दसैँ गीतका जन्मकथा

दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने गरेका रहेछन्। तर त्यस वर्ष एक जनाको परिवारमा जुठो परेको थियो। उनले मासु खान नमिल्ने भयो। अर्का व्यक्तिसँग एक्लै सिङ्गो खसी किन्ने पैसा थिएन। दसैँमा मासु खाने इच्छा भए पनि आर्थिक अवस्थाले साथ नदिँदा उनीहरू दुःखी भएका थिए। दसैँमा नयाँ लुगा, खसी, दक्षिणा र अन्य आवश्यकताका लागि पैसा जुटाउनुपर्ने घरमूलीको सकस गीतको केन्द्रमा छ। त्यो घटनाले बस्नेतलाई एउटा गीत लेख्न प्रेरित गर्यो। उनले त्यसै साँझ शब्द तयार पारे। पछि न्ह्यू बज्राचार्यले सङ्गीत दिए र योगेश्वर अमात्यले गाए। यसरी जन्मियो, ‘दसैँ नै हो कि यो मेरो दशा’। दसैँमा घरको आर्थिक अवस्था र परिवारका अपेक्षाबीच देखिने तनावलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने यो गीत आफ्नो व्यक्तिगत भोगाइमा आधारित नभएको बस्नेतले बताएका छन्। गीतकारले शब्द सुनाएपछि अमात्यलाई मन पर्यो। दुवै जना सङ्गीतकार बज्राचार्यकहाँ पुगे। बज्राचार्यले धेरै समय नलगाई गीतमा धुन तयार पारे। अमात्यको विशिष्ट गायनशैलीलाई ध्यानमा राखेर सङ्गीत तयार गरेको बज्राचार्यको भनाइ छ। गीतको रेकर्डिङ पनि रोचक थियो। यसमा गायनसँगै परिवारका सदस्यबीच हुने कुराकानीलाई संवादका रूपमा समावेश गरिएको छ। अमात्यका अनुसार बालबालिकाका संवाद रेकर्ड गर्न उनले बाटोमा खेलिरहेका केटाकेटीलाई समेत स्टुडियोमा लगेका थिए। कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले पनि संवाद बोलेका थिए। दसैँको उत्साहसँगै खर्चको दबाब पनि बढ्ने भएकाले गीतमा व्यक्त भावना धेरै परिवारको अनुभवसँग मिल्छ। दसैँमा नयाँ लुगा, खसी, दक्षिणा र अन्य आवश्यकताका लागि पैसा जुटाउनुपर्ने घरमूलीको सकस गीतको केन्द्रमा छ। परिवारका सदस्यका आआफ्ना रहर हुन्छन्, तर सबै रहर पूरा गर्ने आर्थिक क्षमता हुँदैन। गीतले त्यही अवस्थालाई हाँसो र व्यङ्ग्यमा उतार्छ। दसैँको उत्साहसँगै खर्चको दबाब पनि बढ्ने भएकाले गीतमा व्यक्त भावना धेरै परिवारको अनुभवसँग मिल्छ। यसैले चाडको आर्थिक सकस देखेर जन्मिएको यो गीत वर्षौँपछि पनि दसैँको समयमा उत्तिकै सान्दर्भिक सुनिन्छ। युद्धमा मारिएका सैनिकको कथाबाट ‘नमुछे आमा’ दसैँको आर्थिक सकसले एउटा गीत जन्मायो भने युद्धमा खटिएका सैनिकको पीडाले अर्को मर्मस्पर्शी गीत रचियो। त्यो गीत हो, ‘नमुछे आमा दहीमा टीका’। लक्ष्मण रायमाझीले लेखेको यो गीतमा युद्धमा ज्यान गुमाउन सक्ने अवस्थाको सामना गरिरहेको एक लाहुरेको मनोभाव छ। दसैँमा घर फर्कन नपाउने मात्रै होइन, फेरि कहिल्यै नफर्किने सम्भावनाले उसलाई सताएको छ। ऊ आमालाई टीका र जमराको तयारी नगर्न आग्रह गर्छ। परिवारका सदस्यसँग पुनर्मिलन हुन नसक्ने पीडा गीतभरि छ। गीतको पीडा दसैँमा घर आउन नसकेको सामान्य अवस्थाभन्दा गहिरो छ। युद्धमा ज्यान जाने सम्भावना बोकेको लाहुरेले आफ्नी आमा, पत्नी र छोराछोरीलाई सम्झिरहेको छ। भारतीय सेनामा कार्यरत एक छिमेकी छुट्टीमा घर