पर्सा।जिल्ला अदालत पर्साले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ। अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था र सेवाग्राही महिलाको सुविधालाई ध्यानमा राख्दै स्तनपान कक्ष समेत स्थापना गरेको छ। अदालतमा जफत भएका दुई वटा सवारीसाधन कार्यालयकै नाममा दर्ता गराउने प्रक्रिया अघि बढाउनाका साथै अदालतको भौतिक पूर्वाधार थप व्यवस्थित बनाउन नौ कट्ठा जग्गा प्राप्तिसम्बन्धी काम पनि अगाडि बढाइएको छ। त्यसैगरी, अदालत परिसरमा रहेको खाली स्थानलाई उपयोग गर्दै कम्प्युटर अपरेटर कक्षको व्यवस्था गरिएको छ भने भौतिक पूर्वाधार सुधारअन्तर्गत सबै इजलासमा एसी जडान गरिएको छ भने अदालत भवनको रङ्गरोगन तथा सौन्दर्यीकरण गरिएको छ। रजिस्ट्रार तथा श्रेस्तेदार मल्लिकले अदालतमा आउने सेवाग्राही, न्यायाधीश तथा कर्मचारीलाई सहज वातावरण उपलब्ध गराउनाका साथै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सुधारका कामलाई प्राथमिकता दिइएको जानकारी दिए। अदालतमा भइरहेको सुधारका कामले न्यायिक सेवा लिन आउने सर्वसाधारणलाई सहजता प्रदान गर्ने र अदालतको सेवा प्रवाहलाई थप सेवाग्राहीमैत्री बनाउने अपेक्षा अदालतको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार अदालतले ५७.६८ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो। अदालतका अनुसार दुई वर्ष नाघेका विचाराधीन मुद्दा २४०, अठार महिना नाघेका मुद्दा ३३, बालबालिकासम्बन्धी कुल मुद्दा ८२, बालबालिकासम्बन्धी फछ्र्योट ५४ र बालबालिकासम्बन्धी बाँकी २८ मुद्दा छन्।
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

Read Complete Original Article
Published originally on नेपालन्युज






