काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिनुभएको छ । २४ वर्षीय रोहितले प्रेमिका सिमरन खड्कासँग बिहीबार थाइल्याण्डमा लगनगाँठो कस्नुभएको हो । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै रोहित र सिमरनले थाइल्याण्डमा आयोजित एक समारोहबीच विवाह गर्नुभएको हो । रोहितले सामाजिक सञ्जालमार्फत् विवाहका तस्वीर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिनुभएको छ । ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म । सधैँभरि सँगै रहने वाचासहित,’ उहाँले लेख्नुभएको छ । रोहितको विवाहमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दिप जोरा पनि थाइल्याण्ड पुग्नुभएको थियो । रोहित नेपाली क्रिकेटका सफल युवा खेलाडीमध्ये एक हुनुहुन्छ । उहाँले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । दायाँहाते ब्याटर रोहितले नेपाली टोलीको कप्तानीसमेत गर्नुभएको छ । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मा रोहितले लुम्बिनी लायन्सको कप्तानी गर्नुभएको थियो । उहाँको नेतृत्वमा गत वर्षको एनपिएल विजेता लुम्बिनी यस वर्ष फाइनलसम्म पुगे पनि सुदूरपश्चिम रोयल्ससँग १० विकेटले पराजित भएको थियो ।
पूर्वकप्तान रोहित पौडेलले कसे लगनगाँठो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






