Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दिल्लीबाट नयाँ दिशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्लीबाट नयाँ दिशा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। कुनै पनि दुई देशबीचको सम्बन्ध कति गहिरो छ भन्ने कुरा उनीहरूका नेताले एकअर्काको प्रशंसा गर्ने शब्दबाट मात्र मापन हुँदैन। उनीहरूले निर्माण गर्ने साझा संस्थागत संरचना, आर्थिक सहकार्य र नागरिकले प्राप्त गर्ने अवसरले सम्बन्धको वास्तविक गहिराइ देखाउँछ। राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, सरकार फेरिन्छन् र कूटनीतिक प्राथमिकता पनि समयअनुसार बदलिन्छन्। तर दुई देशबीच बनेका संस्थागत सम्बन्ध, प्राविधिक सहकार्य र आर्थिक साझेदारीले भने लामो समयसम्म प्रभाव पार्छन्। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई यही दृष्टिकोणबाट हेर्नुपर्ने देखिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सार्वजनिक भएका आठवटा समझदारी, दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोगको घोषणा, विभिन्न पूर्वाधार आयोजनाको उद्घाटन तथा शिलान्यास र दीर्घकालीन साझेदारीको अवधारणाले दुई देशबीचको सम्बन्धलाई नयाँ क्षेत्रमा विस्तार गर्ने संकेत गरेका छन्। यो भ्रमणको महत्त्व दुई प्रधानमन्त्रीबीच भएको भेटवार्ता वा संयुक्त पत्रकार सम्मेलनमा व्यक्त सद्भावका शब्दमा मात्र सीमित छैन। फरेन्सिक विज्ञानदेखि प्रहरी प्रशिक्षणसम्म, सरकारी कर्मचारीको क्षमता विकासदेखि स्याटेलाइट सञ्चारसम्म, आयुर्वेददेखि आधुनिक स्वास्थ्य सेवासम्म र सहरी विकासदेखि पशुपालन तथा मत्स्यपालनसम्मका विषयमा सहकार्य गर्ने समझदारीले नेपाल–भारत सम्बन्धको दायरा फराकिलो बनाएको छ। यसअघि नेपाल–भारत सम्बन्धको चर्चा गर्दा मुख्यतः व्यापार, पारवहन, सीमा, जलविद्युत्, सडक, रेलमार्ग र राजनीतिक सम्बन्धका विषय बढी अगाडि आउने गर्थे। तर अहिले भएका समझदारीले सरकारी संस्थाको क्षमता, अनुसन्धान, प्रविधि, सार्वजनिक सुरक्षा, स्वास्थ्य र उत्पादन प्रणालीलाई समेत द्विपक्षीय सहकार्यको एजेन्डामा समेटेका छन्। विशेषगरी नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबीचको सहकार्य, राष्ट्रिय प्रहरी एकेडेमी र भारतको राष्ट्रिय रक्षा विश्वविद्यालयबीचको समझदारी तथा नेपाली सरकारी अधिकारीलाई भारतीय संस्थाबाट तालिम दिने व्यवस्थाले राज्य सञ्चालनको क्षमतासँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यस्तै, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार सञ्जाल विकास गर्ने समझदारीले प्रविधिको क्षेत्रमा नयाँ सम्भावना खोलेको छ। यसको प्रभाव दूरदराजका बस्तीमा सञ्चार सुविधा विस्तारदेखि विपद्का समयमा सूचना आदानप्रदानसम्म पर्न सक्छ। प्रधानमन्त्री मोदीले नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गर्नु आर्थिक दृष्टिले भ्रमणको ठूलो उपलब्धि बनेको छ। यो सहयोगले बाढीपछिको पुनर्निर्माणसँगै दीर्घकालीन विकासका आयोजनामा लगानी परिचालन गर्ने सम्भावना प्रस्तुत गरेको छ। मोदीले संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्। नेपालले पाएको ऐतिहासिक जनादेशलाई नयाँ पुस्ताको आकांक्षाको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै उनले नेपालको समृद्धि र विकास यात्रामा भारतको साथ रहने बताएका छन्। प्रधानमन्त्री शाहले पनि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। यसले उच्चस्तरीय राजनीतिक सम्पर्कलाई निरन्तरता दिने र दिल्लीमा भएका सहमतिलाई कार्यान्वयनको तहमा लैजाने अवसर सिर्जना गरेको छ। तर यी सबै उपलब्धिको वास्तविक अर्थ कार्यान्वयनसँग जोडिएको छ। समझदारीमा हस्ताक्षर हुँदैमा अनुसन्धानको गुणस्तर स्वतः बढ्दैन, तालिम हुँदैमा प्रहरीको अनुसन्धान क्षमता परिवर्तन हुँदैन र स्याटेलाइट प्रयोगको सहमति हुँदैमा दुर्गम गाउँमा सञ्चार सुविधा पुगिहाल्दैन। आर्थिक सहयोग घोषणा हुँदैमा विकासका आयोजना सम्पन्न हुँदैनन्। त्यसका लागि दुवै देशका सरकारी निकायबीच नियमित समन्वय, स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, दक्ष जनशक्ति र परिणाम मापन गर्ने संयन्त्र आवश्यक हुन्छ। प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारत सम्बन्धलाई परम्परागत कूटनीतिक सम्पर्कबाट संस्थागत सहकार्यको विस्तृत संरचनातर्फ लैजाने अवसर दिएको छ। अब नेपालले यसलाई कागजी समझदारीको सूचीमा सीमित नराखी राज्यको क्षमता र नागरिकको जीवनस्तर सुधार्ने माध्यम बनाउनुपर्नेछ। आठ समझदारी, सहकार्यका नयाँ क्षेत्र प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि आठवटा विषयमा समझदारी भएको छ। यी समझदारीको विशेषता के हो भने तिनले नेपाल–भारत सम्बन्धका परम्परागत क्षेत्रभन्दा बाहिर गएर राज्यका विभिन्न निकाय, अनुसन्धान संस्था, विश्वविद्यालय र प्राविधिक क्षेत्रलाई जोड्ने प्रयास गरेका छन्। पहिलो समझदारी फरेन्सिक विज्ञानमा सहकार्यसम्बन्धी छ। भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन, अनुसन्धान तथा प्राविधिक क्षमता विकासमा सहकार्य गर्ने व्यवस्था गरिएको छ। अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको महत्त्व विश्वभर बढिरहेको छ। परम्परागत रूपमा बयान, प्रत्यक्षदर्शी, घटनास्थलको निरीक्षण र अनुसन्धान अधिकृतको निष्कर्षमा आधारित हुने अनुसन्धान प्रणाली अहिले डीएनए परीक्षण, डिजिटल फरेन्सिक, साइबर प्रमाण, औँठाछाप, ब्यालिस्टिक परीक्षण र वैज्ञानिक प्रयोगशालाको नतिजामा निर्भर हुन थालेको छ। नेपालमा पनि संगठित अपराध, वित्तीय अपराध, साइबर अपराध, मानव बेचबिखन, लागुऔषध कारोबार र प्रविधिमा आधारित ठगीका घटना जटिल बन्दै गएका छन्। यस्तो अवस्थामा अनुसन्धानका लागि आवश्यक वैज्ञानिक क्षमता विकास गर्नु प्रहरी संगठनको महत्त्वपूर्ण आवश्यकता हो। दोस्रो समझदारी प्रहरी प्रशिक्षणसम्बन्धी छ। भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच तालिम, अनुसन्धान तथा संस्थागत अनुभव आदानप्रदान गर्ने सहमति भएको छ। प्रहरी संगठनको प्रभावकारिता केवल जनशक्तिको संख्या र उपकरणमा निर्भर हुँदैन। नेतृत्व विकास, अनुसन्धान पद्धति, भीड व्यवस्थापन, मानवअधिकारको सम्मान, साइबर सुरक्षा र आधुनिक अपराध नियन्त्रणका विषयमा प्रहरीलाई नियमित प्रशिक्षण आवश्यक हुन्छ। तेस्रो