मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। उनी कहाँबाट पक्राउ परेका हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन। यद्यपि, गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कोलकाताबाट पक्राउ गरी नेपाल ल्याइँदै छ। अर्यालविरुद्ध मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो। मुख्यसचिव बन्नुअघि अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए। उनी मन्त्रालयको सचिव रहँदा भएको भनिएको निर्णय प्रक्रियामा संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाइएको हो। अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए। मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, नेपाल ल्याइँदै

Read Complete Original Article
Published originally on पर्दाफास






