Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको सिमेन्ट निर्यात

दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको सिमेन्ट निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको सिमेन्ट निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको मात्रै सिमेन्ट निर्यात भएको छ । जुन गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा १७ करोड १० लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षको साउन र भदौमा ४५ करोड १३ लाख ३६ हजारको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । तयारी सिमेन्ट निर्यात घटे पनि क्लिंकर निर्यात भने बढेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन र भदौमा १४ करोड ५९ लाख ५० हजार रुपैयाँको क्लिंकर निर्यात भएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ९७ लाख ८ हजार रुपैयाँको मात्रै क्लिंकर निर्यात भएको थियो । भारतमा निर्यातका लागि आवश्यक भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा सिमेन्ट निर्यात घटेको हुन सक्ने सरोकारवाला बताउँछन् । बीआईएस नवीकरण ढिलाइ हुँदा पनि निर्यात घटेको नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले बताए । बीआईएस प्रमाणपत्र नवीकरणमा हुने ढिलाइका कारण अर्डर भइसकेको सिमेन्टसमेत निर्यात गर्न नसकिने उनको भनाइ छ । ‘भारतमा सिमेन्ट निर्यात गर्न हामीले त्यहाँको बीआईएस चिह्न लिनुपर्छ । पहिला तीन वर्षको दिन्थ्यो, अहिले एक वर्षको मात्र दिन्छ । एक वर्षपछि नवीकरण जाँदा ढिलो गरिदिन्छ । दुई–तीन महिना लाग्छ । त्यसले गर्दा निर्यात घट्छ,’ अग्रवालले भने । आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट २ अर्ब ३ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको ९ लाख २३ हजार ३ सय ७६ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २१ करोड ९४ लाख २९ हजार रुपैयाँ बराबरको ३ लाख ५६ हजार ४ सय ७३ टन सिमेन्ट निर्यात भएको थियो । उक्त तथ्यांक अनुसार एक वर्षमा सिमेन्ट निर्यातको परिमाण ५ लाख ६६ हजार ९ सय ३ टनले बढेको छ । तर निर्यातबाट प्राप्त रकम भने अघिल्लो वर्षको तुलनामा १८ करोड ३३ लाख रुपैयाँले घटेको छ । सिमेन्टको निर्यात परिमाण उल्लेख्य बढे पनि त्यसबाट हुने आम्दानी घटेको छ । अघिल्लो वर्षको तुलनामा धेरै परिमाणमा सिमेन्ट निर्यात भए पनि कम मूल्यमा बिक्री हुँदा कुल निर्यात आम्दानी घटेको छ । ‘सिमेन्टमा मुख्यतया दुई किसिमका उत्पादन ओपीसी र पीपीसी हुन्छन् । पीपीसी सिमेन्टको मूल्य ओपीसीको तुलनामा कम हुन्छ । त्यसैले पीपीसीको हिस्सा बढेकाले निर्यात परिमाण बढे पनि मूल्य घटेको देखिन्छ,’ उनले भने, ‘हाम्रो सिमेन्टको गुणस्तरमा केही समस्या छैन । बीआईएस समयमा नवीकरण नहुँदा अर्डरअनुसार सामान दिन सकेका छैनौं ।’ बीआईएस प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ नै निर्यातमा समस्या बनिरहेको अग्रवालको भनाइ छ । बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा अर्डर भइसकेको सामानसमेत निर्यात गर्न नसक्ने अवस्था आउने उनले बताए । ‘मैले भारतमा सिमेन्ट निर्यात गरिरहेको छु । तर बीआईएसको समय सकिएपछि अर्डर भएको पनि निर्यात गर्न पाउँदैनौं, त्यो नवीकरण भएपछि मात्रै सकिन्छ,’ उनले भने । नेपाल र भारतबीच गुणस्तरसम्बन्धी मापदण्डलाई समकक्षी (इक्विभ्यालेन्ट) मान्यता दिन सके दीर्घकालीन रूपमै उक्त समस्या समाधान हुने अग्रवालको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट १ अर्ब ९७ करोड ८ लाख ३३ हजार रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७८ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा सिमेन्ट निर्यातको परिमाण घटेर ३ लाख ५६ हजार ४ सय ७३ टनमा झरे पनि आम्दानी भने बढेर २ अर्ब २१ करोड ९४ लाख रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७९/८० मा ६ लाख ७ हजार ७३ टन सिमेन्ट निर्यात हुँदा ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ आम्दानी भएको थियो । २०७८/७९ मा १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात हुँदा १ करोड २९ लाख ३ हजार रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने ११ टन मात्रै सिमेन्ट निर्यात भएको थियो, जसबाट ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । सिमेन्टसँगै पहिला क्लिंकर आयात गर्ने गरिए पनि अहिले निर्यात गर्न थालेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७८ लाख २६ हजार रुपैयाँ बराबरको ५ लाख ६१ हजार १ सय २६ टन क्लिंकर निर्यात भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ९० हजार २ सय ७२ टन क्लिंकर निर्यात भएको थियो । क्लिंकर निर्यात ७० हजार ८ सय ५४ टन अर्थात् करिब १४ प्रतिशतले बढेको छ । निर्यात रकम १० करोड ४ लाख ४८ हजार रुपैयाँले बढेको विभागको तथ्यांक छ । मुलुकका खानी एवं सिमेन्ट उद्योगहरूले नै क्लिंकर उत्पादन गर्न थालेका छन् । ‘उद्योगहरूले क्लिंकरबाट आफ्नै सिमेन्ट बनाउँछन् । बढी भएको क्लिंकर ग्राइन्डिङ युनिटहरूलाई बिक्री गर्छन् । केही मात्रामा भारततर्फ निर्यात पनि गर्ने गरेका छन्,’ अग्रवालले भने । नेपालबाट उत्पादित सिमेन्ट र क्लिंकर मुख्यतया सीमावर्ती भारतीय क्षेत्र यूपी र बिहारमा निर्यात हुने गर्छ । नेपालबाट सामान बोकेर आएका भारतीय ट्रकहरूले नेपालमा खाली गरेपछि सोही ट्रकमा सिमेन्ट लोड गरेर फर्किन नपाउने भन्सार नियमले पनि समस्या पारेको अग्रवाल बताउँछन् । ‘ट्रकले ल्याएको सामान खाली गरेर फेरि भारत फर्केर भन्सार पास गरी पुनः लोडका लागि आउनुपर्छ, यो झन्झटिलो नियमका कारण लागत बढ्ने र समय लाग्छ,’ उनले भने । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तमलगायत सिमेन्ट भारत निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । त्यसबेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था थियो । तर सिमेन्ट निर्यातले निरन्तरता पाउन सकेको थिएन । अहिले नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको छ । सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । त्यसमध्ये करिब १५ भन्दा बढी उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ । सरकारले दिने अनुदान कटौती र बीआईएस नवीकरणमा ढिलाइ र भारतजस्तो ठूलो मूलुकमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदा सिमेन्ट निर्यात घटेको संघका पूर्वअध्यक्ष ध्रुव थापा बताउँछन् । ईकान्तिपुर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमा विवाद, कमल थापाले मागे सरकारको जवाफ
ताजा खबरJust now