समझदारी सरकारी प्रशासनिक अधिकारीको क्षमता विकाससँग सम्बन्धित छ। भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच सहकार्य गरेर नेपाली सरकारी अधिकारीलाई तालिम दिने व्यवस्था गरिएको छ। संघीय शासन प्रणालीमा नेपालको प्रशासनिक संरचना विस्तार भएको छ। संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाह गर्ने कर्मचारीको दक्षता, नीतिगत क्षमता र व्यवस्थापकीय ज्ञान राज्यको कार्यसम्पादनसँग प्रत्यक्ष जोडिएको छ। चौथो समझदारी आयुर्वेद तथा परम्परागत चिकित्सासम्बन्धी छ। नेपाल र भारतबीच प्राचीन कालदेखि आयुर्वेद, योग, जडीबुटी र परम्परागत उपचार पद्धतिमा समान सांस्कृतिक आधार रहँदै आएको छ। यसलाई अनुसन्धान, औषधि विकास, गुणस्तर परीक्षण र ज्ञान आदानप्रदानसँग जोड्न सकिने सम्भावना छ। पाँचौँ समझदारी स्याटेलाइट सञ्चारसँग सम्बन्धित छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार सञ्जाल निर्माण गर्ने विषयमा समझदारी भएको छ। छैटौँ समझदारी दिगो सहरी विकासमा केन्द्रित छ। तीव्र सहरीकरण, अव्यवस्थित बस्ती, फोहोर व्यवस्थापन, खानेपानी, ढल निकास, सार्वजनिक यातायात र वातावरणीय चुनौती नेपालका प्रमुख सहरी समस्या हुन्। भारतसँगको प्राविधिक सहकार्यले योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्‍याउन सक्छ। सातौँ समझदारी स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा छ। स्वास्थ्य सेवा विस्तार, प्राविधिक ज्ञान, उपचार प्रणाली, स्वास्थ्य जनशक्ति र संस्थागत क्षमता विकासका क्षेत्रमा दुई देशले सहकार्य गर्नेछन्। आठौँ समझदारी पशुपालन तथा मत्स्यपालनको विकाससँग सम्बन्धित छ। नेपालमा कृषि तथा पशुपालन ठूलो जनसंख्याको जीविकोपार्जनसँग जोडिएको क्षेत्र हो। उत्पादन, पशु स्वास्थ्य, नश्ल सुधार, माछापालन, प्रविधि हस्तान्तरण र बजार पहुँचमा सहकार्य गर्न सकेमा ग्रामीण अर्थतन्त्रलाई प्रत्यक्ष लाभ पुग्न सक्छ। यी आठ समझदारीलाई अलग-अलग विषयका सामान्य प्रशासनिक सहमति भनेर मात्र बुझ्नु हुँदैन। तिनले नेपालको राज्य संयन्त्रका विभिन्न तहलाई भारतीय प्राविधिक तथा शैक्षिक संस्थासँग जोड्ने आधार तयार गरेका छन्। तर प्रत्येक समझदारीको कार्यान्वयनका लागि जिम्मेवार निकाय, बजेट, समयसीमा र उपलब्धि मापन गर्ने सूचक आवश्यक हुन्छ। त्यसो हुन नसके विगतमा भएका कतिपय द्विपक्षीय सहमतिजस्तै यी पनि औपचारिक दस्तावेजमा सीमित हुने जोखिम रहन्छ। अपराध अनुसन्धानमा प्रविधिको प्रवेश आठ समझदारीमध्ये फरेन्सिक विज्ञानमा भएको सहकार्य नेपालका लागि विशेष महत्त्वको छ। अपराध अनुसन्धानको आधुनिक स्वरूप बुझ्न यसलाई छुट्टै हेर्न आवश्यक छ। अपराधको प्रकृति बदलिँदै गएको छ। बैंकिङ कारोबार डिजिटल हुँदैछ। व्यक्तिगत विवरण चोरी, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुने अपराध, डिजिटल वित्तीय कारोबारमा अनियमितता र अन्तरदेशीय साइबर अपराध बढिरहेका छन्। यस्ता घटनामा अपराधी पहिचान गर्न परम्परागत अनुसन्धान विधि मात्र पर्याप्त हुँदैन। अपराध भएको स्थानमा भेटिएका भौतिक प्रमाण, डिजिटल उपकरण, मोबाइल फोन, कम्प्युटर, सीसीटीभी दृश्य, जैविक नमुना र सञ्चार अभिलेखलाई वैज्ञानिक तरिकाले परीक्षण गर्न सक्नुपर्छ। प्रमाणको संकलनदेखि सुरक्षित भण्डारण, प्रयोगशाला परीक्षण र अदालतमा प्रस्तुत गर्नेसम्मको प्रक्रिया व्यवस्थित हुन आवश्यक हुन्छ। फरेन्सिक विज्ञानले अनुसन्धानलाई अनुमानबाट प्रमाणमा आधारित बनाउँछ। अपराध अनुसन्धानमा यसको प्रयोगले निर्दोष व्यक्तिलाई झुटो आरोपबाट जोगाउन र वास्तविक अपराधी पहिचान गर्न सहयोग गर्छ। भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय यस क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन, अनुसन्धान र प्राविधिक तालिम दिने संस्थाका रूपमा परिचित छ। उक्त संस्थासँग नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले सहकार्य गर्दा नेपाली अनुसन्धानकर्ताले आधुनिक प्रविधि र अनुसन्धान विधिबारे सिक्ने अवसर प्राप्त गर्न सक्छन्। नेपालमा फरेन्सिक अनुसन्धानको आवश्यकता पछिल्ला वर्षमा झन् बढेको छ। वित्तीय अपराध, नक्कली कागजात, मानव बेचबिखन, लागुऔषध कारोबार, हत्या, यौनजन्य अपराध र साइबर अपराधमा वैज्ञानिक प्रमाणको भूमिका महत्त्वपूर्ण हुन्छ। विशेषगरी डिजिटल फरेन्सिक अहिले प्रहरी अनुसन्धानको अनिवार्य हिस्सा बन्दै गएको छ। सामाजिक सञ्जालमा गरिएका गतिविधि, इमेल, मोबाइल एप, डिजिटल भुक्तानी र कम्प्युटर प्रणालीमा रहेका अभिलेखले अनुसन्धानलाई निर्णायक बनाउन सक्छन्। तर डिजिटल प्रमाण संकलन र परीक्षणमा प्राविधिक सीपसँगै कानुनी प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ। प्रमाणको विश्वसनीयता कायम राख्न नसकिए अदालतमा त्यसको उपयोगिता कमजोर हुन सक्छ। त्यसैले प्रहरी अनुसन्धानमा फरेन्सिक प्रविधि प्रयोग गर्दा प्रमाणको अखण्डता, गोपनीयता र नागरिकको मौलिक अधिकारलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। यस सहकार्यबाट नेपालले केवल तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने होइन, आफ्नै अनुसन्धान प्रयोगशाला र संस्थागत क्षमता विकास गर्ने दिशामा काम गर्न सक्छ। भारतबाट प्राप्त ज्ञानलाई नेपालको आवश्यकता र कानुनी संरचनाअनुसार उपयोग गर्न सकेमा दीर्घकालीन लाभ हुनेछ। अपराध अनुसन्धानमा वैज्ञानिक पद्धति विस्तार हुँदा प्रहरीप्रतिको सार्वजनिक विश्वास बढाउन पनि सहयोग पुग्न सक्छ। अनुसन्धानको निष्कर्ष प्रमाणमा आधारित हुने र अभियोजन प्रक्रिया विश्वसनीय बन्ने हो भने न्याय प्रणालीको प्रभावकारितामा सकारात्मक प्रभाव पर्छ। यस अर्थमा फरेन्सिक विज्ञानसम्बन्धी समझदारी केवल दुई संस्थाबीचको प्राविधिक सहकार्य होइन, नेपालको न्यायिक प्रक्रियालाई वैज्ञानिक बनाउने सम्भावनासँग जोडिएको विषय हो। प्रहरी र प्रशासनको क्षमता विकास नेपाल र भारतबीच भएको अर्को महत्त्वपूर्ण सहकार्य प्रहरी प्रशिक्षण र सरकारी प्रशासनिक अधिकारीको क्षमता विकाससँग सम्बन्धित छ। नेपाल प्रहरी र भारतीय सुरक्षा तथा प्रशिक्षण संस्थाबीच सहकार्य नयाँ विषय होइन। सीमा सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचबिखन, अन्तरदेशीय अपराध र सूचना आदानप्रदानका क्षेत्रमा दुवै देशबीच विभिन्न तहमा सहकार्य हुँदै आएको छ। तर बदलिँदो सुरक्षा चुनौतीले प्रहरीको प्रशिक्षण प्रणालीलाई पनि समयानुकूल बनाउनुपर्ने आवश्यकता सिर्जना गरेको छ। प्रहरीको काम अपराध नियन्त्रणमा मात्र सीमित छैन। नागरिकको अधिकार संरक्षण, भीड व्यवस्थापन, विपद्का समयमा उद्धार तथा राहत, डिजिटल अपराध नियन्त्रण र समुदायसँगको सम्बन्ध सुधार पनि प्रहरीको जिम्मेवारीभित्र पर्छन्। भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच भएको समझदारीले प्रशिक्षण प्रणालीलाई थप व्यवस्थित बनाउने सम्भावना छ। प्रहरी नेतृत्वको विकास, सुरक्षा व्यवस्थापन, अनुसन्धान, प्रविधिको उपयोग र संस्थागत व्यवस्थापनका क्षेत्रमा दुवै संस्थाले अनुभव आदानप्रदान गर्न सक्छन्। नेपाली प्रहरीका अधिकृतले भारतीय संस्थामा तालिम पाउने तथा भारतीय विज्ञले नेपालमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने अवसर पनि सिर्जना हुन सक्छ। तर प्रहरी प्रशिक्षणको उद्देश्य केवल बाह्य संस्थाबाट प्रमाणपत्र प्राप्त गर्नु हुनु हुँदैन। तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू हुनु महत्त्वपूर्ण हुन्छ। अनुसन्धान अधिकृतको काम गर्ने शैली, घटनास्थल व्यवस्थापन, प्रमाण संकलन र नागरिकसँगको व्यवहारमा सुधार आउन सकेमा मात्र यसको प्रतिफल देखिन्छ। यससँगै प्रशासनिक अधिकारीको क्षमता विकाससम्बन्धी समझदारी पनि महत्त्वपूर्ण छ। नेपालमा संघीयता कार्यान्वयनसँगै प्रशासनिक जिम्मेवारी व्यापक बनेको छ। स्थानीय तहदेखि संघीय मन्त्रालयसम्म नीति निर्माण, बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहको गुणस्तर सुधार गर्न दक्ष कर्मचारी आवश्यक छन्। भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीचको सहकार्यले नेपाली कर्मचारीलाई सार्वजनिक प्रशासन, डिजिटल शासन, सेवा प्रवाह, सार्वजनिक वित्त व्यवस्थापन र नेतृत्व विकासमा प्रशिक्षण दिने अवसर सिर्जना गर्न सक्छ। नेपालको प्रशासनमा देखिएको एउटा प्रमुख समस्या नीतिगत निर्णय र कार्यान्वयनबीचको अन्तर हो। योजना बन्ने तर समयमै कार्यान्वयन नहुने, बजेट खर्च नहुने, आयोजना वर्षौँसम्म अलपत्र पर्ने र सेवाग्राहीले सहज सेवा नपाउने समस्या दोहोरिँदै आएको छ। यसको समाधानका लागि प्रशासनिक दक्षता आवश्यक हुन्छ। कर्मचारीलाई केवल नियम र प्रक्रिया जान्ने बनाउनु पर्याप्त हुँदैन। समस्या समाधान गर्ने क्षमता, प्रविधिको उपयोग, परिणाममा आधारित व्यवस्थापन र सार्वजनिक उत्तरदायित्वको अभ्यास पनि विकास गर्नुपर्छ। भारतसँगको सहकार्यले यी क्षेत्रमा ज्ञान र अनुभव आदानप्रदानको अवसर दिन सक्छ। तर नेपालको प्रशासनिक आवश्यकता आफ्नै संघीय संरचना, कानुनी व्यवस्था र सामाजिक परिवेशअनुसार फरक हुन सक्छ। त्यसैले बाह्य अभ्यासको प्रतिलिपि बनाउनेभन्दा उपयुक्त अनुभव छनोट गरेर लागू गर्नु आवश्यक छ। प्रहरी र प्रशासन दुवै राज्यका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने निकाय हुन्। यी दुई क्षेत्रको क्षमता विकासले राज्यप्रतिको नागरिकको विश्वासमा समेत प्रभाव पार्छ। त्यसैले यस समझदारीको महत्त्व सरकारी तालिमको सीमाभन्दा धेरै फराकिलो छ। स्याटेलाइटदेखि डिजिटल कनेक्टिभिटीसम्म आठ समझदारीमध्ये स्याटेलाइट सञ्चारसम्बन्धी सहकार्यले प्रविधि र डिजिटल पूर्वाधारको क्षेत्रमा नयाँ सम्भावना प्रस्तुत गरेको छ। भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरो र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ। यसले नेपालमा सञ्चार सेवाको पहुँच विस्तार गर्ने तथा दुर्गम क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउने सम्भावना राख्छ। नेपालको भौगोलिक बनावट सञ्चार पूर्वाधार विस्तारका लागि चुनौतीपूर्ण छ। हिमाली र पहाडी क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार पूर्वाधार निर्माण गर्न उच्च लागत लाग्छ। कतिपय स्थानमा मोबाइल नेटवर्क र इन्टरनेटको पहुँच अझै सीमित छ। स्याटेलाइट प्रविधिले जमिनमा आधारित सञ्चार संरचनाको सीमालाई कम गर्न सक्छ। विशेषगरी दुर्गम क्षेत्र, उच्च हिमाली बस्ती, विपद् प्रभावित स्थान र सडक सञ्जाल कमजोर भएका क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्न यसको उपयोग हुन सक्छ। दक्षिण एसिया स्याटेलाइट भारतले क्षेत्रीय सञ्चार र विकास सहकार्यको उद्देश्यले अघि बढाएको परियोजना हो। यसको क्षमता शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सञ्चार सेवामा उपयोग गर्न सकिन्छ। नेपालका लागि यसको महत्त्व केवल टेलिभिजन वा दूरसञ्चार सेवामा सीमित हुँदैन। विपद्का समयमा सञ्चार सम्पर्क कायम राख्न सक्नु राज्यको उद्धार तथा राहत क्षमतासँग पनि जोडिन्छ। नेपाल भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोट र अन्य प्राकृतिक विपद्को जोखिममा रहेको मुलुक हो। विपद् प्रभावित क्षेत्रमा मोबाइल टावर र अन्य सञ्चार संरचना क्षतिग्रस्त हुँदा उद्धार तथा राहत समन्वयमा कठिनाइ उत्पन्न हुन्छ। स्याटेलाइटमा आधारित सञ्चार प्रणालीले यस्तो अवस्थामा वैकल्पिक सम्पर्कको माध्यम उपलब्ध गराउन सक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यसको उपयोगिता हुन सक्छ। दुर्गम क्षेत्रका विद्यालयलाई डिजिटल शैक्षिक सामग्री उपलब्ध गराउने, स्वास्थ्य संस्थालाई विशेषज्ञ चिकित्सकसँग जोड्ने र दूरचिकित्सा सेवा विस्तार गर्ने सम्भावना रहन्छ। तर स्याटेलाइटको उपलब्धता र त्यसको प्रभावकारी उपयोगबीच ठूलो अन्तर हुन्छ। त्यसका लागि ग्राउन्ड टर्मिनल, नेटवर्क उपकरण, प्राविधिक जनशक्ति, विद्युत् आपूर्ति, सेवा सञ्चालनको लागत र नीतिगत व्यवस्था आवश्यक हुन्छ। नेपालले यस सहकार्यलाई डिजिटल सार्वजनिक पूर्वाधार निर्माणसँग जोड्न सकेमा यसको प्रभाव व्यापक हुन सक्छ। सरकारी सेवा, शिक्षा, स्वास्थ्य, कृषि सूचना र विपद् व्यवस्थापनमा डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य राख्न सकिन्छ। नेपाल–भारतबीच डिजिटल सहकार्यका अन्य क्षेत्र पनि विस्तार हुँदै आएका छन्। सीमापार डिजिटल भुक्तानी, प्रविधि हस्तान्तरण र भाषा प्रविधिको क्षेत्रमा पनि सहकार्यका आधार बनेका छन्। डिजिटल भुक्तानी प्रणालीको अन्तरसम्बन्धले दुई देशबीच आवागमन गर्ने नागरिक, विद्यार्थी, व्यवसायी र पर्यटकलाई सहजता दिन सक्छ। अब स्याटेलाइट सञ्चारसम्बन्धी समझदारीलाई यी डिजिटल पहलसँग जोड्न सकिएमा नेपालले प्रविधिमा आधारित सेवा विस्तारको नयाँ अवसर प्राप्त