टर्किए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताएका छन् । कोप–३१ सम्मेलनस्थलमा रहेको पाकिस्तान प्याभिलियनमा आज आयोजित ‘समुदायको नेतृत्वमा तथ्याङ्कमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले बाढी प्रभावितको पुनःस्थापनाका लागि नेपालले अघि बढाएका पहल र प्रक्रियाबारे जानकारी गराएका हुन् । डा. उप्रेतीका अनुसार प्रभावित क्षेत्रको भौगर्भिक अवस्था तथा बाढी जोखिमको आकलन, सुरक्षित स्थानको पहिचान र स्थायी आवास निर्माणका लागि लाभग्राही छनोट प्रक्रिया अघि बढाइएको छ । प्रभावित परिवारलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा बाढीबाट प्रभावित निजी जग्गासँग सरकारी जग्गा सट्टापट्टा गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए । प्रभावित परिवारलाई बसोबास र जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै उनले पुनःस्थापनाको प्रक्रियामा जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिइएको उल्लेख गरे । “नेपालले जोखिमसम्बन्धी ज्ञान र पूर्वसूचना प्रणालीलाई योजना निर्माणको आधारका रूपमा आत्मसात् गरेको छ । भौगर्भिक जोखिम, बाढीजन्य जोखिम तथा तिनका शृङ्खलाबद्ध असरको बहुप्रकोपीय जोखिम आकलन सुरु गरिएको छ”, उनले भने । उनले सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि हजारौँ प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा हासिल भएका अनुभव र सिकाइबाट नेपालले लाभ लिन सक्ने धारणा राखे । छलफलमा पाकिस्तानी प्रतिनिधिहरूले सन् २०२२ को बाढीपछि प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा भोगेका चुनौती, हासिल गरेका उपलब्धि र सिकाइ प्रस्तुत गरेका थिए ।
पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ: डा. धर्मराज उप्रेती

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






