Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री
Photo / Coverage: टेक्नोलोजी खबर

बेलायत र नर्वेबीच सम्बन्ध थप घनिष्ठ भइरहेका बेला भोडाफोनथ्रीले यी दुई देशबीच आवश्यक समुद्री केबल क्षमता विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। दूरसञ्चार कम्पनीले आगामी वर्ष सम्भाव्यता अध्ययन गर्नेछ। यसको उद्देश्य स्कटल्यान्डलाई शेटल्यान्ड टापुसँग र त्यहाँबाट उत्तर सागरसम्म हुँदै नर्वेसँग जोड्ने उपयुक्त केबल मार्ग पहिचान गर्नु हो। भोडाफोनका अनुसार नयाँ केबलले बेलायत र युरोपबीच डाटा आदानप्रदान क्षमता बढाउनुका साथै वैकल्पिक मार्ग उपलब्ध गराउनेछ। यसले इन्टरनेट कनेक्टिभिटी र महत्त्वपूर्ण सञ्चार सेवाहरूलाई अवरोधबाट जोगाउन आवश्यक सञ्जालको विश्वसनीयता पनि बढाउनेछ। कम्पनीका अनुसार यसले स्कटल्यान्ड र शेटल्यान्डमा आर्थिक अवसर सिर्जना गर्नुका साथै डाटा सेन्टर र सम्बन्धित पूर्वाधारमा लगानी आकर्षित गर्न सक्छ। टेलिकम्स डटकमका अनुसार यस योजनाप्रति चासो बढाउन भोडाफोनको तर्फबाट डब्लूपीआई स्ट्राटेजीले गरेको अनुसन्धानले नयाँ केबल मार्गबाट १० वर्षमा बेलायतको अर्थतन्त्रमा ८ अर्ब २० करोड पाउन्डको योगदान पुग्न सक्ने अनुमान गरेको छ। बेलायत र युरोपबीचको अर्को कुनै केबल मार्गमा अवरोध आएमा नयाँ केबलले त्यस्तो अवरोधको प्रत्येक दिन बेलायतको ६६ लाख पाउन्डसम्मको आर्थिक गतिविधि सुरक्षित गर्न सक्ने अध्ययनले देखाएको छ। भोडाफोनथ्रीका व्यावसायिक निर्देशक निक ग्लिडनले भने, “विश्वसनीय अन्तर्राष्ट्रिय कनेक्टिभिटी बेलायतको रक्षाका लागि महत्त्वपूर्ण छ। यसले अवरोधको अवस्थामा हाम्रो प्रतिरोधात्मक क्षमता बढाउँछ र अर्थतन्त्र तथा सार्वजनिक सेवाहरू निर्भर रहने महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा बलियो बनाउँछ। उत्तर एट्लान्टिक क्षेत्रका पूर्वाधारको सुरक्षा गर्ने साझा प्रतिबद्धताका कारण नर्वे रणनीतिक रूपमा महत्त्वपूर्ण साझेदार हो।” टेलिजियोग्राफीको केबल नक्साअनुसार बेलायतबाट मुख्य युरोपेली भूभागसम्म पर्याप्त समुद्री केबलहरू छन्। तर तीमध्ये अधिकांश केबल दक्षिणपूर्वी क्षेत्र र पूर्वी एङ्ग्लियामा केन्द्रित छन्। धेरैजसो केबल बेल्जियम, नेदरल्यान्ड्स वा फ्रान्ससँग जोडिएका छन्। बेलायतको उत्तरी क्षेत्रमा भने अवस्था फरक छ। त्यहाँबाट नर्वेसम्म सीधा जोडिएका केबल केही मात्र छन्। ट्याम्पनेट नर्थ सन् १९९९ देखि सञ्चालनमा छ भने एनओ–यूके सन् २०२१ मा सञ्चालनमा आएको थियो। स्कटल्यान्डदेखि शेटल्यान्डसम्मको मार्गमा हाल एउटा मात्रै केबल प्रणाली सञ्चालनमा छ। सन् २००८ मा SHEFA-1 को स्थानमा SHEFA-2 सञ्चालनमा ल्याइएको थियो। भोडाफोनका अनुसार उक्त केबल प्रणालीमा सन् २०२२ र २०२५ मा अवरोध आएको थियो। ग्लिडनले भने, “नयाँ डिजिटल मार्गले हाम्रा दुई देशबीचको भौतिक सम्बन्ध बलियो बनाउनेछ, वैकल्पिक केबल मार्ग उपलब्ध गराउनेछ र उत्तर सागरका दुवै किनारमा रहेका महत्त्वपूर्ण पूर्वाधारका लागि सुरक्षित तथा विश्वसनीय कनेक्टिभिटीलाई सहयोग गर्नेछ। यसले डाटा सेन्टर र कृत्रिम बुद्धिमतामा लगानीको अवसर सिर्जना गर्नुका साथै दक्ष जनशक्तिका लागि रोजगारी र अन्य आर्थिक अवसर पनि उपलब्ध गराउन सक्छ।” उनले थपे, “यस अध्ययनले नयाँ मार्गको आर्थिक र रणनीतिक औचित्य स्थापित गर्न तथा यसको निर्माणका लागि आवश्यक साझेदारी पहिचान गर्न सहयोग गर्नेछ।” नर्वे र यसको छिमेकी स्विडेन पनि डाटा सेन्टर सेवा प्रदायकहरूको आकर्षणको केन्द्र बनिरहेका छन्। यी देशको चिसो हावापानी र पर्याप्त ऊर्जा स्रोत यसका प्रमुख कारण हुन्। विशेषगरी नर्वेमा जलविद्युत् ऊर्जाको पर्याप्त उपलब्धता छ। भोडाफोनले पनि यस पक्षलाई ध्यान दिएको छ। बेलायत र नर्वेबीचको सम्बन्धका दृष्टिले पनि यो सम्भाव्यता अध्ययन उपयुक्त समयमा हुन लागेको छ। सन् २०२४ को अन्त्यतिर यी दुई देशले रक्षा तथा सुरक्षा, ऊर्जा र हरित रूपान्तरणका क्षेत्रमा सहकार्य गर्ने रणनीतिक साझेदारीमा सहमति गरेका थिए। बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले भने, “हाम्रो देशलाई सुरक्षित राख्न समुद्रमुनि रहेका केबल सञ्जालको सुरक्षा गर्नु अत्यन्त महत्त्वपूर्ण छ। हाम्रा विरोधीहरूले डाटा ओसारपसार गर्ने, इन्टरनेट ट्राफिक र वित्तीय कारोबार सञ्चालन गर्न सहयोग गर्ने केबलसहित राष्ट्रिय महत्त्वका पूर्वाधारलाई बढ्दो रूपमा निशाना बनाइरहेका छन्।” उनले थपे, “यो निकै स्वागतयोग्य कदम हो। यसले कनेक्टिभिटी सुधार गर्नुका साथै विशेषगरी स्कटल्यान्डको अर्थतन्त्रलाई बलियो बनाउन सक्छ। साथै यसले बेलायतको राष्ट्रिय प्रतिरोधात्मक क्षमता बढाउने, सेवा अवरुद्ध हुन नदिने र सबैको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्नेछ।” अन्तर्राष्ट्रिय कनेक्टिभिटीको माग बढिरहेका बेला टेलिजियोग्राफीले सन् २०२६ देखि २०२९ सम्म प्रत्येक वर्ष ४ अर्ब डलर बराबरका समुद्री केबल प्रणाली सञ्चालनमा आउने अनुमान गरेको छ। यस्तो अवस्थामा बेलायत र नर्वेबीच नयाँ केबल प्रणाली निर्माण सम्भव छ भन्ने निष्कर्षमा यो सम्भाव्यता अध्ययन पुग्ने सम्भावना उच्च रहेको छ। The post नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऊर्जा लागत र उच्च मुद्रास्फीतिका कारण दूरसञ्चार सेवाको विश्वव्यापी आम्दानी बढेर १.६ ट्रिलियन डलर पुग्ने अनुमान
TechnologyJust now