गर्न सक्छ। तर डिजिटल पूर्वाधार निर्माण गर्दा तथ्यांक सुरक्षा, साइबर सुरक्षा, नागरिकको गोपनीयता र राष्ट्रिय सञ्चार प्रणालीको स्वायत्ततालाई पनि ध्यान दिनुपर्नेछ। प्रविधि सहकार्यको नाममा संवेदनशील सूचना व्यवस्थापन कमजोर हुन दिनु हुँदैन। स्वास्थ्य, आयुर्वेद र कृषि अर्थतन्त्र नेपाल र भारतबीचको सम्बन्धमा स्वास्थ्य र परम्परागत चिकित्सा क्षेत्रको सहकार्य पनि महत्त्वपूर्ण छ। दुई देशबीच लामो समयदेखि स्वास्थ्य सेवा, औषधि आपूर्ति, चिकित्सकीय शिक्षा र उपचारका क्षेत्रमा सम्पर्क रहँदै आएको छ। नेपालका धेरै बिरामी जटिल उपचारका लागि भारतका विभिन्न अस्पताल पुग्ने गरेका छन्। चिकित्सकीय सेवा, विशेषज्ञ जनशक्ति, स्वास्थ्य उपकरण र औषधि आपूर्तिका दृष्टिले भारत नेपालको महत्त्वपूर्ण साझेदार हो। आठ समझदारीमध्ये स्वास्थ्य तथा चिकित्सासम्बन्धी सहकार्यले यो सम्बन्धलाई संस्थागत बनाउने अवसर दिन सक्छ। स्वास्थ्य जनशक्ति तालिम, विशेषज्ञ ज्ञान आदानप्रदान, अनुसन्धान, रोग नियन्त्रण र उपचार प्रणाली सुधारका क्षेत्रमा सहकार्य गर्न सकिन्छ। नेपालको स्वास्थ्य प्रणालीमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार भए पनि विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र गुणस्तरीय उपचार सेवा सबै क्षेत्रमा समान रूपमा उपलब्ध छैनन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु अझै चुनौतीपूर्ण छ। भारतसँगको सहकार्यले नेपाली स्वास्थ्यकर्मीलाई प्रशिक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र अनुसन्धानमा अवसर दिन सक्छ। तर यसका लागि सरकारी अस्पताल र स्वास्थ्य संस्थाको आवश्यकता पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ। आयुर्वेद तथा परम्परागत चिकित्सासम्बन्धी समझदारीले पनि आर्थिक तथा सांस्कृतिक दुवै सम्भावना बोकेको छ। नेपाल र भारत दुवैमा आयुर्वेद, योग, प्राकृतिक उपचार र जडीबुटीमा आधारित परम्परागत ज्ञानको लामो इतिहास छ। नेपालका हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीबुटी र औषधिजन्य वनस्पतिमा ठूलो सम्भावना रहेको छ। तर कच्चा जडीबुटी संकलन गरेर निर्यात गर्नेभन्दा प्रशोधन, गुणस्तर परीक्षण, औषधि उत्पादन र बजार विस्तारमा जोड दिन सकेमा बढी आर्थिक लाभ लिन सकिन्छ। भारतसँगको अनुसन्धान सहकार्यले औषधिजन्य वनस्पतिको वैज्ञानिक अध्ययन, उत्पादनको गुणस्तर निर्धारण र व्यावसायिक उपयोगमा सहयोग पुर्‍याउन सक्छ। यसले स्थानीय समुदाय, जडीबुटी उत्पादक, प्रशोधन उद्योग र औषधि व्यवसायलाई जोड्ने अवसर दिन सक्छ। तर परम्परागत उपचार पद्धतिलाई वैज्ञानिक परीक्षण र नियमनबिना बजारमा विस्तार गर्नु उचित हुँदैन। औषधिको प्रभावकारिता, सुरक्षा र गुणस्तर सुनिश्चित गर्नु आवश्यक हुन्छ। आठौँ समझदारी पशुपालन तथा मत्स्यपालनसँग सम्बन्धित छ। नेपालमा कृषि क्षेत्रको ठूलो हिस्सा पशुपालनसँग जोडिएको छ। दूध, मासु, अण्डा र माछाको उत्पादन बढाउन सकेमा ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानी विस्तार गर्न सकिन्छ। पशुपालनमा नश्ल सुधार, पशु स्वास्थ्य, रोग नियन्त्रण, आहार व्यवस्थापन र व्यावसायिक फार्म सञ्चालन महत्त्वपूर्ण हुन्छन्। माछापालनमा उन्नत जात, पानीको गुणस्तर, प्रजनन प्रविधि, दाना व्यवस्थापन र बजार पहुँच आवश्यक हुन्छ। भारतसँगको प्राविधिक सहकार्यले यी क्षेत्रमा आधुनिक अभ्यास भित्र्याउन सक्छ। तर उत्पादन बढाउनु मात्र पर्याप्त हुँदैन। किसानले उत्पादनको उचित मूल्य पाउने, बजारमा पहुँच पाउने र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था आवश्यक छ। नेपालले पशुपालन तथा मत्स्यपालनलाई परम्परागत निर्वाहमुखी गतिविधिबाट व्यावसायिक उत्पादन प्रणालीमा रूपान्तरण गर्न सकेमा यसले कृषि अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्छ। सहरी विकास र आर्थिक सहयोगको आधार नेपालमा तीव्र सहरीकरणसँगै पूर्वाधार र सेवा व्यवस्थापनका चुनौती बढिरहेका छन्। काठमाडौं उपत्यकादेखि प्रदेशका प्रमुख सहरसम्म जनसंख्या, सवारीसाधन, फोहोर, खानेपानी, ढल निकास र आवास व्यवस्थापनका समस्या देखिएका छन्। दिगो सहरी विकाससम्बन्धी समझदारीले नेपाललाई यी समस्याको समाधान खोज्न प्राविधिक सहकार्यको अवसर दिन सक्छ। सहरी विकास केवल सडक फराकिलो बनाउने वा भवन निर्माण गर्ने विषय होइन। व्यवस्थित भूउपयोग, सार्वजनिक यातायात, खुला क्षेत्र, वातावरणीय संरक्षण, फोहोर व्यवस्थापन, सुरक्षित आवास र नागरिकमैत्री सेवा प्रणाली यसको अभिन्न हिस्सा हुन्। भारतले पछिल्ला वर्षमा स्मार्ट सिटी, सहरी पूर्वाधार, सार्वजनिक यातायात र डिजिटल सेवा विस्तारमा विभिन्न कार्यक्रम अघि बढाएको छ। ती अनुभव नेपालको सन्दर्भअनुसार उपयोग गर्न सकिन्छ। तर नेपालको सहरी संरचना र भूगोल भारतका ठूला सहरसँग पूर्ण रूपमा समान छैन। त्यसैले सहरी विकासको योजना बनाउँदा स्थानीय आवश्यकता, जनसंख्या, भौगोलिक अवस्था र वातावरणीय संवेदनशीलतालाई ध्यान दिनुपर्छ। यस क्षेत्रमा प्राविधिक सहकार्यले नगरपालिकाको योजना निर्माण क्षमता, सहरी तथ्यांक व्यवस्थापन र पूर्वाधारको दीर्घकालीन सञ्चालनमा सहयोग पुर्‍याउन सक्छ। यी संस्थागत समझदारीसँगै प्रधानमन्त्री मोदीले नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। यसले भ्रमणलाई आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ। मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने बताएका हुन्। भारतको यो घोषणा भोटेकोसी तथा अन्य क्षेत्रमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणसँग जोडिएको छ। बाढीले सडक, पुल, बस्ती, कृषि भूमि र विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको थियो। त्यसको पुनर्निर्माण र प्रभावित समुदायको जीवन सामान्य अवस्थामा फर्काउन ठूलो आर्थिक स्रोत आवश्यक छ। नेपालले भ्रमणअघि भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग मागेको थियो। भारतले घोषणा गरेको एक अर्ब ६२ करोड अमेरिकी डलर बराबरको प्याकेज उक्त मागको तुलनामा केही कम भए पनि ठूलो आर्थिक प्रतिबद्धता हो। यस सहयोगलाई केवल विपद्पछिको पुनर्निर्माणमा सीमित नराखी दीर्घकालीन विकासका प्राथमिकतासँग जोड्न सकिएमा यसको प्रभाव अझ व्यापक हुन सक्छ। तर सहयोगको रकम अनुदान र सहुलियतपूर्ण ऋणमा कसरी विभाजित हुन्छ भन्ने कुरा स्पष्ट हुनु