धनगढी । धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकास गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको कार्यक्रमको शनिबार धनगढी रंगशालामा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नुभयो । उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमाल, नगर उपप्रमुख, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी खेलाडीहरूले कार्यक्रमलाई खेल उत्सवका रूपमा लिएका थिए । मुख्यमन्त्रीले कार्यक्रमको उद्घाटन प्रशिक्षक तथा खेलाडीलाई फुटबल दिएर गरिएको थियो । धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच भएको सम्झौताअनुसार नगरका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा कार्यक्रम सञ्चालन गरिनेछ । सम्झौतापत्रमा नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्क खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान र वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदानमा प्रशिक्षण सञ्चालन हुनेछ । त्यस्तै, वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालय, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालय, वडा नम्बर १२ को मनकामना युवा क्लब, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानमा पनि कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी वडा नम्बर १४ को टाउन प्लानिङ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको खेल मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम तथा वडा नम्बर १९ को आई गाउँको खेल मैदानलाई कार्यक्रममा समेटिएको छ । धनगढी उपमहानगरपालिकाले विगतदेखि नै ग्रासरुट खेलकुद विकासलाई प्राथमिकता दिँदै आएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा चार स्थान र २०८१/८२ मा पनि चार स्थानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै, आर्थिक वर्ष २०८२/८३ मा १२ स्थानमा कार्यक्रम विस्तार गरिएको थियो । उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा खाली रहेका सार्वजनिक जग्गाको उपयोग गर्दै हालसम्म २१ स्थानमा खेल मैदान निर्माण गरेको जनाएको छ । स्थानीयस्तरमै फुटबल खेलको जग बलियो बनाउने, बालबालिका तथा युवालाई प्रारम्भिक चरणदेखि नै प्रशिक्षणको अवसर प्रदान गर्ने र विद्यालय तथा सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिको केन्द्र बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






