नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिले नेपालको वैदेशिक व्यापार र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने एसोसिएसनले विश्वास व्यक्त गरेको छ । एसोसिएसनले विशेषगरी भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने सहमतिलाई महत्वपूर्ण मानेको छ । यसबाट तेस्रो मुलुकसँगको नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्री बन्दरगाह र पारवहन मार्गको विकल्प विस्तार हुने अपेक्षा गरिएको छ । यी बन्दरगाहको प्रयोगले भविष्यमा ढुवानी समय र लागत घटाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाउन सक्ने एसोसिएसनको भनाइ छ । यसका लागि आवश्यक कार्यविधि निर्माण तथा पारवहन सन्धिको प्रोटोकल संशोधन प्रक्रिया शीघ्र सम्पन्न गर्न पनि उसले आग्रह गरेको छ । त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई पनि एसोसिएसनले स्वागत गरेको छ । रेलमार्गको विकासले ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता र ढुवानी लागत घटाउन सहयोग पुग्ने उसको विश्वास छ । यसले नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले हवाई कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने एसोसिएसनले जनाएको छ । यसबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्न अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ । एसोसिएसनले यी सहमतिहरूको प्रभावकारी कार्यान्वयन भए नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर सिर्जना हुने, लजिस्टिक्स लागत घट्ने, निर्यात प्रवर्द्धन हुने र औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने जनाएको छ । सहमति कार्यान्वयनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले आवश्यक नीतिगत, कानुनी र प्राविधिक प्रक्रिया समयमै अघि बढाउनुपर्नेमा जोड दिँदै एसोसिएसनले पारवहनसम्बन्धी विद्यमान प्रक्रियालाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन आग्रह गरेको छ । साथै, कार्यान्वयनका क्रममा निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय र परामर्श गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत

Read Complete Original Article
Published originally on पर्दाफास