आवश्यक छ। रकमको घोषणा र रकम प्राप्त हुने प्रक्रिया फरक विषय हुन्। कुन परियोजनामा कति रकम खर्च गर्ने, परियोजना छनोट कसरी गर्ने र कार्यान्वयनको जिम्मेवारी कसले लिने भन्ने विषय स्पष्ट हुनुपर्छ। नेपालले विकास सहयोगलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सकेमा दीर्घकालीन आर्थिक प्रतिफल प्राप्त गर्न सक्छ। ऊर्जा, सडक, पुल, औद्योगिक पूर्वाधार, कृषि प्रशोधन, डिजिटल सेवा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा लगानीको प्रभाव प्रत्यक्ष देखिन सक्छ। यसका साथै सहयोग परिचालनमा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व आवश्यक छ। आयोजनाको लागत, ठेक्का प्रक्रिया, निर्माणको प्रगति र प्रतिफल नागरिकले थाहा पाउने व्यवस्था हुनुपर्छ। आर्थिक सहयोगले नेपालको विकास आवश्यकतालाई सम्बोधन गर्न सक्छ। तर त्यसको सफलताका लागि नेपालको आफ्नै योजना, प्राथमिकता र कार्यान्वयन क्षमता निर्णायक हुनेछ। व्यापार र पारवहनमा नयाँ सम्भावना नेपाल र भारतबीचको आर्थिक सम्बन्धको अर्को महत्त्वपूर्ण पक्ष व्यापार तथा पारवहन हो। नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि भारतीय बन्दरगाह र पारवहन पूर्वाधारको उपयोग गर्दै आएको छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। नेपालले आयात गर्ने पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, मेसिनरी, खाद्यान्न र उपभोग्य वस्तुको ठूलो हिस्सा भारतीय बजार तथा पारवहन मार्गसँग जोडिएको छ। यस्तो अवस्थामा नेपाल–भारतबीचको व्यापारिक सहकार्यलाई नयाँ प्रविधि र पूर्वाधारसँग जोड्नु आवश्यक छ। प्रधानमन्त्री शाहको भ्रमणमा भएको आर्थिक तथा संस्थागत सहकार्यको महत्त्व यहीँबाट अझ स्पष्ट हुन्छ। भारतले नेपाललाई गुजरातस्थित कान्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्ने सुविधा उपलब्ध गराउने विषय अघि सारेको छ। यसले नेपाललाई समुद्री व्यापारका लागि थप विकल्प प्रदान गर्नेछ। अहिलेसम्म सीमित बन्दरगाह र पारवहन मार्गमा निर्भर रहँदा ढुवानीमा हुने ढिलाइ, लागत र व्यवस्थापनका समस्या नेपाली व्यवसायीले भोग्दै आएका छन्। नयाँ बन्दरगाहको पहुँचले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारमा विकल्प दिन सक्छ। तर यसको वास्तविक लाभ ढुवानी लागत, समय, रेल तथा सडक सम्पर्क र भन्सार प्रक्रियामा निर्भर रहनेछ। नेपालले बन्दरगाहको सुविधा प्राप्त गर्नु र त्यसलाई व्यावसायिक रूपमा प्रभावकारी उपयोग गर्नु फरक विषय हुन्। बन्दरगाहसम्म पुग्ने रेलमार्ग, मालसामानको ढुवानी, पारवहन शुल्क र सीमामा हुने जाँच प्रक्रिया सहज नभएसम्म व्यवसायीले अपेक्षित लाभ प्राप्त गर्न सक्दैनन्। यसका लागि नेपालले भारतीय पक्षसँग प्राविधिक तथा व्यावसायिक तहमा निरन्तर छलफल गर्नुपर्नेछ। आयातकर्ताले कुन बन्दरगाहबाट कति लागतमा सामान ल्याउन सक्छन् र निर्यातकर्ताले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म कसरी पुर्‍याउन सक्छन् भन्ने विषयमा स्पष्ट कार्ययोजना आवश्यक हुन्छ। नेपालको निर्यात व्यापारको आधार विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। जलविद्युत्, कृषि उत्पादन, प्रशोधित खाद्यवस्तु, जडीबुटी, हस्तकला र औद्योगिक उत्पादनलाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन सकेमा व्यापारिक सम्बन्ध एकतर्फी निर्भरताबाट पारस्परिक लाभतर्फ अघि बढ्न सक्छ। प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नु पनि यसै सन्दर्भमा महत्त्वपूर्ण छ। भारतसँगको आर्थिक सम्बन्ध केवल वस्तु आयात र पारवहनमा सीमित नभई उत्पादन, उद्योग र रोजगारी सिर्जनासँग जोडिनुपर्ने नेपालको आवश्यकता हो। भ्रमणमा सहभागी व्यवसायी प्रतिनिधिमण्डल र नेपाल–भारत व्यापारिक छलफलले यस दिशामा अवसर खोज्ने आधार दिएको छ। भारतका लगानीकर्तालाई ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र पूर्वाधारमा लगानी गर्न प्रोत्साहित गर्न सकिन्छ। तर विदेशी लगानी आकर्षित गर्न नेपालले नीतिगत स्थिरता, जग्गा प्राप्ति, कर प्रणाली, विद्युत् आपूर्ति, औद्योगिक पूर्वाधार र प्रशासनिक प्रक्रियामा सुधार गर्नुपर्नेछ। लगानीको घोषणा मात्र पर्याप्त हुँदैन। लगानीकर्ताले परियोजना सुरु गर्न र सञ्चालन गर्न सक्ने व्यावहारिक वातावरण आवश्यक हुन्छ। नेपालका लागि भारतको ठूलो बजार नजिकै हुनु अवसर हो। तर त्यो अवसरलाई आर्थिक उपलब्धिमा बदल्न उत्पादनको गुणस्तर, प्रतिस्पर्धी मूल्य, आपूर्ति शृङ्खला र निर्यात पूर्वाधार बलियो बनाउनुपर्छ। ऊर्जा र सीमापार पूर्वाधारको विस्तार नेपाल–भारत सम्बन्धमा ऊर्जा क्षेत्र पछिल्ला वर्षमा सबैभन्दा महत्त्वपूर्ण आर्थिक साझेदारीमध्ये एक बनेको छ। नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना छ भने भारतमा विद्युत्को माग निरन्तर बढिरहेको छ। यही परिप्रेक्ष्यमा दुई देशबीचको ऊर्जा व्यापारले नयाँ आर्थिक आधार निर्माण गरिरहेको छ। नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारतमा निर्यात गर्दै आएको छ। भारतले नेपाली विद्युत् खरिद गर्न थालेपछि जलविद्युत् आयोजनामा लगानी आकर्षित गर्ने सम्भावना पनि बढेको छ। यसले नेपाललाई परम्परागत रूपमा भारतबाट ऊर्जा आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकका रूपमा अघि बढ्ने अवसर दिएको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। यो आयोजना नेपालको ऊर्जा उत्पादन विस्तार र सीमापार विद्युत् व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। जलविद्युत् आयोजनाको विकासले विद्युत् उत्पादन मात्रै बढाउँदैन। निर्माण अवधिमा रोजगारी, स्थानीय पूर्वाधार, निर्माण सामग्रीको माग र आर्थिक गतिविधि पनि विस्तार गर्छ। आयोजना सञ्चालनमा आएपछि विद्युत् बिक्रीबाट नियमित आम्दानी प्राप्त गर्ने सम्भावना रहन्छ। तर ठूला जलविद्युत् आयोजनाको निर्माण चुनौतीपूर्ण हुन्छ। जग्गा अधिग्रहण, वन क्षेत्रको उपयोग, वातावरणीय प्रभाव, स्थानीय बासिन्दाको पुनर्स्थापना, वित्तीय व्यवस्थापन र प्रसारण लाइन निर्माणजस्ता विषय समयमै सम्बोधन गर्नुपर्छ। तल्लो अरुणजस्ता आयोजनामा नेपालले आफ्नो लगानी र स्रोतको प्रतिफल सुनिश्चित गर्नुपर्नेछ। परियोजनाको लागत, विद्युत् खरिद सम्झौता, रोयल्टी, कर, स्थानीय लाभ र वातावरणीय सुरक्षाका विषय स्पष्ट हुन आवश्यक