Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपथ्यको मञ्चबाट बालबालिकालाई हिमाल चिनाउन आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपथ्यको मञ्चबाट बालबालिकालाई हिमाल चिनाउन आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

पुतलीबजार, स्याङ्जा । गायक अमृत गुरुङ शनिबार हुनीकोट डाँडा उक्लिएका थिए । त्यहाँबाट उत्तरतर्फ पश्चिम कुनाको धौलागिरिदेखि पूर्वी कुनातिर मनास्लुसम्मै झलमल्ल हिमाल देखिन्थ्यो । दृश्यले लोभिएपछि अमृतले बाटाभरि भेटिएका बालबालिकासँग ती हिमालको परिचय सोधे । तर बीचतिर देखिने माछापुच्छ्रेबाहेक अन्य हिमालको नाम कसैले लिन सकेनन् । भोलिपल्ट आयोजित कन्सर्टमा अमृतले यही प्रसङ्ग निकाले । ‘जुन हिमालको काखमा जन्मेर हुर्कंदै छन्, तिनलाई पनि चिनेनन् भने हाम्रा भावी सन्ततिले पाएको शिक्षा अधुरो हुन्छ,’ आइतबार बेलुकी दर्शकले भरिभराउ मैदानबीच अमृतले त्यहाँ उपस्थित सम्पूर्ण शिक्षकलाई अनुरोध गरे, ‘यी बच्चाहरूलाई उनीहरूको प्रकृति र भूगोल बताउन नछुटाइदिनुस् है… ।’ प्रत्युत्तरमा दर्शकले लामो तालीसाथ उनको धारणालाई अनुमोदन गरिदिए । यसरी देश, पहिचान र भाषा संस्कृतिको महत्त्व सम्झाउँदै नेपथ्यको पुतलीबजार कन्सर्ट सम्पन्न भएको छ । यस पटकको मुलुक यात्रामा ग्रामीण तथा मझौला सहरहरूको चयन गरेको नेपथ्यले पहिलोपटक यस स्थानमा प्रस्तुति दिएको हो। दर्शकको भीडमा स्थानीय चिकित्सक वसन्त पङ्गेनी पनि सपरिवार थिए । ‘हाम्रो ठाउँमा यति भव्य र व्यवस्थित लाइभ कन्सर्ट आयोजना गरेकामा नेपथ्य र आयोजकलाई धन्यवाद दिन मन लागेको छ,’ डा. पङ्गेनीले भने, ‘सङ्गीतले मन जोडेको छ, सम्झनाले जीवन सुन्दर बनाउनेछ ।’ कन्सर्ट हेर्नकै निम्ति छ जना साथीसहित आएकी नानु श्रेष्ठलाई भने यति ठूलो दर्शक उपस्थितिबीच पनि महिलाहरू बस्ने छुट्टै बक्सको प्रबन्ध उल्लेखनीय लाग्यो । ‘यस्तो भव्य र रमाइलो कन्सर्ट जीवनमै पहिलोपटक अनुभव गरेँ,’ बीबीएस चौथो वर्षकी छात्रा नानु भन्दै थिइन्, ‘त्यसमा पनि व्यवस्थापनको कुशलता र सुरक्षाको प्रबन्धले प्रत्येक महिला दर्शकले सम्मानित अनुभूति गरिरहेका थियौँ ।’ पहिलापहिला स्याङ्जा भनेपछि सबैले वालिङको मात्र नाम लिने गरेकामा कन्सर्टमार्फत पहिलोपटक आफ्नो स्थानको नाम अगाडि आउँदा स्थानीय निश्चल लम्साल खुसी मानिरहेका थिए । ‘नेपथ्य कन्सर्टकै निम्ति यति धेरै दर्शक पुतलीबजार आइपुग्दा हाम्रो ठाउँको पहिचान पनि स्थापित हुन पुगेको छ,’ स्थानीय होटलका सञ्चालक निश्चल भनिरहेका थिए, ‘यो पहिचानसँगै अब हामीले यस ठाउँलाई विभिन्न आयोजनाको थलो बनाउने अठोट लिएका छौँ ।’ जमन गुरुङको परिवारले पहिलोपटक हुनीकोटमा होमस्टे सञ्चालन गरेको इतिहास छ । उनका अनुसार यस ठाउँले यति धेरै मानिस यसअघि कहिल्यै देखेको थिएन । ‘एक त कन्सर्टले गर्दा धेरैले यस ठाउँलाई चिने,’ हाल परिवारको तेस्रो पुस्ताले सम्हालिरहेको स्थानीय होमस्टेका जमन भन्छन्, ‘त्यसमा पनि नेपथ्यका गायक अमृतले स्वदेश घुम्नुपर्ने सन्देश प्रवाह गर्दा हामीजस्ता व्यवसायी प्रभावित भएका छौँ ।’ भारतीय सेनामा रहेर हिमाचल प्रदेशको सिमलानजिकै सेवारत विजय गुरुङ बिदामा घर आएकै बेला कन्सर्ट हेर्न पाएकामा मक्ख छन् । ‘नेपथ्यको कन्सर्ट धेरै पहिलेदेखि हेर्न खोजेको थिएँ । यो पाला थुप्रै गाउँले र साथीभाइसहित उपस्थिति जनाउन पाएँ,’ उनी भन्दै थिए, ‘चिताएको भन्दा भव्य कन्सर्ट हेर्न पाएर असाध्यै खुसी छु ।’ कन्सर्ट आयोजना गर्ने अवसर पाएकामा स्थानीय आयोजक ‘स्याङ्जा युथ क्लब’ले कृतज्ञता प्रकट गरेको छ । ‘कन्सर्ट सफलतापूर्वक सम्पन्न भएको मात्र छैन, यसबाट पुतलीबजारले गौरव महसुस गर्ने अवसर पनि प्राप्त गरेको छ,’ क्लबका अध्यक्ष बाबु थापाले प्रतिक्रिया दिए, ‘आउने दिनमा यस्ता थप कार्यक्रम गर्ने प्रेरणा पनि पाएका छौँ ।’ कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । यो यात्राअन्तर्गत अबको कन्सर्ट म्याग्दीको बेनीबजारमा हुनेछ । प्रस्तुतिका लागि त्यहाँस्थित खुलामञ्च तय गरिएको छ । त्यसपछिको कन्सर्ट यस पटकको नेपाल यात्राकै अन्तिम प्रस्तुति हुनेछ । त्यसका लागि ब्यान्ड तनहुँको बेलचौतारा पुग्नेछ । यो यात्रा लगत्तै ब्यान्डले अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्रा गर्दै छ । डिसेम्बर पहिलो साताबाटै उक्त मुलुकमा लोकरक बज्न थाल्नेछन् । अस्ट्रेलियाको यात्रामध्ये एडिलेड, सिड्नी, पर्थ र मेलबर्नका कार्यतालिका ब्यान्डले आफ्नो वेबसाइटबाट सार्वजनिक गरिसकेको छ । यी कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’
Latest NewsJust now

‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको कैलालीका ६ वटै खरिद केन्द्रमा धान बेच्न किसानले कुपन लिएर सातादेखि लाइनमै रात बिताइरहेका छन्। ...

कान्तिपुर
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Latest NewsJust now

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा ...

केन्द्रबिन्दु
पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग
Latest NewsJust now

पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग

मुम्बई । पाकिस्तानी कलाकारको भारतमा पुनरागमनलाई लिएर पुनः विवाद सुरु भएको छ । फवाद खान, माहिरा खान र हानिया आमिर अभिनित पाकिस्तानी वेब सिरिज ‘जो बचे हैं संग समेट लो’ को... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

बुधबार बिहानका खेलमा सुदूरपश्चिमले मधेशलाई एकतर्फी रूपमा हरायो भने पुलिस क्लबले कर्णालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement