Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/धरानमा फस्टाउदै सुकुटी व्यापार, सामाजिक सञ्जालले बढायो अनलाईन कारोबार

धरानमा फस्टाउदै सुकुटी व्यापार, सामाजिक सञ्जालले बढायो अनलाईन कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
धरानमा फस्टाउदै सुकुटी व्यापार, सामाजिक सञ्जालले बढायो अनलाईन कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ। गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ। धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थालेको ६ वर्ष भयो। उनले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको बताइन्। विशेषगरी बेलायत,अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उनको भनाइ छ। सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ। ‘दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्’, तामाङले भनिन्। तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिइन्। घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उनको अनुभव छ। अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उनले बताइन्। जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उनको भनाइ छ। सुकुटीको व्यापारबाट मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको तामाङले बताइन्। धरान–१५ कै बिनिता गिरीले पनि ९ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो रु एक हजार ६०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै, सुकुटीको अचार प्रतिकिलो रु एक हजार ६ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनले बताइन्। गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौँसम्म पुग्ने गरेको छ। हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उनले जानकारी दिइन्। सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग बढेसँगै अनलाइनबाट व्यापार गर्न सहज भएको उनको अनुभव छ। घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताइन्। यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उनको भनाइ छ। निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताइन्। अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उनले भनिन्, ‘सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएको छु सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ।’ धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्। कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन्। सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठुलो सहयोग पुगेको छ। एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन्। रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताजा खबरJust now

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द

ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

रातोपाटी
असोजमा कास्कीमा ५९ सवारी दुर्घटना :  ११ जनाको मृत्यु
ताजा खबरJust now

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

रातोपाटी
चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते
ताजा खबरJust now

चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते

• दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्। • भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् र उद्धार तथा राहत कार्य जारी छ। • ३०० भन्दा बढी प्रहरी र ३४७ जनाको उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। ...

नेपालबहस
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
ताजा खबरJust now

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play