दसैंमा घट्यो सवारी दुर्घटना

काठमाडौं।दसैंका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ। गत वर्षको दसैंमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको संख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ। त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको संख्या पनि सात जनाले घटेको छ। यसले चाडपर्वका समयमा सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी भएको देखाएको ट्राफिक प्रहरीको भनाइ छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङग्रे सवारीसाधनसँग सम्बन्धित रहेको जानकारी दिए। उनका अनुसार तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेका छन्। प्रवक्ता सुवेदीले ट्राफिक प्रहरीले पूर्व तयारीसहित योजनाबद्ध रूपमा काम गरेकाले सडक सुरक्षामा सुधार आएको बताए। यातायात व्यवसायी, मजदुर तथा सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकलाई सुरक्षित यात्रा गर्न सहज भएको उनले बताए। उनले भने, “ट्राफिक प्रहरीले पूर्व तयारीसहित योजनाबद्ध तवरले काम गर्दा सडक सुरक्षित भएको छ। यातायात व्यवसायी, मजदुर साथीहरू र सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकले सुरक्षित यात्रा गरिरहेका छन्।” दुर्घटना भइराखेको अवस्थामा तत्काल उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेको ज्यान बचाउन सहयोग पुगेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए। उनका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक सहित जनपथ प्रहरीले नियमित सुरक्षा जाँच, अनुगमन तथा संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेको थियो। चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटनाको जोखिम रहने भएकाले ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो। विभिन्न स्थानमा गरिएको जाँच, निगरानी तथा प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाइ छ। यस वर्ष दसैंका समयमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आउनु सकारात्मक पक्ष भए पनि तीव्र गति र दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटनाले सडक सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ। ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारीसाधन चलाउन आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

छ वर्षअघि बितेका म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् । ...

काठमाडौँमा सवारीको चाप बढ्दै (तस्बिरहरू)
काठमाडौँ । दसैँको बाह्रौँ दिन शुक्रवार काठमाडौँमा सवारीको चाप बढेको छ । दसैँको समयमा सुनसान प्राय: रहेको काठमाडौँ उपत्यका मान्यजनसँगको टीका थाप्न जाने मानिसहरूको आवागमनसँगै चहलपहल बाक्लिएको हो । सडकमा... ...

शिक्षाको गुणस्तरका लागि शैक्षिक न्यायको आवश्यकता
शिक्षा कुनै पनि समाजको भविष्य निर्माण गर्ने आधार हो । आज विद्यालयमा दिइने शिक्षाले भोलिको समाजको चेतना, चरित्र र कार्यदिशा निर्धारण गर्छ । त्यसैले शिक्षा कस्तो छ भन्ने प्रश्नसँगै शिक्षाको व्यवस्थापन कति न्यायपूर्ण छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । म्याग्दीको शैक्षिक विकासको चर्चा गर्दा निजी तथा संस्थागत विद्यालयहरूले निर्वाह गरेको भूमिकालाई वर्तमानका उपलब्धिसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । ...

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । “साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै ...