छ। त्यस्तै, भारतसँगको ऊर्जा व्यापारमा दीर्घकालीन बजार सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण छ। नेपालमा विद्युत् उत्पादन बढ्दै जाँदा आन्तरिक खपतभन्दा बढी उत्पादन हुने समय आउन सक्छ। त्यस अवस्थामा विद्युत् खेर जान नदिन बजार र प्रसारण संरचना विस्तार गर्नुपर्नेछ। ऊर्जा सहकार्यसँगै पेट्रोलियम पूर्वाधार विस्तार पनि भ्रमणको महत्त्वपूर्ण पक्ष बनेको छ। मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति विस्तार हुँदा ट्यांकरबाट हुने ढुवानीको लागत र जोखिम कम गर्न सकिन्छ। नेपालमा पेट्रोलियम पदार्थको माग ठूलो छ। यसको आपूर्ति व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। पाइपलाइन विस्तारले आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउनेछ। झापाको चारआलीमा पेट्रोलियम टर्मिनल तथा ग्यास पाइपलाइनसम्बन्धी पूर्वाधार विकासको विषय पनि अघि बढाइएको छ। यसले पूर्वी नेपालमा इन्धन आपूर्ति र भण्डारण क्षमतामा सुधार ल्याउन सक्छ। सीमापार सडक तथा पुल निर्माणले पनि आर्थिक सम्पर्क विस्तारमा सहयोग पुर्‍याउनेछ। धार्चुला–दार्चुला मोटरेबल पुल र बनबासा क्षेत्रमा एकीकृत जाँच चौकी निर्माणले सीमावर्ती क्षेत्रको आवागमन तथा व्यापारिक प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ। सीमामा भौतिक संरचना निर्माण मात्र पर्याप्त हुँदैन। भन्सार, अध्यागमन, सुरक्षा जाँच र मालवाहक सवारीको आवागमनलाई एकीकृत रूपमा व्यवस्थित गर्नुपर्छ। एकीकृत जाँच चौकीको उद्देश्य पनि यही हो। दोधारा–चाँदनी क्षेत्रको एकीकृत जाँच चौकी नेपालका लागि पश्चिमी सीमावर्ती व्यापारको सम्भावना विस्तार गर्ने पूर्वाधार बन्न सक्छ। भारतको उत्तराखण्डसँग जोडिएको यो क्षेत्र सडक तथा व्यापारिक सम्पर्कका दृष्टिले महत्त्वपूर्ण छ। नेपालले सीमावर्ती पूर्वाधारलाई आफ्नो आन्तरिक सडक सञ्जालसँग जोड्न सकेमा त्यसको लाभ अझ व्यापक हुनेछ। सीमामा सुविधा बने पनि नेपालको भित्री सडक कमजोर भएमा व्यापारिक लागत घट्न सक्दैन। धार्मिक सम्बन्धबाट पर्यटन अर्थतन्त्रसम्म नेपाल र भारतबीचको सम्बन्धको सबैभन्दा पुरानो आधार धार्मिक, सांस्कृतिक र सामाजिक सम्पर्क हो। दुवै देशका नागरिकबीच विवाह, तीर्थयात्रा, पारिवारिक सम्बन्ध, भाषा, संस्कृति र परम्पराको गहिरो सम्बन्ध छ। प्रधानमन्त्री शाहको भारत भ्रमणमा अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनको विषयले यही सम्बन्धलाई नयाँ पूर्वाधारसँग जोडेको छ। सरयू–कमला एक्सप्रेस नाम दिइएको रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ। अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा परिचित छन्। रामायण परम्परासँग जोडिएका यी दुई धार्मिक सहरबीच रेल सम्पर्क विस्तार हुँदा तीर्थयात्रा र धार्मिक पर्यटनमा नयाँ सम्भावना सिर्जना हुन सक्छ। भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा सन् २०१८ मा जनकपुर भ्रमणका क्रममा व्यक्त गरेको अभिव्यक्ति स्मरण गरेका थिए। ‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ,’ उनले भनेका थिए। यो अभिव्यक्तिले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई राजनीतिक तहमा पनि महत्त्व दिएको देखाउँछ। जनकपुरधाम नेपालको धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र हो। अयोध्यासँग प्रत्यक्ष रेल सम्पर्क हुँदा भारतीय पर्यटकको आवागमन बढ्ने सम्भावना छ। धार्मिक पर्यटनको प्रभाव मन्दिर दर्शनमा मात्र सीमित हुँदैन। होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, गाइड सेवा र अन्य व्यावसायिक गतिविधिमा यसको प्रभाव पर्छ। जनकपुरधाममा आउने पर्यटकको बसाइ अवधि बढाउन सकेमा स्थानीय अर्थतन्त्रमा थप आम्दानी सिर्जना हुन सक्छ। त्यसका लागि धार्मिक स्थलको संरक्षण, सरसफाइ, यातायात, आवास, सूचना प्रणाली र पर्यटकमैत्री सेवा सुधार गर्नुपर्नेछ। नेपालले लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र अन्य धार्मिक गन्तव्यलाई भारतीय बजारसँग जोड्न सकेमा पर्यटन अर्थतन्त्र विस्तारको अवसर छ। भारतका ठूलो जनसंख्या भएका सहरबाट नेपालसम्म सहज आवागमनको व्यवस्था गर्न सकिएमा धार्मिक पर्यटनको सम्भावना अझ बढ्न सक्छ। तर रेल सेवा नियमित र व्यावसायिक रूपमा सञ्चालन हुनुपर्छ। टिकटको मूल्य, यात्रु सुरक्षा, समयतालिका, सीमा जाँच र दुवै देशका रेल प्रशासनबीच समन्वय आवश्यक हुन्छ। धार्मिक पर्यटनसँगै नेपाल–भारतबीचको जनस्तरको सम्बन्धलाई पनि यसले थप सुदृढ गर्न सक्छ। राजनीतिक तहमा कुनै विषयमा मतभेद भए पनि नागरिकबीचको सांस्कृतिक सम्बन्धले दुई देशलाई जोड्ने काम गर्दै आएको छ। मोदीको प्रशंसा र बालेनको निम्तो प्रधानमन्त्री शाहको भारत भ्रमणको राजनीतिक महत्त्व संयुक्त पत्रकार सम्मेलनमा पनि स्पष्ट देखिएको छ। भारतीय प्रधानमन्त्री मोदीले शाहको नेतृत्व र दृष्टिकोणको प्रशंसा गरेका छन्। उनले नेपालको नयाँ राजनीतिक जनादेशलाई नयाँ पुस्ताको आकांक्षासँग जोडेर व्याख्या गरेका छन्। ‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता मैले महसुस गरेको छु,’ मोदीले भनेका छन्। मोदीले नेपालको जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गरेको पनि बताएका छन्। उनका अनुसार भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साझेदार रहँदै आएको छ र आगामी दिनमा पनि सहकार्य जारी रहनेछ। मोदीको यो अभिव्यक्ति केवल व्यक्तिगत प्रशंसा होइन। नेपालमा नयाँ राजनीतिक नेतृत्व आएपछि भारतले त्यसलाई कसरी ग्रहण गर्छ भन्ने विषयमा पनि यसको राजनीतिक अर्थ छ। नेपालमा २०८२ सालको जेनजी आन्दोलनपछि राजनीतिक सत्ता समीकरण परिवर्तन भएको थियो। नयाँ पुस्ताको राजनीतिक आकांक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह सुधारका मागसहित भएको आन्दोलनपछि शाह नेतृत्वको सरकार गठन भएको थियो। त्यसपछि भारतसँगको सम्बन्धलाई नयाँ राजनीतिक परिवेशमा कसरी अघि बढाउने भन्ने चासो थियो। शाहको पहिलो औपचारिक द्विपक्षीय भ्रमणमा मोदीले दिएको सकारात्मक सन्देशले दुई देशबीच उच्चस्तरीय राजनीतिक संवादको वातावरण बनाएको छ। प्रधानमन्त्री शाहले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। संयुक्त पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्रीलाई नेपाल आउन आग्रह गरेका हुन्। मोदीको नेपाल भ्रमण भएमा