काठमाडौं। रुपन्देही प्रहरीले तिहारको अवसरमा देउसीभैलो कार्यक्रमको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। नेपाली मौलिक कला, संस्कृति र सामाजिक नैतिकताको प्रतिकूल हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य देखाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ स्थित कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सल्यानकी २२ वर्षीया पुजा ठकुरी, दाङकी २३ वर्षीया सपना चौधरी र गुल्मीकी २४ वर्षीया बिपना मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा तीन युवती पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