फर्किएका थिए। उनले फकल्यान्ड युद्धमा आफ्नै अगाडि एक साथी मारिएको घटना सुनाए। त्यो घटनालाई लक्ष्मणले गीतमा उतारेका थिए। नारायणले आफ्ना दाजु लक्ष्मणबाट गीतको शब्द पाएपछि सङ्गीत तयार गर्न लामो समय लागेको पनि बताएका छन्। उनका अनुसार गीत २०४६ सालमा रेकर्ड भएको थियो। नारायणकै स्वर र सङ्गीतमा आएको गीत पछि रेडियो नेपालबाट बज्न थाल्यो। गीतको पहिलो रेकर्डिङपछि पनि यसको यात्रा रोकिएन। नारायणसँग वाद्यवादन गर्ने र आधुनिक गीत गाउने कृष्णभक्त राईलाई गीत मन परेको थियो। उनले आफ्नै शैलीमा गुनगुनाउन थालेपछि नारायणले त्यसलाई नयाँ सङ्गीत संयोजनमा प्रस्तुत गर्ने सोचे। त्यसपछि २०५७ सालमा कृष्णभक्तको स्वरमा गीत पुनः रेकर्ड भयो। नयाँ संस्करण निकै लोकप्रिय बन्यो। त्यसअघि दुईवटा एकल एल्बम निकालिसकेका कृष्णभक्तले यही गीतबाट गायनमा विशेष पहिचान पाएका थिए। गीतले आफ्नो गायन यात्रामा ठूलो परिवर्तन ल्याएको उनले बताएका छन्। लक्ष्मणले भने आफ्नो सिर्जनाको पछिल्लो लोकप्रियता देख्न पाएनन्। पहिलो रेकर्डिङ भएको केही वर्षमै लक्ष्मणको निधन भएको थियो। छोराले लेखेको गीत बज्दा आमा भावुक हुने गरेको सम्झना पनि नारायणले सुनाउँछन्। गीतको पीडा दसैँमा घर आउन नसकेको सामान्य अवस्थाभन्दा गहिरो छ। युद्धमा ज्यान जाने सम्भावना बोकेको लाहुरेले आफ्नी आमा, पत्नी र छोराछोरीलाई सम्झिरहेको छ। आफू नफर्केपछि परिवारले भोग्ने दुःखप्रतिको चिन्ता पनि त्यहाँ छ। गीतको मूल सिर्जना र त्यसलाई लोकप्रिय बनाउने विभिन्न स्वरको योगदान छुट्टाछुट्टै सम्झिनुपर्छ। समयसँगै गीतको अर्थ धेरै श्रोताका लागि फराकिलो भएको छ। युद्धमा गएका सैनिकको कथाबाट जन्मिएको सिर्जनामा वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले घरबाट टाढा रहेका नेपालीले पनि आफ्नो सम्झना भेट्न सक्छन्। आज नारायण रायमाझी र रचना रिमालको स्वरमा समेत गीतको नयाँ संस्करण उपलब्ध छ। तर गीतको मूल सिर्जना र त्यसलाई लोकप्रिय बनाउने विभिन्न स्वरको योगदान छुट्टाछुट्टै सम्झिनुपर्छ। गाउँघरको दसैँलाई पर्दामा उतारेको ‘मुग्लान’ दसैँका गीत सम्झँदा चलचित्र ‘मुग्लान’को ‘दसैँ आयो’ छुटाउन सकिँदैन। ‘चरिररि… चरिररिरै…’ को परिचित धुन सुरु हुनासाथ गाउँघर, खेतबारी, पिङ र चाडको चहलपहल सम्झना आउँछ। शिव रेग्मी निर्देशित चलचित्रको यो गीतमा लोकनाथ सापकोटाको शब्द र सुरेश अधिकारीको सङ्गीत छ। उदितनारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंले स्वर दिएका छन्। यसको सङ्गीत संयोजन अमुल कार्कीले गरेका हुन्। गीतमा दिलीप रायमाझी, रमित ढुङ्गाना, विपना थापा, सुशील क्षेत्री र झरना थापालगायत कलाकार देखिन्छन्। गीतले दसैँको बाहिरी रमाइलो मात्र देखाउँदैन। घरबाट टाढा गएका आफन्त फर्किने प्रतीक्षा र उनीहरूको आगमनले परिवारमा ल्याउने खुसी पनि यसमा छन्। धानका बाला, गाउँका घर, पिङ, टीका र जमराका दृश्यले चाडको परिचित परिवेश प्रस्तुत गर्छन्। ‘मुग्लान’को कथा नै घर छाडेर परदेश जानुपर्ने