दसैँका पुराना सम्झना, बदलिँदो समय

लमजुङ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो। बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो। आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे। विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे। घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो। अहिले समय फेरिएको छ। दसैँ अझै आउँछ, घरआँगन सजिन्छन्, आफन्त घर फर्किन्छन् र मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद लिने परम्परा कायम छ। तर, पहिले गाउँघरमा देखिने पिङको चहलपहल, सामूहिक खेलकुद र भेटघाटको रौनक धेरै ठाउँमा घट्दै गएको छ। रोजगारीका लागि गाउँ छाड्ने क्रम, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले दसैँ मनाउने तरिकामा परिवर्तन ल्याएका छन्। बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीका लागि दसैँ विगतका अनेक सम्झनासँग जोडिएको पर्व हो। उनको बाल्यकालमा आर्थिक अभाव थियो। वर्षमा एक जोर नयाँ लुगा पाउन कठिन हुन्थ्यो। नयाँ लुगा लगाउन पाउँदा ठूलो खुसी मिल्ने गरेको उनी सम्झिन्छन्। त्यतिबेला सबैको नयाँ कपडा किनेर लगाउने अवस्था थिएन। घरमै उपलब्ध कपडाबाट लुगा सिलाएर लगाउने चलन थियो। “एक जोर नयाँ लुगा लगाउन पाउँदा खुट्टा भुईँमा नपरेजस्तो लाग्थ्यो,” उनले बाल्यकाल सम्झँदै भने। त्यतिबेला दसैँमा खानपानको अवस्था पनि अहिलेको जस्तो सहज थिएन। मासु खान वर्ष दिन कुर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ। अहिले खानपान र किनमेलको सुविधा बढे पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई चाडपर्व मनाउन कठिन हुने गरेको उनी बताउँछन्। विगतमा आर्थिक अवस्था फरक भए पनि अहिलेको जस्तो खर्च र देखासिकीको दबाब कम रहेको उनको बुझाइ छ। दसैँको अर्को आकर्षण पिङ थियो। गाउँका मानिस मिलेर पिङ हाल्थे। युवाहरू बाबियो सङ्कलन गरेर डोरी बाट्थे र आवश्यक काठ तथा अन्य सामग्री जुटाउँथे। टाढाटाढाबाट मानिस पिङ खेल्न आउने गरेको तिवारी सम्झिन्छन्। पिङ खेल्ने, गीत गाउने र साथीभाइसँग रमाइलो गर्ने गतिविधिले गाउँमा आत्मीयता बढाउँथ्यो। त्यतिबेला कौडा तथा अन्य परम्परागत खेल खेल्ने चलन पनि थियो। मकैका गेडा, आरुको गुठली र ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेलिने खेल बालबालिकाका मनोरञ्जनका माध्यम थिए। गाउँले भेला भएर खेल्ने, गफ गर्ने र गीतसङ्गीतमा रमाउने गर्थे। मनोरञ्जनका साधन सीमित भए पनि सामूहिक सहभागिताले दसैँलाई रमाइलो बनाउने गरेको उनको अनुभव छ। दसैँको तयारीमा गाउँलेबीच सहयोग र सहकार्य उत्तिकै महत्त्वपूर्ण थियो। घरायसी काम गर्न नसक्ने ज्येष्ठ नागरिक तथा असहायलाई अरूले सघाउँथे। परमा प्रथाअनुसार एक अर्काको काममा सहयोग गरिन्थ्यो। दसैँअघि बाटोघाटो, चौतारा र सार्वजनिकस्थल सफा गर्ने तथा मिलेर चाडपर्वको तयारी गर्ने चलन थियो। दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ जानेआउने र मान्यजनबाट टीका लगाउने परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउँथ्यो। अहिले गाउँको अवस्था फेरिएको छ। पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गएका छन्। दसैँमा घर फर्किने पनि छोटो समय बसेर फर्किने हुँदा पहिलेको जस्तो चहलपहल नहुने गरेको तिवारीको अनुभव छ। कतिपय बालबालिका अष्टमीका आसपास गाउँ आउने र टीकाको भोलिपल्टै फर्किने गरेका छन्। पिङ खेल्ने चलन पनि पहिलेको तुलनामा कम भएको छ। मोबाइलको बढ्दो प्रयोगले परिवारका सदस्यबीचको संवाद र घरायसी काममा सहभागिता घटेको उनको गुनासो छ। बालबालिका मोबाइलमै व्यस्त हुँदासँगै बसेर कुराकानी गर्ने