बाजुरा । उच्च हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात हुन थालेपछि बाजुराका भेडापालक किसानहरू भेडाबाख्राको बथानसहित बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो सातादेखि वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि अत्यधिक चिसो बढेको छ। चिसो बढेसँगै हिमाली क्षेत्रमा घाँस तथा चरनको अभाव हुन थालेपछि भेडापालक किसानहरू हिउँद छल्न बेँसीतर्फ लागेका हुन्। बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापा परिवारसहित बेँसी झरेका छन्। उनले चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित भेडाको बथान लिएर गाउँ छाडेको बताए। थापाका अनुसार उनी साँफे–मार्तडी सडकखण्ड हुँदै करिब २०० भेडासहित अछामको गैलतर्फ जाँदैछन्। गाउँमा चिसो बढ्नुका साथै हिउँ पर्न थालेपछि भेडा चराउन कठिनाइ हुने भएकाले चैत–वैशाख महिनासम्म बेँसीमै बस्ने योजना रहेको उनले बताए। हिउँदको कठ्याङ्ग्रिँदो चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहज व्यवस्था गर्न बाजुराका भेडापालक किसानहरू परम्परागत मौसमी बसाइँसराइमा निस्कने गर्छन्। उच्च लेकाली क्षेत्रमा हिमपातसँगै घाँस तथा चरन क्षेत्र ढाकिने भएकाले भेडाको बथानसहित न्यानो र सहज चरन पाइने बेँसी क्षेत्रतर्फ जाने उनीहरूको बाध्यता हो। बाजुरामा पुस्तौँदेखि चल्दै आएको यो मौसमी बसाइँसराइले यहाँको परम्परागत पशुपालन व्यवसाय, ग्रामीण जीवनशैली र स्थानीय संस्कृतिलाई समेत प्रतिबिम्बित गर्ने गरेको छ। जिल्लाका उच्च हिमाली क्षेत्रका भेडापालक किसानहरू हिउँदको समयमा चिसो छल्न जिल्लाभित्रका बूढीगङ्गा, खप्तड छेडेदहलगायतका क्षेत्रमा पुग्ने गरेका छन्। त्यस्तै, छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा समेत भेडीगोठ सारेर चैत–वैशाखसम्म बस्ने परम्परा रहेको छ। मौसम अनुकूल हुन थालेपछि किसानहरू पुनः आफ्ना भेडाबाख्रासहित उच्च हिमाली क्षेत्रका चरनमा फर्किने गर्छन्।
चिसो बढेपछि बाजुराका भेडापालक किसान बेँसी झर्न थाले

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