त्यसले दुई देशबीचको उच्चस्तरीय सम्पर्कलाई थप निरन्तरता दिनेछ। नेपालका लागि भारतीय प्रधानमन्त्रीको भ्रमण राजनीतिक र आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण हुन्छ। त्यसले द्विपक्षीय सहकार्यका परियोजनालाई उच्चस्तरीय प्राथमिकता दिन सक्छ। तर राजनीतिक सद्भावलाई व्यावहारिक उपलब्धिमा बदल्न दुवै पक्षले निरन्तर काम गर्नुपर्नेछ। दुई प्रधानमन्त्रीबीच भएको सहमति मन्त्रालय र कार्यान्वयन गर्ने निकायसम्म पुग्न सकेन भने त्यसको प्रभाव सीमित रहन्छ। प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न गरेको आग्रह पनि भ्रमणको आर्थिक सन्देश हो। नेपालमा लगानीको वातावरण सुधार्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र उत्पादनमूलक उद्योग विस्तार गर्ने विषयमा सरकारको प्रतिबद्धता आवश्यक छ। भारत नेपालको नजिकको ठूलो बजार भएकाले भारतीय लगानीकर्ताको सहभागिताले औद्योगिक उत्पादन, पर्यटन, ऊर्जा र प्रविधि क्षेत्रमा अवसर सिर्जना गर्न सक्छ। तर नेपालले लगानीकर्तासँगको सम्बन्धलाई परियोजना विशेषमा केन्द्रित गर्दै पारदर्शी र प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्नुपर्नेछ। पुराना विवाद र नयाँ सहकार्यको सन्तुलन नेपाल र भारतबीचको सम्बन्धमा आर्थिक तथा सांस्कृतिक सहकार्य जति महत्त्वपूर्ण छ, त्यति नै संवेदनशील राजनीतिक र सीमा सम्बन्धी विषय पनि छन्। प्रधानमन्त्री शाहको भ्रमणमा भएका उपलब्धिको चर्चा गर्दा यी चुनौतीलाई बेवास्ता गर्न मिल्दैन। दुई देशबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका सीमासम्बन्धी विवाद लामो समयदेखि कायम छन्। नेपालले आफ्नो आधिकारिक नक्सामा समेटेको भूभागबारे भारतसँग कूटनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने अवस्था छ। त्यस्तै, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, खुला सीमाको व्यवस्थापन, व्यापारमा देखिएका अवरोध र हवाई प्रवेश मार्गका विषय पनि द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण एजेन्डा हुन्। नेपालले लामो समयदेखि पश्चिमी क्षेत्रबाट थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। विशेषगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हवाई मार्ग आवश्यक छ। भैरहवा र पोखरा विमानस्थल निर्माणमा ठूलो लगानी भएको छ। तर अन्तर्राष्ट्रिय उडानको संख्या अपेक्षित रूपमा विस्तार हुन नसक्दा ती पूर्वाधारको पूर्ण उपयोग हुन सकेको छैन। त्यसैले हवाई मार्गको विषय नेपालको पर्यटन र अन्तर्राष्ट्रिय सम्पर्कसँग प्रत्यक्ष जोडिएको छ। भारतले बागडोगरा क्षेत्रबाट सम्भावित हवाई मार्गको प्रस्ताव अघि सारेको विवरण सार्वजनिक भएको थियो। तर नेपालले चाहेको प्रवेश मार्ग, उडानको सुरक्षा र प्राविधिक व्यवस्थापनको विषय अझै स्पष्ट हुन आवश्यक छ। त्यस्तै, सीमा व्यवस्थापनको विषय पनि संवेदनशील छ। खुला सीमाले दुवै देशका नागरिकलाई आवागमन, व्यापार र सामाजिक सम्बन्धमा सुविधा दिएको छ। तर यही खुलापनको दुरुपयोग गरी हुने अपराध, अवैध कारोबार, मानव बेचबिखन र अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रभावकारी समन्वय आवश्यक छ। यसका लागि प्रहरी प्रशिक्षण र फरेन्सिक अनुसन्धानसम्बन्धी समझदारी सहयोगी हुन सक्छन्। तर सीमासम्बन्धी राजनीतिक प्रश्न र प्रशासनिक सुरक्षा व्यवस्थापनलाई एउटै विषयका रूपमा हेर्न मिल्दैन। नेपालले भारतसँगको आर्थिक सहकार्य विस्तार गर्दै आफ्ना राष्ट्रिय हित र सार्वभौमिकतासम्बन्धी विषयमा स्पष्ट अडान कायम राख्नुपर्नेछ। मित्रवत् सम्बन्धको अर्थ सबै विषयमा समान धारणा हुनु होइन। मतभेदलाई संवाद, कूटनीति र आपसी सम्मानबाट समाधान गर्न सक्नु नै परिपक्व सम्बन्धको आधार हो। नेपाल र भारत दुवैका लागि स्थिर, समृद्ध र सुरक्षित छिमेक आवश्यक छ। त्यसैले आर्थिक सहकार्यसँगै राजनीतिक विश्वास निर्माणमा पनि निरन्तर प्रयास गर्नुपर्नेछ। सहमति कार्यान्वयनको परीक्षा प्रधानमन्त्री शाहको भारत भ्रमणबाट प्राप्त उपलब्धिको सूची लामो छ। दुई खर्ब ४० अर्ब रुपैयाँको विकास सहयोग, आठवटा समझदारी, पाँच पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यास, अयोध्या–जनकपुर रेल सेवा र बन्दरगाह प्रयोगको सुविधा यसका महत्त्वपूर्ण पक्ष हुन्। तर नेपालको कूटनीतिक इतिहासमा समझदारी र सम्झौताको अभावभन्दा कार्यान्वयनको कमजोरी ठूलो समस्या रहँदै आएको छ। दुई देशबीच विभिन्न समयमा भएका सहमतिमध्ये कतिपय परियोजना लामो समयसम्म अघि बढ्न सकेका छैनन्। कतिपय आयोजना राजनीतिक प्रतिबद्धताका रूपमा घोषणा भए पनि जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, वित्तीय व्यवस्थापन, ठेक्का प्रक्रिया र संस्थागत समन्वयका समस्याले ढिलाइ हुने गरेका छन्। यसपटक भएका आठ समझदारीको प्रभावकारिता मापन गर्न पनि स्पष्ट कार्यान्वयन संयन्त्र आवश्यक हुनेछ। फरेन्सिक विज्ञानमा सहकार्य गर्ने भनिएको छ भने नेपाल प्रहरीको कति जनशक्तिले तालिम पाउने, कुन प्रकारको अनुसन्धानमा प्रविधि प्रयोग गरिने र नेपाली प्रयोगशालाको क्षमता कसरी बढाइने भन्ने विषय स्पष्ट हुनुपर्छ। प्रहरी प्रशिक्षणसम्बन्धी समझदारीमा वार्षिक तालिम संख्या, प्रशिक्षणका क्षेत्र र संस्थागत आदानप्रदानको कार्यक्रम तय हुनुपर्छ। प्रशासनिक अधिकारीको तालिममा संघ, प्रदेश र स्थानीय तहका कुन तहका कर्मचारीलाई प्राथमिकता दिने भन्ने कुरा स्पष्ट गर्नुपर्छ। स्याटेलाइट सञ्चारमा सहकार्य गर्ने भनिएको छ भने सेवा कुन क्षेत्रबाट सुरु हुन्छ, कति संस्थाले उपयोग गर्न पाउँछन् र दुर्गम क्षेत्रमा यसको पहुँच कसरी विस्तार हुन्छ भन्ने विषय आवश्यक हुन्छ। स्वास्थ्य तथा आयुर्वेदमा सहकार्य गर्ने हो भने अनुसन्धान, औषधिको गुणस्तर, चिकित्सकको तालिम र स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई व्यवस्थित गर्नुपर्छ। पशुपालन तथा मत्स्यपालनमा सहकार्यको परिणाम किसानको उत्पादन र आम्दानीमा देखिनुपर्छ। सहरी विकाससम्बन्धी सहकार्यको प्रभाव पनि नगरपालिकाको सेवा, पूर्वाधार व्यवस्थापन र वातावरणीय सुधारबाट मापन हुनुपर्छ। यसका लागि दुवै देशका सम्बन्धित मन्त्रालय र संस्थाबीच नियमित बैठक, प्रगति प्रतिवेदन र परिणाम मूल्यांकनको व्यवस्था आवश्यक हुन्छ। समझदारीमा उल्लेख भएका विषयलाई कार्यान्वयनमा लैजान उच्चस्तरीय अनुगमन संयन्त्र र नियमित