दसैँमा बाँकेका थारु बस्तीमा सखिया नाचको रौनक

बाँके । दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ । थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् । दिनभरको काम सकेर साँझपख सामूहिक रूपमा नाचिने यस नाचले गाउँमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ । कोहलपुर नगरपालिका–मैटहवाका थारु अगुवा दीपेन्द्र चौधरीले पछिल्लो समय गाउँबस्तीमा दैनिकजसो सखिया नाच हुन थालेपछि दसैँको रौनक थपिएको बताए । उनका अनुसार नाचका क्रममा दुष्टात्माबाट जोगिन गुरुवाको व्यवस्था गरिन्छ भने गाउँका बरघर तथा भद्रभलादमीले यसको संरक्षण र व्यवस्थापनमा भूमिका निर्वाह गर्छन् । राप्तीसोनारी गाउँपालिका–बैजापुरका थारु अगुवा विक्रम थारुका अनुसार सखिया नाचमा युवतीले नृत्य गर्ने र युवाले मादल बजाउने परम्परा छ । नाचमा मादलको सङ्ख्या र ताल बढ्दै जाँदा यसको आकर्षणसमेत बढ्ने उनले बताए । यसका लागि कम्तीमा चारदेखि पाँच जनासम्म मादल बजाउने युवा सहभागी हुने गर्छन् । सखिया नाचमा सामान्यतया १५ देखि २० जना युवती सहभागी हुन्छन् । उनीहरू सेतो फरिया, रातो चोलिया र रातो रिबन लगाएर परम्परागत पहिरनमा सजिने गर्छन् । थारु संस्कृति झल्काउने विभिन्न गहना तथा सात रङले सजाइएको मञ्जीरा नाचको थप आकर्षण बन्ने गरेको छ । बाँकेको टिटिहिरियाका शङ्करसिंह थारुका अनुसार सखिया नाचमा डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव–पार्वती, पाण्डव र कृष्णलगायत देवीदेवताको स्तुति गीतमार्फत गरिन्छ । गीतका माध्यमबाट समुदायको शान्ति, सुख र सुरक्षाको कामना गर्ने परम्परा रहेको उनले बताए । नाचमा सहभागी युवतीले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, ऐरम, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना र कुकरलगौतीलगायत परम्परागत गहना लगाउने गर्छन् । उनीहरूको पहिरनमा गोन्या, चोल्या र फरियाको प्रयोगले थारु समुदायको मौलिक संस्कृति झल्काउने गरेको अगुवाहरू बताउँछन् । गाउँका साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर सामूहिक रूपमा नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको थारु अगुवाहरूको भनाइ छ । यो नाचले समुदायमा सामूहिकता, आपसी सहयोग र एकताको भावना बलियो बनाउने गरेको छ । सखिया नाच सम्पन्न भएपछि सहभागीले सङ्कलन गरेको रकमबाट माछा, मासु तथा अन्य परिकार तयार गरी सामूहिक रूपमा खाने चलनसमेत रहेको छ । यसले मनोरञ्जनसँगै सामुदायिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउँदै आएको छ । थारु समुदायको मौलिक कला, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको सखिया नाच दसैँका बेला पुस्तान्तरण हुँदै आएको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो
दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ। वर्षभरि खेतबारीमा पसिना बगाएका किसानका लागि ...

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले... ...

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो ।... ...

रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन
काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने ...