मानिस र तिनका परिवारको अनुभवसँग जोडिएको छ। त्यसैले चलचित्रमा दसैँको गीतले मनोरञ्जनसँगै घर, परिवार र पुनर्मिलनको भाव व्यक्त गर्छ। चलचित्रका गीत सामान्यतया कथाको आवश्यकता पूरा गर्न बनाइन्छन्। तर केही गीत चलचित्रबाट बाहिर निस्केर कुनै विशेष अवसरसँग स्थायी रूपमा जोडिन्छन्। ‘मुग्लान’को ‘दसैँ आयो’ त्यस्तै सिर्जनामध्ये एक हो। चलचित्रको कथा नहेरेका मानिसलाई समेत गीतले चाडको वातावरण सम्झाउँछ। यसको लोकप्रियतामा धुनसँगै दृश्यको पनि योगदान छ। गाउँघरको दसैँसँग परिचित पुस्ताले गीतमा आफ्नै अनुभव देख्छ भने नयाँ पुस्ताले त्यसबाट चाड मनाउने परम्परागत वातावरण चिन्न सक्छ। चाडमा पनि घर जान नपाउने फौजी दसैँमा परिवारसँग बस्ने रहर सबैलाई हुन्छ। तर केही पेसामा काम गर्ने मानिसलाई चाडकै दिन पनि जिम्मेवारीबाट छुट्टी मिल्दैन। प्रहरी, सशस्त्र प्रहरी र सैनिकका लागि अरूको चाड सुरक्षित बनाउने काम आफ्नो परिवारसँग चाड मनाउने इच्छाभन्दा अगाडि आउन सक्छ। छोराछोरी बाटो हेरिरहेका छन्। तर जिम्मेवारीमा खटिएको फौजीलाई घर फर्कने अवसर मिलेको छैन। यही अनुभवलाई सशस्त्र प्रहरी बलका निरीक्षक दीपक कोइरालाले गीतमा उतारेका थिए। उनले २०६२ सालमा ‘फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार’ लेखे। गैरे सुरेशको सङ्गीत र जगदीश समालको स्वरमा तयार भएको यो गीत सशस्त्र प्रहरी बलले निर्माण गरेको हो। गीतमा घर फर्किन आग्रह गरिरहेको परिवार छ। छोराछोरी बाटो हेरिरहेका छन्। तर जिम्मेवारीमा खटिएको फौजीलाई घर फर्कने अवसर मिलेको छैन। ऊ परिवारको सम्झना र आफ्नो कर्तव्यबीच उभिएको छ। कोइरालाका अनुसार सुरक्षाकर्मीले चौबिसै घण्टा जिम्मेवारी निर्वाह गर्नुपर्छ। अरू मानिसले सुरक्षित रूपमा चाड मनाउन सकून् भनेर उनीहरू काममा खटिएका हुन्छन्। यही पेसागत अवस्थालाई उनले गीतको विषय बनाएका थिए। यो गीतमा व्यक्त भावनासँग धेरै सुरक्षाकर्मीको वास्तविक जीवन मेल खान्छ। बिदा मिल्नेले परिवारसँग दसैँ मनाउँछन्, नमिल्नेले कार्यालय वा ब्यारेकमै चाड बिताउँछन्। कतिपय स्थानमा कार्यालय प्रमुखबाट टीका र जमरा थाप्ने, सामूहिक भोजन गर्ने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ। सुरक्षा जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता र परिवारसँग चाड मनाउने इच्छा गीतको मूल द्वन्द्व हो। सर्जक आफैँ त्यही पेसामा भएकाले गीतमा एउटा फौजीको अनुभव मात्र नभई धेरै सुरक्षाकर्मीको साझा भावना व्यक्त भएको छ। ठूल्दाइ आउने खुसी, प्रियजन भेट्ने आशा दसैँका सबै गीतका पछाडि युद्ध, आर्थिक अभाव वा पेसागत बाध्यताका कथा छैनन्। कतिपय गीतले घर फर्किने आफन्तको प्रतीक्षा, बालबालिकाको उत्साह र लामो समयपछि हुने भेटघाटलाई विषय बनाएका छन्। गीतको चर्चा गर्दा मूल सर्जक र पछिका गायकको योगदान फरक रूपमा पहिचान गर्नुपर्छ। ‘यसपालिको दसैँमा ठूल्दाइ आउने रे’ यस्तै गीत हो। कुल पोखरेलको शब्द र सङ्गीतमा बनेको गीतलाई बादल प्रसाईंले पनि आफ्नो स्वरमा