ऊर्जा लागत र उच्च मुद्रास्फीतिका कारण दूरसञ्चार सेवाको विश्वव्यापी आम्दानी बढेर १.६ ट्रिलियन डलर पुग्ने अनुमान

आईडिसीको पछिल्लो अनुसन्धान अनुसार, सन् २०२६ मा दूरसञ्चार र ‘पे-टिभी’ (शुल्क तिरेर हेरिने टेलिभिजन) सेवाहरूमा हुने विश्वव्यापी खर्च १.५८५ ट्रिलियन अमेरिकी डलर पुग्नेछ, जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो। ऊर्जा लागतमा वृद्धि र उच्च मुद्रास्फीतिसँग तालमेल मिलाउन मूल्य वृद्धि हुने अपेक्षा गरिएको सन्दर्भमा, पछिल्लो पूर्वानुमान अघिल्लो अनुमानभन्दा ०.५ प्रतिशत बिन्दुले बढी छ। अमेरिका सबैभन्दा ठूलो क्षेत्रीय बजार रहनेछ, जसको राजस्व ...

टेक्नोलोजी खबर
अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप
TechnologyJust now

अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप

चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको एक चिनियाँ विश्वविद्यालयले अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा रहे पनि गत महिना एनभिडियाका शक्तिशाली एच२०० कृत्रिम बुद्धिमता चिप खरिद गरेको छ। खरिदसम्बन्धी अभिलेखले देखाएअनुसार यस घटनाले चीनको उन्नत प्रविधिमा पहुँच रोक्ने अमेरिकी प्रयासमा रहेका कमजोरी उजागर गरेको छ। एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङमाथि चीनमा एआई चिप बिक्रीसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउन गरेको पैरवीका ...

टेक्नोलोजी खबर
समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण
TechnologyJust now

समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

काठमाडौं । समुद्रको सतहबाट हजारौँ मिटर तल पुगेर खनिजयुक्त पदार्थ संकलन गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्वचालित रोबोटको सफल परीक्षण गरिएको छ । समुद्रको अत्यन्त गहिरो भागमा पुगेर आवश्यक सामग्री संकलन गरी पुनः सतहमा फर्कन सक्ने यो प्रविधिलाई समुद्री अनुसन्धान तथा खनिज संकलनको क्षेत्रमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ ।समाचार संस्था रोयटर्सका अनुसार समुद्री प्रविधिमा काम गर्दै आएको ...

आइसिटी समाचार
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने
TechnologyJust now

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भावित आक्रमणबाट सार्वजनिक सेवा अवरुद्ध हुन नदिन सुरक्षा संयन्त्रबीचको समन्वय, सूचना आदानप्रदान र प्रविधिमा लगानी बढाउने निर्णय गरिएको छ ।इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play