काठमाडौं। पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा देशभरका ४३ जना जुनियर खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा ८ देखि १८ वर्षमुनिका बालक तथा बालिकाले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा सिङ्गल्स तथा डबल्स विधाका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ। राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान गर्नुका साथै टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए। गण्डकी प्रदेश टेनिस सङ्घले स्थापनाकालदेखि नै जुनियर खेलाडीको प्रशिक्षण र उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ। सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन्। केही खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन्। सङ्घले जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा पनि प्रशिक्षण सञ्चालन गरिरहेको छ। प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सङ्घका अध्यक्ष विनोद कायस्थले बताए। पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न प्रतियोगिताले सहयोग पुर्याउने विश्वास आयोजकको छ। यसबाट नयाँ प्रतिभाको पहिचान र खेलाडीको क्षमता विकासमा समेत टेवा पुग्ने अध्यक्ष कायस्थले बताए। प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
पोखरामा कात्तिक १८ देखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

Read Complete Original Article
Published originally on नेपालन्युज






