नारायणगढ।चितवनको माडीमा नयाँ जातको धान लगाएका किसान उत्पादन नहुँदा चिन्तित बनेका छन्। माडी नगरपालिका–५, ६ र ७ का विभिन्न क्षेत्रमा लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएपछि किसान मारमा परेका हुन्। माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए। यस वर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा राम्रोसँग बाला नै लागेन। खाँदा मिठो र मसिनो चामल दिने हल्ला सुनेपछि उनले उक्त जातको बीउ किनेर रोपेका थिए। रोपाइँपछि धानमा रोग देखिन थालेपछि उनले पटक पटक विषादी प्रयोग गरे। तर, धान काट्ने बेला खेतमा बोट र खोक्रा बाला मात्रै भेटिए। “नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो। धान काट्दा टटला मात्रै भए, दाना केही भएन”, भण्डारीले भने। उनले समस्या बीउमै भएको आशंका गरे। आफूले लगाएको धानसँगै आसपासका खेतमा सोही जातको धान लगाएका किसानले पनि उस्तै समस्या भोग्नुपरेको उनको भनाइ छ। रोपेपछि धानको बोट मर्ने, बाँकी रहेका बोटमा बाला सेतो हुने र दाना नलाग्ने समस्या देखिएको उनले बताए। परम्परागत रूपमा लगाउँदै आएका सावित्री र गोरखनाथ जातका धानमा यसअघि यस्तो समस्या नदेखिएको भण्डारीले बताए। उनले समस्याबारे कृषि कार्यालय र बीउ बिक्रेतालाई जानकारी गराइसकेका छन्। माडी नगरपालिका–६, कल्याणपुरकी सावित्री चापागाईंको समस्या पनि उस्तै छ। विदेशमा रहेका श्रीमानलाई स्वदेश फर्काएर आफ्नै माटोमा केही गर्ने उद्देश्यले उनले यस वर्ष आफ्नै खेतमा धानखेती गरेकी थिइन्। पहिले अरूलाई ठेक्कामा दिने गरेको जग्गामा आफै खेती गर्दा परिवारका लागि अन्न जुटाउने र आम्दानी गर्ने उनको अपेक्षा थियो। तर, धानमा दाना नलागेपछि उनको मेहनत खेर गएको छ। “धान रोपेपछि रातो भयो। पछि बोट मरेर बाला नै नलाग्ने र पोटा मात्रै आयो। हामी त बर्बाद भइयो। यस्तो समस्या त आजसम्म भएको थिएन। न धान भयो, न पराल”, चापागाईंले भनिन्। करिब १६ कठ्ठामा लगाएको धानबाट दुई–चार बोरा मात्रै उत्पादन भएको र त्यो पनि खानयोग्य नभएको उनले बताइन्। नयाँ जातको धान लगाउने भन्दै आसपासका धेरै किसानले बीउ किनेको र उनीहरूको खेतमा पनि उस्तै समस्या देखिएको उनले जानकारी दिइन्। नयाँ बीउ पर्याप्त नभएका ठाउँमा लगाइएको केही धानमा भने सामान्य उत्पादन भएको देखिएकाले बीउकै गुणस्तरमा समस्या भएको हुन सक्ने उनको आशंका छ। माडीका विभिन्न क्षेत्रमा ‘बायोसीड ३०१’ जातको धानमा बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी खोक्रो रहने समस्या देखिएको छ। किसानले अपेक्षित उत्पादन त परै जाओस्, न्यूनतम धान र पराल समेत लिन सकेका छैनन्। क्षति र समस्याको समाधान खोज्दै किसान दिनहुँजसो नगरपालिकाको कृषि शाखा धाउन बाध्य छन्। माडी नगरपालिका कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो। रोग नियन्त्रणका लागि कृषि शाखा र स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरिए पनि समस्या समाधान हुन सकेन। पछि धान पसाउने र बाला लाग्ने समयमा समेत दाना नलाग्ने समस्या देखियो। कृषि शाखा प्रमुख सुरेश सिँखडाका अनुसार किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइट जस्ता रोग व्यापक देखिएका थिए। “किसानको गुनासोपछि धानबारीमा स्थलगत अनुगमन गर्दा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि विभिन्न रोग व्यापक देखिए। पछि धान पाक्ने बेलामा दाना नलाग्ने समस्या देखियो। किसान अहिले चिन्तित हुनुहुन्छ”, सिँखडाले भने। स्थानीय एग्रोभेटबाट उक्त जातको करिब तीन हजार केजी बीउ बिक्री भएको र त्यसबाट करिब एक सय हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि शाखाले जनाएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणअनुसार उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ। तर, असार १५ देखि मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म पनि धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको हो। उक्त जातको धान लगाएका अधिकांश किसानको खेतमा समान प्रकृतिको समस्या देखिएकाले बीउमै कैफियत हुन सक्ने आशंका गरिएको सिँखडाले बताए। समस्याबारे कृषि शाखाले कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराइसकेको छ। प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेको छ। अहिले कृषि शाखाले किसानबाट क्षतिको विवरण संकलन गरिरहेको छ भने बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिँखडाले जानकारी दिए। अनुसन्धानपछि क्षतिको यकिन गरिने कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताए। किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त विवरणका आधारमा समस्याको अनुसन्धान तथा बीउ कम्पनीबारे बुझ्ने काम भइरहेको उनले जानकारी दिए। बीउ बिक्री गर्ने एग्रोभेटले कहाँबाट बीउ ल्याएको हो भन्ने विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइने कँडेलले बताए। किसानले बीउ खरिद गर्दा त्यसको स्रोत, गुणस्तर र उपयुक्तताबारे ध्यान दिनुपर्ने उनको भनाइ छ। एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक तथा सम्बन्धित कृषि कार्यालयसँग परामर्श गरेर खेती गर्न उनले सुझाव दिए। धानमा देखिएको समस्या रोगका कारण मात्रै हो वा बीउको गुणस्तरमा समेत कैफियत छ भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने उनले बताए। प्रभावित किसानको क्षतिको विवरण संकलन र बीउको गुणस्तर परीक्षणपछि मात्रै समस्याको वास्तविक कारण तथा क्षतिको परिमाण यकिन हुने कँडेलले जानकारी दिए।
नयाँ जातको धान नफलेपछि मारमा किसान

Read Complete Original Article
Published originally on नेपालन्युज