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमा विवाद, कमल थापाले मागे सरकारको जवाफ

• अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादलाई भारतविरोधका रूपमा बुझ्ने धारणा समाप्त भएको बताएका छन्, जसले राजनीतिक बहसलाई जन्म दिएको छ। • राप्रपा नेता कमल थापाले वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा स्पष्ट गर्न माग गरेका छन्। • वाग्लेको भनाइले नेपाल–भारत सम्बन्ध र राष्ट्रिय हितको व्याख्याबारे चर्को बहसलाई पुनः सक्रिय बनाएको छ। ...

नेपालबहस
काठमाडौंलाई दौडिएर मात्र होइन, महशुस गरेर अपनत्व लिनुपर्छ : कार्यवाहक प्रमुख डंगोल
ताजा खबरJust now

काठमाडौंलाई दौडिएर मात्र होइन, महशुस गरेर अपनत्व लिनुपर्छ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महशुस गरेर अपनत्व लिनुपर्ने बताएनुभएको छ । महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उहाँले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको स्पष्ट पार्नुभएको हो । काठमाडौं महानगरपालिकाद्वारा वसन्तपुर क्षेत्रबाट ...

हिमालय टाइम्स
आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
ताजा खबरJust now

आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन आज नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम चलिरहेको छ । टीका थाप्न मान्यजनका घर जानेहरूको चहलपहलका कारण काठमाडौंका सडक तथा बजारमा मानिसको आवागमन बढेको छ । विजयादशमीका दिन कात्तिक ४ गते देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम आजसम्म जारी रहेको हो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play