प्रस्तुत गरेका छन्। प्रसाईंको संस्करणमा सञ्जीव बराइलीको सङ्गीत संयोजन छ। गीतमा घरको जेठो दाजु दसैँमा फर्किने खबरले परिवारमा ल्याउने उत्साह समेटिएको छ। विशेषगरी बालबालिकाका लागि ठूल्दाइको आगमन आफन्तसँग भेट्ने अवसर मात्र होइन, नयाँ लुगा वा उपहार आउने आशा पनि हो। उनीहरूको उमेरअनुसारका सामान्य इच्छा र रहर गीतमा छन्। कुल पोखरेलको मूल सिर्जनालाई पछिल्ला गायकले नयाँ स्वर दिएका छन्। बादल प्रसाईंले प्रस्तुत गरेको संस्करण पनि पोखरेलप्रतिको श्रद्धाञ्जलीका रूपमा सार्वजनिक भएको हो। यसैले गीतको चर्चा गर्दा मूल सर्जक र पछिका गायकको योगदान फरक रूपमा पहिचान गर्नुपर्छ। एउटै पर्वसँग सम्बन्धित गीतमा दाजु घर फर्किने बालसुलभ उत्साहदेखि प्रेमी-प्रेमिकाको बिछोडसम्मका फरक भावना समेटिएका छन्। दसैँमा घर फर्कने आशा र प्रियजनको प्रतीक्षा समेटिएको अर्को गीत ‘बिछोडको पीडा नसकी खप्न’ हो। रत्नशमशेर थापाको शब्द र नारायणगोपालको सङ्गीतमा तयार भएको यो गीत नारायणगोपाल र दिलमाया खातीको स्वरमा चर्चित छ। यसको रेकर्डिङ इतिहास पनि रोचक छ। सन् १९७० को दशकमा नारायणगोपाल दिलमाया खातीसँग गीत गाउन दार्जिलिङ पुगेका थिए। दिलमायालाई गीत गाउन आग्रह गरेपछि दुवैले कलकत्तामा यसको युगल रेकर्डिङ गरेका थिए।गीतमा दसैँको प्रसङ्ग आए पनि यसको मूल भाव प्रेमी-प्रेमिकाबीचको बिछोडसँग जोडिएको छ। गीतकार कृष्णहरि बराल यसलाई पारिवारिक पुनर्मिलनभन्दा बढी प्रेमी-प्रेमिकाको बिछोड र फेरि भेट्ने आशाका रूपमा बुझ्नु उपयुक्त हुने बताउँछन्। दसैँको समयमा प्रियजनलाई भेट्न फर्किने चाहनाले गीतलाई चाडसँग जोडेको छ। यसरी एउटै पर्वसँग सम्बन्धित गीतमा दाजु घर फर्किने बालसुलभ उत्साहदेखि प्रेमी-प्रेमिकाको बिछोडसम्मका फरक भावना समेटिएका छन्। वर्षमा केही दिन बज्ने गीतको लामो आयु दसैँ गीतको एउटा विशेषता छ। धेरैजसो गीत वर्षभरि उत्तिकै बज्दैनन्। चाड नजिकिएपछि रेडियो, टेलिभिजन, सार्वजनिक स्थान र सामाजिक सञ्जालमा ती गीत फेरि सुनिन थाल्छन्। केही दिनका लागि बज्ने भए पनि वर्षौँ पुराना गीतले आफ्नो स्थान गुमाएका छैनन्। गीतकार कृष्णहरि बरालका अनुसार दसैँलाई मात्र विषय बनाउँदा गीत सुनिने समय सीमित हुन्छ। तिहारलाई पनि समेट्दा त्यसको अवधि केही लम्बिन्छ। त्यसैले दसैँ र तिहार दुवै चाडलाई एउटै गीतमा प्रस्तुत गर्ने चलनको व्यावहारिक पक्ष पनि छ। सयपत्रीको माला, टीका, जमरा र गाउँघरको खुसी सम्झँदा परदेशमा रहेका व्यक्तिमा घर फर्कने चाहना र बिछोडको पीडा जाग्छ। सुगम पोखरेलको ‘दसैँ–तिहार’ यसको एउटा उदाहरण हो। रवि श्रेष्ठको शब्द र पोखरेलकै सङ्गीत तथा स्वर रहेको गीतमा चाडको उल्लाससँगै परदेशमा रहेका मानिसको सम्झना छ। घरमा चाडको रमाइलो भइरहँदा टाढा रहेका मानिसमा उठ्ने भावनालाई यसले ठाउँ दिएको छ। सयपत्रीको माला, टीका, जमरा र गाउँघरको खुसी सम्झँदा परदेशमा रहेका व्यक्तिमा घर फर्कने चाहना र बिछोडको पीडा जाग्छ। गीतको लोकप्रियतामा खुसी र दुःखका यी दुवै