काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष शुकवीर तामाङ र पालिकाको एमआइएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिृकत दर्जीविरुद्ध रु नौ लाख ५३ हजार ६००, गुप्ताविरुद्ध रु ११ लाख ६७ हजार २००, चौधरीविरुद्ध रु सात लाख ९४ हजार ४००, वडाध्यक्ष तामाङ र जिआइएस अपरेटर विकविरुद्ध जनही रु ३१ लाख ६७ हजार २०० र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरेको छ । निजहरुले विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरेको देखाइ रु ३१ लाख ६७ हजार २०० हिनामिना गरेको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा, पाँच जनाविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