समीक्षा प्रणाली विकास गर्नु महत्त्वपूर्ण हुनेछ। आर्थिक सहयोग परिचालनमा पनि यही सिद्धान्त लागू हुन्छ। दुई खर्ब ४० अर्ब रुपैयाँको सहयोग कुन क्षेत्रमा खर्च गर्ने भन्ने निर्णय नेपालको विकास प्राथमिकताका आधारमा हुनुपर्छ। पुनर्निर्माण, सडक, पुल, ऊर्जा, कृषि, औद्योगिक पूर्वाधार र विपद् व्यवस्थापनका परियोजनालाई प्राथमिकता दिन सकिन्छ। सहयोगको वित्तीय संरचना स्पष्ट नभएसम्म त्यसलाई सम्पूर्ण अनुदानका रूपमा बुझ्नु हुँदैन। अनुदान, सहुलियतपूर्ण ऋण र अन्य वित्तीय साधनको अनुपात सार्वजनिक हुनु आवश्यक छ। यसले भविष्यको ऋण दायित्व र आर्थिक प्रतिफलको मूल्यांकन गर्न सहज बनाउँछ। नेपालले परियोजना छनोट गर्दा स्थानीय आवश्यकता, आर्थिक प्रतिफल, रोजगारी सिर्जना र दीर्घकालीन सञ्चालन खर्चलाई ध्यान दिनुपर्छ। विकास सहयोगबाट बनेका संरचना निर्माणपछि पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेनन् भने लगानीको उद्देश्य पूरा हुँदैन। नयाँ पुस्ताको सम्बन्ध, नयाँ पुस्ताकै अपेक्षा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपालमा आएको पुस्तान्तरणको राजनीतिक सन्दर्भसँग पनि जोडेर हेर्न सकिन्छ। नेपालमा नयाँ पुस्ताले सुशासन, रोजगारी, अवसर, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवाको मागसहित राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो। त्यसैले नयाँ सरकारको विदेश नीति पनि नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने परिणाममा केन्द्रित हुनुपर्ने अपेक्षा छ। भारतसँगको सम्बन्धमा नयाँ पुस्ताको अपेक्षा केवल राजनीतिक सद्भाव र उच्चस्तरीय भ्रमण होइन। नेपाली युवाले भारतमा शिक्षा, सीप, रोजगारी र व्यवसायका अवसर पाउन सक्ने वातावरण पनि महत्त्वपूर्ण छ। त्यस्तै, नेपालभित्रै भारतीय लगानीबाट उद्योग, पर्यटन, ऊर्जा र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना हुनुपर्छ। प्रहरी र प्रशासनिक प्रशिक्षण, डिजिटल सञ्चार, स्वास्थ्य, कृषि तथा पशुपालनका समझदारीले युवाका लागि नयाँ अवसर खोल्न सक्छन्। अनुसन्धान, प्रविधि, उद्यमशीलता र व्यावसायिक शिक्षामा सहकार्य विस्तार गर्न सकिएमा यसको प्रभाव दीर्घकालीन हुनेछ। नेपालले भारतसँगको सम्बन्धलाई केवल सरकारी निकायबीचको सम्पर्कमा सीमित राख्नु हुँदैन। विश्वविद्यालय, अनुसन्धान केन्द्र, निजी क्षेत्र, स्थानीय सरकार, व्यावसायिक संगठन र युवा उद्यमीबीच प्रत्यक्ष साझेदारी विस्तार गर्नुपर्छ। प्रधानमन्त्री शाहको भ्रमणमा सहभागी व्यवसायी प्रतिनिधिमण्डलको उपस्थिति यस दृष्टिले महत्त्वपूर्ण छ। सरकारी सहमतिलाई निजी क्षेत्रको लगानी र उत्पादनसँग जोड्न सकेमा द्विपक्षीय सम्बन्धले आर्थिक गति प्राप्त गर्न सक्छ। नेपालमा भारतीय लगानीका लागि जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, कृषि प्रशोधन र स्वास्थ्य क्षेत्रमा अवसर छन्। तर त्यसका लागि लगानीकर्ताले नीतिगत स्थिरता र प्रशासनिक सहजता महसुस गर्नुपर्छ। यसैगरी, नेपाली व्यवसायीलाई भारतीय बजारमा सहज पहुँच, उत्पादनको गुणस्तर प्रमाणीकरण र निर्यात प्रक्रियामा सहजीकरण आवश्यक छ। दुई देशबीचको व्यापारलाई असमान आयात निर्भरताबाट उत्पादन र लगानीमा आधारित साझेदारीतर्फ लैजानु नेपालको दीर्घकालीन हितमा हुनेछ। प्रधानमन्त्री मोदीले शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्। यसलाई नेपालका लागि सकारात्मक कूटनीतिक सन्देशका रूपमा लिन सकिन्छ। तर त्यो प्रशंसाको वास्तविक अर्थ नेपालले आफ्नो विकास प्राथमिकताअनुसार सहकार्यका परिणाम प्राप्त गर्दा मात्र स्थापित हुनेछ। नेपालले आफ्नो राष्ट्रिय हित, भौगोलिक संवेदनशीलता र आर्थिक आवश्यकतालाई स्पष्ट राख्दै भारतसँगको सम्बन्ध अघि बढाउनुपर्छ। भारतले पनि नेपालको विकास प्राथमिकता र सार्वभौमिकताप्रतिको संवेदनशीलतालाई सम्मान गर्दै सहकार्यलाई समान लाभको आधारमा विस्तार गर्नुपर्छ। प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनु आगामी उच्चस्तरीय संवादका लागि अर्को अवसर हो। मोदीको नेपाल भ्रमण भएमा अहिले भएका समझदारीको कार्यान्वयन समीक्षा र नयाँ परियोजनाको प्राथमिकता निर्धारण गर्न सकिनेछ। दिल्लीमा भएको भेटवार्ता, संयुक्त पत्रकार सम्मेलन र आठ समझदारीले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना प्रस्तुत गरेका छन्। आर्थिक सहयोगले पुनर्निर्माण र विकासका लागि स्रोत जुटाउनेछ। संस्थागत समझदारीले राज्यका विभिन्न निकायको क्षमता विकास गर्ने अवसर दिनेछ। प्रविधि सहकार्यले डिजिटल र अनुसन्धान प्रणालीलाई आधुनिक बनाउने सम्भावना छ। व्यापार, ऊर्जा र पूर्वाधारले दुई देशको आर्थिक अन्तरनिर्भरतालाई थप व्यवस्थित बनाउन सक्छन्। तर यो सबै सम्भावनालाई वास्तविक उपलब्धिमा बदल्ने जिम्मेवारी नेपालको सरकार र सम्बन्धित संस्थाकै हो। नेपाल–भारत सम्बन्धको नयाँ अध्याय केवल दिल्लीमा हस्ताक्षर भएका दस्तावेजबाट लेखिनेछैन। त्यो काठमाडौंका सरकारी कार्यालयमा हुने काम, प्रहरी अनुसन्धानमा प्रयोग हुने प्रविधि, दुर्गम गाउँसम्म पुग्ने सञ्चार सेवा, अस्पतालमा उपलब्ध हुने उपचार, किसानको बढ्ने उत्पादन, उद्योगमा सिर्जना हुने रोजगारी र समयमै सम्पन्न हुने विकास आयोजनाबाट लेखिनेछ। प्रधानमन्त्री शाहको भारत भ्रमणले सम्बन्धको नयाँ नक्सा प्रस्तुत गरेको छ। अब त्यो नक्सामा कोरिएका बाटोलाई व्यवहारमा निर्माण गर्ने समय सुरु भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग संवाद
Latest NewsJust now

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग संवाद

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राजधानी आएका राउटे समुदायका सदस्यलाई भेटेकी छन् । सुन्धारास्थित उक्त समुदायका सदस्य बस्नुभएको स्थानमै पुगेर मन्त्री बादीले... ...

रातोपाटी
नेपाल–भारत सम्बन्धको नयाँ आधार विकास साझेदारी: प्रधानमन्त्री शाह
Latest NewsJust now

नेपाल–भारत सम्बन्धको नयाँ आधार विकास साझेदारी: प्रधानमन्त्री शाह

नयाँ दिल्ली, मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको... ...

गोरखापत्र
चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना
Latest NewsJust now

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यमान ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement