नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले गरेका हुन् । कार्यक्रममा भारतका विभिन्न सहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी भएका छन् । उनीहरूलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रम आयोजना गरी स्वागत गरिएको थियो । कार्यक्रमअन्तर्गत भारतीय पर्यटन व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउनुका साथै सुनौली हुँदै लुम्बिनी, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका क्षेत्रमा भ्रमण गराइनेछ । आयोजक एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देश चिर्न कार्यक्रम आयोजना गरिएको बताए । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपाल असुरक्षित रहेको सन्देश फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उनको भनाइ छ । नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोले क्षति पुर्याए पनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएकाले पर्यटकलाई वास्तविक अवस्था जानकारी गराउन आवश्यक रहेको उनले बताए । ‘भोटेकोशीको बाढीपछि विश्वका विभिन्न देशबाट नेपालमा आउने पर्यटकहरूले आफ्नो नेपाल आउने कार्यक्रमलाई क्यान्सिल गर्ने गरेका कारण नेपालमा अहिले पर्यटकको संख्या कम भएको छ । गैरआवासीय नेपाली संघ र समृद्ध चितवनको संयुक्त पहलमा हामीले विशेषगरी भारतीय पर्यटकको आगमन बढाउन यो कार्यक्रमको आयोजना गरेका हौँ,’ सापकोटाले भने । उनका अनुसार भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने गरे पनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न सकेको छैन । गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको उनले जानकारी दिए । नेपालका केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको उल्लेख गर्दै सापकोटाले नेपाल सुरक्षित र घुम्नका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल सुरक्षित छ, घुम्नका लागि उपयुक्त छ । बाढीको समस्या सबै ठाउँमा होइन, केही जिल्लामा मात्रै भएको हो भन्ने सन्देश दिन हामीले भारतीय पर्यटन व्यवसायीलाई बोलाएका हौँ,’ उनले भने । कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटलको प्रवर्द्धन गरिनेछ । भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि नेपाल र भारतका पर्यटन व्यवसायीबीच छलफल गरिने आयोजकले जनाएको छ । कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै दुवै देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ । नेपाललाई सुरक्षित र पर्यटक स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले योगदान पुर्याउने आयोजकको अपेक्षा छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटा लगायतका संस्थाले सहयोग गरेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलको तेस्रो संस्करणको भव्य सुरुवात
नेपालको बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तानले विपक्षी टोली सुदूरपश्चिम रोयल्सलाई शुरुवाती ब्याटिङको निम्तो दिँदै पिचको फाइदा उठाउने रणनीति अख्तियार गरेका ...

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पलेभियन फर्किए
१३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट लिएको हो। ...

एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीका मल्ल एक्लैले लिए ३ विकेट
उनले उपविजेता टोली सुदूरपश्चिम रोयल्ससँगको उद्घाटन खेलमा तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिएका हुन् । ...

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ को अवस्था गम्भीर
घाइतेहरूलाई अस्पताल पुर्याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए । ...


