नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने संकेत गरेको छ। विगतका मतभेद र असमझदारीलाई पछाडि छाड्दै पारस्परिक हित, आर्थिक विकास र साझा समृद्धिमा केन्द्रित भएर अघि बढ्ने दुवै देशका प्रधानमन्त्रीको प्रतिबद्धताले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणले दुई छिमेकी मुलुकबीचको सम्बन्धमा नयाँ अध्याय थपेको छ। नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा दुवै नेताले कूटनीतिक परिपक्वता प्रदर्शन गर्दै विगतका असमझदारी र राजनीतिक संवेदनशीलताभन्दा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिएका छन्। नेपाल–भारत सम्बन्धमा लामो समयदेखि देखिँदै आएका ऐतिहासिक विवाद, सीमा समस्या र राजनीतिक असमझदारीलाई संवादमार्फत समाधान गर्ने तथा विकासका साझा एजेन्डामा केन्द्रित हुने सन्देश यस भ्रमणले दिएको छ। दुई देशले सार्वजनिक गरेको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको साझा दृष्टिकोणले भारतको विकास यात्रासँग नेपालको समृद्धिको आकांक्षालाई जोड्ने प्रयास गरेको छ। भारतले नेपालको नयाँ सरकारलाई आर्थिक तथा विकास साझेदारीमार्फत सहयोग गर्ने महत्वपूर्ण प्रतिबद्धता जनाएको छ। भ्रमणका क्रममा भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि ३ हजार ५०० करोड रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड रुपैयाँ ऋण सहयोग समावेश छ। भ्रमणका उपलब्धि आर्थिक सहयोगमा मात्र सीमित छैनन्। दुई देशबीच सीमापार रेल तथा सडक सञ्जाल विस्तार, पेट्रोलियम पूर्वाधार, जलविद्युत् विकास, नेपालको पारवहन व्यापारका लागि थप भारतीय बन्दरगाहको उपयोग, चितवनमा कृषि औद्योगिक पार्क स्थापना तथा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्ने प्रस्तावलगायत विषयमा सहमति भएको छ। त्यसैगरी स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, प्रहरी सहयोग, वैज्ञानिक अनुसन्धान, भूउपग्रह सञ्चार र प्रशासनिक क्षमता अभिवृद्धिसहित विभिन्न आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। यी सहमतिले दुई देशबीचको सहकार्यलाई परम्परागत कूटनीतिक सम्बन्धभन्दा फराकिलो बनाउँदै नयाँ क्षेत्रसम्म विस्तार गर्ने सम्भावना देखाएका छन्। यस भ्रमणको अर्को महत्वपूर्ण पक्ष दुई देशबीच विद्यमान सन्धि तथा सम्झौताको पुनरावलोकन गर्ने विषयमा देखिएको सकारात्मक समझदारी हो। सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने विषयलाई दुवै पक्षले स्वीकार गरेका छन्। जलस्रोत, ऊर्जा, व्यापार, वाणिज्य तथा सीमा समस्यालगायत बाँकी विषयलाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त भएको छ। यी घटनाक्रमले नेपाल र भारत दुवै सरकार विगतका विवाद र आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा व्यावहारिक उपलब्धि हासिल गर्न इच्छुक रहेको देखाउँछन्। नेपालको दृष्टिकोणबाट यो भ्रमण आफ्नो राष्ट्रिय हित सुरक्षित गर्दै सबैभन्दा ठूलो छिमेकीसँग विकास साझेदारीलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर हो। तर कूटनीतिक भ्रमणमा भएका घोषणा र हस्ताक्षरले मात्र आम नागरिकको जीवनमा परिवर्तन ल्याउँदैनन्। वास्तविक सफलता सम्झौता कार्यान्वयन, परियोजनाको समयमै सुरुवात, लगानीको प्रभावकारी उपयोग र त्यसबाट प्राप्त लाभ जनतासम्म पुर्याउन सक्ने क्षमतामा निर्भर हुनेछ। यसका लागि अब काठमाडौंको भूमिका महत्वपूर्ण हुनेछ। नेपाल सरकारले आफ्ना विकास प्राथमिकता स्पष्ट पार्दै भारतसँग भएका सहमतिलाई कार्यान्वयनमा लैजान आवश्यक संस्थागत क्षमता विकास गर्नुपर्छ। परियोजनाको पारदर्शिता, प्रभावकारी अनुगमन र दीर्घकालीन राष्ट्रिय हित सुनिश्चित गर्ने विषयमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ। दुई प्रधानमन्त्रीले विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिएर राजनीतिक परिपक्वता प्रदर्शन गरेका छन्। भारतले नेपालको नयाँ पुस्ताको नेतृत्वप्रति विश्वास र सहयोगको हात अघि बढाएको छ। अब यो अवसरलाई नेपालको आर्थिक विकास र नेपाली जनताको हितमा उपयोग गर्ने जिम्मेवारी काठमाडौंको काँधमा छ। अन्ततः नेपाल–भारत सम्बन्धको नयाँ साझेदारीको सफलता कति वटा सम्झौतामा हस्ताक्षर भयो वा कति ठूला घोषणा गरिए भन्ने आधारमा मात्र मापन हुनुहुँदैन। यसले नेपाली नागरिकको जीवनस्तरमा कस्तो सुधार ल्यायो, रोजगारी र आर्थिक अवसर कति सिर्जना गर्यो तथा नेपालको समग्र विकासमा कस्तो योगदान पुर्यायो भन्ने कुराले नै यसको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।
नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी

Read Complete Original Article
Published originally on पर्दाफास