भावना जोडिएका छन्। घरमा चाड मनाइरहेका मानिसले यसमा उत्सव पाउँछन् भने घरबाट टाढा रहेकाले परिवार र गाउँघर सम्झिन्छन्। फरक ठाउँमा रहेका श्रोताले एउटै गीतलाई फरक अनुभूतिका साथ सुन्न सक्छन्। चलचित्रमा समेटिएका दसैँ गीतमा पनि यस्तै विविधता छ। ‘अल्लारे’को ‘रातो टीका निधारमा’ र ‘मन मन्दिर’को ‘रातो टीका दसैँको जमरा’ले चाडको परिवेशलाई प्रेम, नाचगान र मनोरञ्जनसँग जोडेका छन्। यी गीतलाई कुनै एउटा वास्तविक घटनाबाट जन्मिएका सिर्जना भन्न मिल्दैन। तर चलचित्रमा दसैँको वातावरण प्रस्तुत गर्न बनाइएका गीत पछि चाडसँग जोडिएका परिचित सङ्गीत बनेका छन्। चाडका अवसरमा बज्ने गीतमा दुःख, बिछोड र आर्थिक सकस मात्र होइन, प्रेम, नृत्य र उल्लास पनि उत्तिकै महत्त्वपूर्ण छन्। गीतभन्दा पुरानो मालश्री दसैँको सङ्गीत आधुनिक गीत वा चलचित्रबाट सुरु भएको होइन। चाड नजिकिएको सङ्केत दिने मालश्री धुनको परम्परा धेरै पुरानो छ। काठमाडौँ उपत्यकाको नेवार समुदायमा ऋतुअनुसार राग गाउने तथा बजाउने परम्परासँग यसको सम्बन्ध छ। आधुनिक समयमा वाद्यसङ्गीत समूह सुरसुधाले प्रस्तुत गरेको मालश्री धुनले पनि व्यापक परिचय पाएको छ। उपत्यकाका दाफा भजन समूहमा वर्षका विभिन्न ऋतुअनुसार फरक राग गाउने चलन छ। शरद ऋतुमा मालश्री बजाउने परम्परा रहेको सांस्कृतिक विवरण पाइन्छ। शरद ऋतु र मोहनी नखः अर्थात् दसैँ एउटै समयमा पर्ने भएकाले मालश्री चाडसँग जोडिएको मानिन्छ। मालश्रीको उत्पत्तिको निश्चित मिति र एउटै सर्जकबारे निर्विवाद प्रमाण छैन। तर मल्लकालदेखि यसको प्रयोग र विकास भएको विवरण पाइन्छ। आधुनिक समयमा वाद्यसङ्गीत समूह सुरसुधाले प्रस्तुत गरेको मालश्री धुनले पनि व्यापक परिचय पाएको छ। यसैले मालश्री सुन्दा दसैँ आएको अनुभूति हुनु कुनै एउटा गीत वा चलचित्रको लोकप्रियताबाट मात्र विकसित भएको होइन। यसको सम्बन्ध पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक अभ्याससँग छ। मालश्रीले चाड आएको सङ्केत दिन्छ भने आधुनिक गीतले चाडमा मानिसले भोग्ने फरक-फरक अवस्थालाई शब्द र स्वर दिएका छन्। एउटै चाडका फरक कथा दसैँसँग जोडिएका गीतका जन्मकथा हेर्दा नेपाली समाजका फरक अनुभव भेटिन्छन्। प्रेमबहादुर बस्नेतले खसी किन्न नसक्दा रोएका दुई मानिसको अवस्था देखेर गीत लेखे। लक्ष्मण रायमाझीले युद्धमा खटिएका गोर्खा सैनिकको मृत्यु र त्यसले परिवारमा ल्याउने वियोगलाई शब्द दिए। दीपक कोइरालाले चाडमा पनि जिम्मेवारीमा खटिनुपर्ने फौजीको मनोभाव गीतमा उतारे। अरू गीतमा परदेशबाट दाइ फर्किने खुसी, गाउँघरमा चाड मनाउने रमाइलो, प्रेमी–प्रेमिकाको भेट्ने चाहना र परिवारसँग बिताएका पुराना दसैँको सम्झना छन्। एउटै पर्वले मानिसका जीवनमा कति फरक अर्थ राख्छ भन्ने कुरा यी गीतबाट बुझ्न सकिन्छ। पहिले रेडियो, क्यासेट र टेलिभिजनबाट सुनिने गीत अहिले युट्युब र मोबाइलमा उपलब्ध छन्। दसैँ कसैका लागि परिवारसँग भेट्ने अवसर हो भने कसैका लागि खर्च जुटाउने चिन्ता। कसैले चाडमा घर फर्कने तयारी गर्छन्, कसैले टाढैबाट परिवार सम्झिन्छन्। केही मानिस अरूले सुरक्षित रूपमा चाड मनाउन सकून् भनेर काममा खटिएका हुन्छन्। यी सबै अनुभव गीतमा ठाउँ पाएका छन्। पहिले रेडियो, क्यासेट र टेलिभिजनबाट सुनिने गीत अहिले युट्युब र मोबाइलमा उपलब्ध छन्। गीत सुन्ने माध्यम फेरिएको छ, तर कतिपय सिर्जनाको मूल सन्दर्भ अझै सान्दर्भिक छ। चाडको खर्च जुटाउने कठिनाइ, परदेशमा परिवारको सम्झना र कामका कारण घर जान नपाउने बाध्यता नेपाली समाजबाट हटेका छैनन्। त्यसैले दसैँ आउँदा पुराना गीत फेरि बज्नुको अर्थ पुरानो सङ्गीतप्रतिको मोह मात्र होइन। श्रोताले ती गीतमा आफ्नै जीवनसँग मिल्ने कथा र अनुभव भेट्छन्। पशुपतिमा रोएका दुई मानिस, युद्धमा मारिएका सैनिकका आफन्त र चाडमा ड्युटी गर्नुपर्ने फौजीका अनुभव फरक समयमा गीत बने। ती गीत जन्माउने परिस्थितिका केही पक्ष इतिहासमा पुगिसकेका छन्। तर चाडमा खुसी खोज्ने, परिवार सम्झिने र अभावका बीच पनि दसैँ मनाउने मानिसका भावना आज पनि उस्तै छन्। दसैँ सम्झाउने दस गीत
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

युक्रेन युद्ध अन्त्य गर्न नोभेम्बरमा अबु धाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने तयारी
• रुस, युक्रेन र अमेरिका बीच नोभेम्बरमा अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ। • वार्ताको उद्देश्य युक्रेन युद्ध अन्त्य गर्नु हो र रुसले वार्ता पुनः सुरु गर्न तत्परता देखाएको छ। • रुसले वार्ता नोभेम्बर १० आसपास हुन सक्ने सङ्केत दिएको छ, जबकि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाँडो वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। ...

अस्ट्रियाद्वारा कूटनीतिक मर्यादाविपरीत गतिविधिको आरोपमा चार रूसी कूटनीतिज्ञ निष्कासित
• अस्ट्रियाले चार रूसी कूटनीतिज्ञलाई कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा संलग्न भएको आरोपमा देश छाड्न आदेश दिएको छ। • रूसी दूतावासले अस्ट्रियाको निर्णयको आलोचना गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ। • युरोपका विभिन्न देशहरूले सन् २०२२ पछि रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएका छन्, जसमा अस्ट्रियाले पनि पटक-पटक यस्तो कदम उठाएको छ। ...

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
काठमाडाैँ। अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको... ...

विराटनगर किंग्सका प्रशिक्षकद्वय आइपुगे नेपाल
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका मुख्य प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन् । श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले टोलीको समग्र रणनीति, खेलाडीको प्रदर्शन र टिम संयोजनको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, स्पिन प्रशिक्षक दिनुक शुलाक्षनाले टोलीका स्पिन बलरहरूको क्षमता अभिवृद्धि र बलिङ रणनीतिमा काम गर्नेछन् । विराटनगरले ...


