत्त्व पनि उजागर गर्छन्,’ महर्जनले बताए । पोलियोप्लस उपसमिति अध्यक्ष रोटरियन बिनिता हाडा प्रधानाङ्गले साइकल र्यालीको उद्देश्य पोलियो उन्मूलनको सन्देशलाई थप व्यापक बनाउनु रहेको बताइन् । ‘पोलियोमुक्त विश्व निर्माणका लागि खोपको महत्त्वबारे निरन्तर सचेतना फैलाउन आवश्यक छ । साइकल र्यालीमार्फत हामीले स्वास्थ्यको सन्देशसँगै सम्पदा संरक्षण र सामूहिक सहभागितालाई पनि जोड्ने प्रयास गरेका छौँ । पाँच सयभन्दा बढी साइकल यात्रीको सहभागिताले अभियानलाई थप उत्साह दिएको छ,’ प्रधानाङ्गले बताइन् । र्यालीमा रोटरी क्लब अफ भक्तपुरले आयोजक क्लबको भूमिका निर्वाह गरेको थियो । कार्यक्रमलाई सफल बनाउन साइकल कनेक्ट भक्तपुर, २५ वटा सहआयोजक रोटरी क्लब तथा नौवटा प्रायोजक संस्थाले सहकार्य गरेका थिए । हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई बलियो बनाउने उद्देश्य राख्छ । यस अवसरमा नियमित खोपको महत्त्व, रोगबारे जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा जोड दिने गरिन्छ । विश्वका धेरै क्षेत्रमा पोलियो नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भए पनि यसको पूर्ण उन्मूलनका लागि नियमित खोप, निरन्तर निगरानी र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको छ । आयोजकका अनुसार यस वर्षको साइकल र्यालीले स्वास्थ्य सचेतनाका साथै नागरिक सहभागिता, संस्थागत सहकार्य र ऐतिहासिक सम्पदा संरक्षणको सन्देशसमेत दिएको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले पोलियोमुक्त विश्व निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्याउँदै अभियानमा सहभागी साइकल यात्री, रोटरी क्लबहरू, स्थानीय जनप्रतिनिधि, प्रायोजक संस्था, सहयोगी निकाय तथा स्वयंसेवकहरूलाई धन्यवाद दिएको छ। ‘हरेक बालबालिकाको अधिकार : पोलियोमुक्त जीवन’ भन्ने सन्देशसहित सम्पन्न र्यालीले पोलियो उन्मूलनका लागि सामूहिक प्रयास र निरन्तर जनचेतनाको आवश्यकता औँल्याएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



