काठमाडौं । सामाजिक हाँस्य चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त गरिएको छ । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्रको बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी शुभमुहूर्त गरिएको हो । मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । निर्देशक सुब्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरि, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतमलगायत अभिनय रहनेछ । दार्जिलिङका हाँस्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । आचार्यको निर्देशनमा बन्न लागेको यो तेस्रो चलचित्र हो । यसअघि उहाँले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गर्नुभएको थियो । चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पार्नुभएको हो भने पटकथा सुशील देवकोटाको छ । हरि हुमागाईंले छायांकन निर्देशन गर्ने चलचित्रका निर्माता कर्ण कार्की हुनुहुन्छ ।
‘पच्चीस पच्चीस’को शुभमुहूर्तसँगै छायांकन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






