काठमाडाैँ । पोखरा महानगरपालिकामा निर्वाचित भएर आएपछि मेयर धनराज आचार्यको एउटा परिकल्पना थियो–कोही पनि मानिस सीप नहुँदा बेरोजगार भएर बस्न नपरोस् । युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना ग¥यो । अहिले यही केन्द्र युवाहरूका लागि सीप सिक्ने र स्वरोजगार बन्ने महत्वपूर्ण माध्यम बन्दै गएको छ । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत हालसम्म करिव ३ हजार ५ सय भन्दा धेरै जनाले विभिन्न सीपमूलक तालिम लिइसकेको केन्द्रका अधिकृत नवराज अधिकारीले जानकारी दिए । महानगरपालिकाले विभिन्न विधामा तालिम सञ्चालन गर्दै युवालाई दक्ष बनाउने र रोजगारीसँग जोड्ने प्रयास गरिरहेको उनी बताउँछन् । यसै क्रममा महानगरपालिकाले पछिल्लो समय सञ्चालन गर्न लागेको छवटा सीपमूलक तालिमप्रति युवायुवतीको आकर्षण निकै बढेको छ । २० जनाको कोटा निर्धारण गरिएका प्रत्येक तालिममा ६ सयभन्दा बढी युवायुवतीले आवेदन दिएका छन् । वेटर तथा वेट्रेस, ३९० घण्टे केयरगिभर, कुक, बरिस्ता, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता गरी छवटा विधामा तालिम सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । अहिले यी सबै तालिमका लागि आवेदकहरूको अन्तरवार्ता भइरहेको छ । पोखराको सभागृहस्थित व्यवसाय प्रवद्र्धन केन्द्रमा अन्तरवार्ता दिन आउने युवायुवतीको उल्लेख्य भीड देखिन्छ । सीप सिकेर रोजगारीसँग जोडिने आशासहित युवाहरू अन्तरवार्तामा सहभागी भइरहेका छन् । प्रत्येक विधामा २० जनाका दरले १२० जनालाई तालिम दिने लक्ष्य महानगरपालिकाले राखेको छ । तर सिमित कोटाका लागि आवेदन दिने युवायुवतीको संख्या भने निकै ठूलो छ । यसले रोजगारीका लागि आवश्यक सीप सिक्न युवाहरू कति उत्साहित छन् भन्ने देखाउँछ । तालिमका लागि महानगरमा पुगेकी तमन्ना थापाले केही सीप सिकेर स्वदेशमै केही गरौँ भन्ने ध्येयले आएको बताइन् । अर्की प्रशिक्षार्थी स्वस्तिका कँडेलले महानगरपालिकाले फ्रिमा तालिम दिएकाले केयर गिभरको लागि प्रशिक्षण लिन आएको बताइन् । पर्यटकीय नगरी पोखरामा होटल, रेस्टुरेण्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा दक्ष जनशक्तिको माग बढिरहेको छ । यही सम्भावनालाई मध्यनजर गर्दै युवालाई सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्नुका साथै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर धनराज आचार्य बताउँछन् । युवाहरू रोजगारीको खोजीमा छन् । तर आवश्यक सीप र दक्षता नहुँदा अवसर प्राप्त गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा सीपमूलक तालिमले युवालाई आफ्नै ठाउँमा रोजगारी खोज्न, स्वरोजगार बन्न र आत्मनिर्भर जीवनयापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको मेयर आचार्यको भनाइ छ । उनले भने, “हामीले पोखराभित्र कोही पनि बेरोजगार नरहुन्, जो बेरोजगार छ, उहाँहरु स्वरोजगार बन्नुहोस्, आफैँ पनि वा अन्यत्र प्रतिष्ठानमा काम गरेर रोजगार बन्नुस् भन्ने हिसावले व्यवसायिक प्रवद्र्धन गर्ने हिसावले प्रवद्र्धन केन्द्रको सञ्चालन गरेका हौँ । यसबाट आवश्यकताअनुसारको तालिम दिन्छौँ । २० जना कम्तिमा जम्मा भएर हामीलाई यस किसिमको तालिम चाहियो, हामी यो काम गर्नसक्छौँ, टेक्निकल नलेज चाहियो, साथै बैंक, फाइनान्स आदि कुराहरु पनि सहजीकरण गर्नेगरी काम गरिरहेका छौँ । अहिलेसम्म झन्डै तीन हजार जति युथहरु, व्यवसायीहरु यस अर्गनाइजेशनबाट लाभान्वित हुनुभएको छ । यो चालु आर्थिक वर्षका लागि आवश्यकतामा आएकाहरुलाई तालिम दिइरहेका छौँ । केयर गिभर, कुक, वारिष्था लगायतका विषयमा भर्ना खुलेको छ ।” पोखरालाई पर्यटकीय नगरीका रूपमा मात्र नभई दक्ष जनशक्ति उत्पादन गर्ने शहरका रूपमा समेत विकास गर्ने महानगरको प्रयासले युवामा आशा जगाएको छ । २० जनाको कोटामा ६ सयभन्दा बढी आवेदन पर्नुले पनि युवाहरूमा सीप सिक्ने र आफ्नो भविष्य आफैँ निर्माण गर्ने चाहना बढ्दै गएको त्यहा उपस्थीत भएका युवा युवतीले बताएका छन् ।
‘पोखरामा सीप सिक्ने युवाको आकर्षण, स्वदेशमै आत्मनिर्भर बन्ने प्रयास’

Read Complete Original Article
Published originally on टक्सार





