काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार काठमाडौं, कास्की, सुनसरी, कञ्चनपुर, बर्दिया, चितवन र कैलालीलगायत जिल्लाबाट उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ बौथली चोकबाट ६७४ ट्याब्लेट ट्रामाडोलसहित २८ वर्षीय रबिन तामाङ पक्राउ परेका छन् । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-१४ बाट १५ ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित झापाका ३६ वर्षीय विर्खराज योङहाङ र धादिङका ३४ वर्षीय सानोबाबु तुलाधर पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुनर्वासबाट २ ग्राम ५७५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय सजिव राई पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका-४ हलगडाबाट २ ग्राम ५० मिलिग्राम उक्त पदार्थसहित २० वर्षीय अविनाश रौनियार साह पक्राउ परेका छन् । त्यसैगरी बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट ट्रामाडोल १०० ट्याब्लेट र स्पासपेन ११० ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट ५ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित ३२ वर्षीय दीपक भाट पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ टेडियाबाट ६ ग्राम ३३० मिलिग्राम उक्त पदार्थसहित कैलालीका २३ वर्षीय जीवन पार्की पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका-५ स्थित रोयल फास्टफुड खाजा घरबाट २ ग्राम १३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । त्यस्तै, बढैयाताल गाउँपालिका-७ बाट ६६० मिलिग्राम उक्त पदार्थसहित तीन जना तथा बढैयाताल-२ फुटाहाबाट ३ ग्राम १८० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका-९ बाट ४८ ट्याब्लेट नाइट्राजेपाम र २४० ट्याब्लेट स्पास्मोसहित २४ वर्षीय आशिष गुरुङ पक्राउ परेका छन् । यसैगरी कैलालीको भजनी नगरपालिका-५ बक्तुरीघाटबाट १८ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २० वर्षीय सरोज चौधरी पक्राउ परेका छन् । जानकी गाउँपालिका-६ बाट ७३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २४ वर्षीय भुवन तिमिल्सिना पनि पक्राउ परेका छन् । प्रहरीले विभिन्न स्थानमा खटिएको टोलीले शंकास्पद व्यक्तिको जाँच तथा खानतलासी गर्ने क्रममा लागूऔषध बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २२ जना पक्राउ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






