Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

देउडामा छेडेदह संरक्षणको सन्देश

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउडामा छेडेदह संरक्षणको सन्देश
Photo / Coverage: नेपालन्युज

बाजुरा। ‘छेडेदह नाम गयो, पानी नाउलो सुकी गयो, छेडेदह ताल वृक्षरोपण गरौं ।’ ‘माथि छ मालिका, तल पर्छ नाटेश्वरी, वडा गाउँपालिका पहिरोको रोकथाम गरौं।’ उक्त हरफ शब्दमा मात्रै सीमित छैनन्। देउडाको भाकामार्फत स्थानीय मौलिक संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सन्देश पनि बोकेका छन्। चारैतिर हरियाली र मनोरम प्राकृतिक दृश्यले घेरिएको नीलो पानीको सुन्दर छेडेदह तालको आँगनमा जब देउडाका भाका गुञ्जिए, त्यहाँको वातावरण थप मनमोहक बन्यो। कसैका स्वरमा मौलिक संस्कृतिको मिठास थियो भने कसैका शब्दमा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको सन्देश। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय गन्तव्य छेडेदह तालमा छेडेदह कला साहित्य प्रतिष्ठानले कात्तिक १८ र १९ गते सांस्कृतिक तथा देउडा उत्सव ‘रैबार छेडेदह’को दोस्रो संस्करण आयोजना गरेको छ। प्राकृतिक सौन्दर्यको बीचमा आयोजित उत्सवले स्थानीय मौलिकता र पर्यावरण संरक्षणलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ। प्रतिष्ठानका अध्यक्ष गणेश बुढाका अनुसार बडीमालिका, खप्तड, बुढीनन्दा, रानीसैन र छेडेदह ताललगायतका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले यस्ता गतिविधिले स्थानीय सम्पदाको पहिचान विस्तार गर्न सहयोग पुग्ने बताए। कार्यक्रममा देउडा खेलसँगै साहित्यका विभिन्न विधामा सक्रिय कलाकारले आफ्ना सिर्जना तथा कला प्रस्तुत गरेका थिए। प्रतिष्ठानका सल्लाहकार कृष्ण ओलीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न सकारात्मक गतिविधि सञ्चालन गर्दै आएको बताए। कार्यक्रममा सहभागी वक्ताहरूले छेडेदह ताल पहिरोको जोखिममा रहेकाले यसको संरक्षण र व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। तालको संरक्षण र प्रवर्द्धनमा समयमै ध्यान नदिए प्राकृतिक सम्पदासँगै यस क्षेत्रको पहिचान समेत संकटमा पर्न सक्ने उनीहरूको भनाइ थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथले गाउँपालिकाकै नामकरणसँग जोडिएको छेडेदह तालको संरक्षण र मौलिक संस्कृतिको जगेर्ना गर्न नसकिए यहाँको पहिचान अप्ठेरामा पर्ने बताएकी छन्। उनले प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन्। गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले भने, “छेडेदह ताल हाम्रो पहिचान हो। बडीमालिका जाने पर्यटक यही तालको सौन्दर्य देखेर रमाउँछन्, तर दुःखद अहिले ताल पहिरोको जोखिममा छ”, उनले भने, “अब हामी आपसी विवाद र राजनीतिक आस्थाभन्दा माथि उठेर साझा योजना र सहमतिका साथ यसको संरक्षणमा अघि बढ्नु पर्छ।” स्थानीय वेशभूषा, भाषा र परम्परासहित प्रस्तुत गरिएको देउडाले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोड्ने सन्देश दिएको छ।छेडेदह ताल बाजुराको महत्वपूर्ण प्राकृतिक तथा पर्यटकीय सम्पदा हो । तालको स्वच्छ पानी, वरिपरिको हरियाली र शान्त प्राकृतिक वातावरणले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्छ। तर, यसको प्राकृतिक सुन्दरता र अस्तित्व जोगाउन संरक्षणका ठोस प्रयास आवश्यक छन्। विशेष गरी पहिरो नियन्त्रण, ताल आसपासको फोहोर व्यवस्थापन तथा व्यवस्थित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ। गाउँपालिकाले तालको संरक्षण र प्रवद्र्धनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न सके यसको पर्यटकीय सम्भावना थप विस्तार हुन सक्छ। छेडेदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्राकृतिक सुन्दरता पर्याप्त हुँदैन। यहाँको मौलिक संस्कृति, स्थानीय जीवनशैली, भाषा, भेषभूषा र परम्परालाई पर्यटनसँग जोड्न आवश्यक छ। देउडा, स्थानीय कला र प्राकृतिक सम्पदाको एकीकृत प्रवर्द्धन गर्न सके यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना खुल्न सक्छ। सांस्कृतिक उत्सवले पर्यटन विकास पर्यटकको आगमन र भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नहुने सन्देश समेत दिएको छ। स्थानीय कला, संस्कृति, परम्परा र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासलाई अघि बढाउन सके मात्रै यसको वास्तविक सम्भावना उजागर हुन सक्छ। छेडेदह तालको किनारमा गुञ्जिएको देउडाको भाकाले मनोरञ्जन मात्रै दिएको छैन, प्रकृति र संस्कृतिप्रतिको सामूहिक जिम्मेवारी पनि सम्झाएको छ। प्रकृति साझा सम्पत्ति हो भने संस्कृति हाम्रो पहिचान हो। यी दुवैको संरक्षण गर्न सके मात्रै भावी पुस्तालाई सुन्दर प्राकृतिक सम्पदा र समृद्ध सांस्कृतिक विरासत हस्तान्तरण गर्न सकिन्छ। यस अर्थमा छेडेदहको आँगनमा गुञ्जिएको देउडा कला र संस्कृतिको उत्सवसँगै प्राकृतिक सम्पदा जोगाउने सामूहिक प्रतिबद्धताको आवाज बनेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्नेसहित दुईजना पक्राउ
Latest NewsJust now

प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्नेसहित दुईजना पक्राउ

काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले... ...

रातोपाटी
मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा, पाँच जनाविरुद्ध मुद्दा
Latest NewsJust now

मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा, पाँच जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष शुकवीर तामाङ र पालिकाको एमआइएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play