काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् । नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप आज नोभेम्बर ४ को दिन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान छ । भारतका मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईलगायत सहर सम्भावित पुनः प्रवेश क्षेत्रको अक्षांशीय सीमाभित्र पर्ने भएकाले ती क्षेत्रमा पनि यसको अवशेष खस्न सक्ने सैद्धान्तिक सम्भावना रहेको छ । सन् २००४ नोभेम्बर २० मा प्रक्षेपण गरिएको यस अन्तरिक्ष वेधशालाको सुरुवाती नाम ‘स्विफ्ट गामा–रे बर्स्ट एक्सप्लोरर’ थियो । सुरुमा दुई वर्षका लागि सञ्चालन गर्ने लक्ष्य राखिएको यो यानले करिब २२ वर्षसम्म अन्तरिक्षमा रहेर ब्रह्माण्डका विभिन्न घटनाको अध्ययन गरेको थियो । नासाका अनुसार अन्तरिक्ष यानको सम्भावित पुनः प्रवेश क्षेत्र २०.६ डिग्री दक्षिण अक्षांशदेखि २०.६ डिग्री उत्तर अक्षांशसम्म फैलिएको छ । यो क्षेत्रमा भारत समेत पर्ने भएकाले जोखिम क्षेत्रमा रहेको ठानिएको हो । अन्तरिक्ष मिसनका प्रमुख वैज्ञानिक ब्राड सेन्कोका अनुसार अफ्रिका, अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया तथा मध्य र दक्षिण अमेरिकाका केही भूभाग सम्भावित जोखिम क्षेत्रभित्र पर्छन् । भारतको भौगोलिक अवस्थिति हेर्दा मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईजस्ता शहर जोखिम क्षेत्रमा पर्ने एनडीटीभीले जनाएको छ । तर, यी सहर सम्भावित अक्षांशीय क्षेत्रभित्र पर्दैमा त्यहीँ अन्तरिक्ष यानको अवशेष खस्छ भन्ने निश्चित हुँदैन । वास्तविक पुनः प्रवेशको स्थान अन्तरिक्ष यान वायुमण्डलमा प्रवेश गर्ने समयको यसको कक्षीय अवस्थिति र गतिमा निर्भर गर्छ । त्यसैले नासाले कुनै निश्चित शहरलाई जोखिमयुक्त अवतरणस्थलका रूपमा तोकेको पनि छैन । समुद्रमा खस्ने सम्भावना बढी वैज्ञानिकहरूका अनुसार अन्तरिक्ष यानको अधिकांश भाग वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने अत्यधिक तापक्रमका कारण जलेर नष्ट हुनेछ । तर, केही बलिया र बाक्ला उपकरणका टुक्रा भने पृथ्वीको सतहसम्म आइपुग्न सक्छन् । डरहम विश्वविद्यालयका खगोलभौतिकशास्त्री जोनाथन म्याकडोवेलले करिब १ हजार ५०० किलोग्राम तौलको अन्तरिक्ष यानमध्ये वायुमण्डलमा पुनः प्रवेशपछि १०० किलोग्रामभन्दा बढी भाग बाँकी रहे आफूलाई आश्चर्य लाग्ने बताएका छन् । अस्ट्रेलियन नेसनल युनिभर्सिटीका खगोलभौतिकशास्त्री ब्राड टकरका अनुसार पृथ्वीको करिब ७० प्रतिशत सतह महासागरले ढाकेको छ । त्यसैले सांख्यिकीय हिसाबले अन्तरिक्ष यानका अवशेष समुद्रमा खस्ने सम्भावना बढी हुन्छ । वैज्ञानिकहरूले यसबाट कुनै व्यक्तिलाई चोटपटक लाग्ने वा भौतिक संरचनामा ठूलो क्षति पुग्ने सम्भावना निकै कम रहेको बताएका छन् ।भारतसँग पनि अन्तरिक्षबाट फर्किने वस्तु तथा अन्तरिक्षमा रहेका अन्य संरचनाको निगरानी गर्ने व्यवस्था छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले श्रीहरिकोटास्थित बहुवस्तु अनुगमन राडारमार्फत उपग्रह, रकेटका अवशेष तथा अन्य अन्तरिक्षीय वस्तुको निगरानी गर्दै आएको छ । यद्यपि, स्विफ्ट अन्तरिक्ष वेधशालाको पुनः प्रवेशलाई इसरोले पनि निगरानी गरिरहेको छ वा छैन भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन । २२ वर्षको वैज्ञानिक यात्रा स्विफ्ट अन्तरिक्ष वेधशालाको मुख्य उद्देश्य गामा–रे विस्फोट (गामा–रे बर्स्ट) लगायत ब्रह्माण्डका अत्यधिक ऊर्जायुक्त घटनाको अध्ययन गर्नु थियो । यसले सुपरनोभा, ब्ल्याक होल र अन्य खगोलीय घटनाबारे महत्त्वपूर्ण तथ्य संकलन गरेको छ । नासाका अनुसार आफ्नो कार्यकालमा यस अन्तरिक्ष वेधशालाले २ हजारभन्दा बढी गामा–रे विस्फोट र १ हजार ४०० भन्दा बढी सुपरनोभाको अवलोकन गरेको थियो । दुई वर्षका लागि पठाइएको यो अन्तरिक्ष वेधशालाले निर्धारित अवधिभन्दा करिब २० वर्ष बढी काम गरेर खगोल विज्ञानमा महत्त्वपूर्ण योगदान दिएको छ । सन् २०२६ अक्टोबर २० मा यसको अन्तिम वैज्ञानिक अवलोकन भएको थियो । अब यसको क्षमता क्रमशः घट्दै गएपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने अवस्था आएको हो । नासा र अमेरिकी स्पेस फोर्सले यसको पुनः प्रवेशसम्बन्धी अवस्थाको निगरानी गरिरहेका छन् ।
पृथ्वीमा खस्दै नासाको २२ वर्ष पुरानो टेलिस्कोप, भारत सम्भावित जोखिम क्षेत्रमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