र घरको काममा सघाउने प्रवृत्ति कम हुँदै गएको उनी बताउँछन्। आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा देखिने भिन्नताले पनि चाडपर्वको अनुभूतिमा फरक पारेको उनको बुझाइ छ। पुरानो पुस्ताको सम्झना, नयाँ पुस्ताको अनुभव स्थानीय युवा सुवास गुरुङ पनि दसैँ मनाउने शैलीमा परिवर्तन आएको अनुभव गर्छन्। उनका अनुसार बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङ खेल्ने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो। अहिले गाउँमा साथीभाइको सङ्ख्या कम हुँदा यस्ता गतिविधि पनि घट्दै गएका छन्। पहिले गाउँमा प्रचलित रङ्गटे पिङ अहिले पनि कतैकतै देखिए पनि यसको चलन निकै कम भएको गुरुङ बताउँछन्। दसैँमा साथीभाइ भेटघाट गरेर कुराकानी गर्ने र रमाइलो गर्नेभन्दा खानपान तथा मोबाइलमा समय बिताउने प्रवृत्ति बढेको उनको अनुभव छ। “पहिले दसैँ परम्परागत संस्कार र संस्कृतिमा आधारित भएर मौलिक ढङ्गले मनाइन्थ्यो। अहिले भने आधुनिक शैली र देखासिकीको प्रभाव बढ्दै गएको छ,” उनले भने। मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीका कारण पारिवारिक भेटघाटमा कमी आएको गुरुङको बुझाइ छ। कतिपय युवा विदेशमा र परिवारका सदस्य टाढा हुँदा घरमा चहलपहल कम हुने गरेको उनी बताउँछन्। यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा पनि चिन्ता बढाएको उहाँको भनाइ छ। पुराना संस्कार र संस्कृति जोगाउन युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन्। आधुनिक समयलाई आत्मसात् गर्दै पुर्खाबाट प्राप्त परम्परालाई व्यवहारमा उतार्नुपर्ने उनको सुझाव छ। “आधुनिक समयलाई आत्मसात् गर्दै मौलिक संस्कार र संस्कृतिलाई पनि जोगाउनुपर्छ। पुर्खाबाट प्राप्त परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानसके मात्रै हाम्रो मौलिकता जीवित रहन्छ,” उनले भने। ६३ वर्षीया धङ्खु गुरुङलाई पनि पहिलेको दसैँको सम्झना ताजै छ। उनका अनुसार विगतमा दसैँ सामूहिक रूपमा मनाइन्थ्यो। गाउँका मानिस मिलेर लिङ्गे तथा रङ्गीचङ्गी पिङ हाल्ने, खेल्ने र भेटघाट गर्दै सुखदु:खका कुरा साटासाट गर्ने गर्थे। गाउँघरमा मानिसको चहलपहल हुन्थ्यो भने चाडपर्वले आपसी सम्बन्ध र आत्मीयता बढाउने अवसर प्रदान गर्थ्यो। दसैँको तयारीमा महिलाको भूमिका महत्त्वपूर्ण हुने गरेको उनी सम्झिन्छिन्। घर लिपपोत गर्ने, घरआँगन सजाउने, बाबियो काटेर कुच्चो बनाउने तथा सालका पातबाट दुना–टपरी गाँस्नेजस्ता काममा महिला व्यस्त हुन्थे। घरायसी सामग्री आफैँ तयार पार्ने र मिलेर चाडपर्व मनाउने चलन थियो। अहिले भने यस्ता परम्परागत अभ्यास घट्दै गएको उनको अनुभव छ। गुरुङका श्रीमान् भारतीय सेनामा कार्यरत थिए। लाहुरे श्रीमान् बिदामा घर फर्किने समय परिवारका लागि विशेष खुसीको क्षण हुने गरेको उनी बताउँछिन्। श्रीमान् कहिले घर आउलान् भन्ने प्रतीक्षामा दसैँको उत्साह थपिन्थ्यो। उनको कमाइबाट घरपरिवार चलाउने गरिन्थ्यो। अहिले उनका छोरा पनि लाहुरे छन्। विगतमा परिवारका सदस्य घर फर्किएपछि सबै मिलेर चाडपर्व मनाउँदाको खुसी बेग्लै हुने गरेको उनी सम्झिन्छिन्। “पहिले पैसा धेरै नभए पनि गाउँमा मानिसको जमघट हुन्थ्यो। सबै मिलेर दसैँ मनाउँथ्यौँ, रमाइलो गर्थ्यौँ। अहिले पैसा भए पनि पहिलेको जस्तो गाउँमा चहलपहल र रौनक छैन,” उनले भनिन्। उनका अनुसार अहिले रोजगारी र अवसरको खोजीमा युवा विदेशिने क्रम बढेसँगै गाउँघरमा युवा पुस्ताको उपस्थिति पातलिँदै गएको छ। विदेशमा रहेका परिवारका सदस्यले पठाएको रकमबाट दसैँ मनाउने क्रम रहे पनि पहिलेको जस्तो सामूहिक भेटघाट र रमाइलो हुन सकेको छैन। गाउँ फर्किएका युवाको भेटघाट गर्ने शैलीसमेत बदलिएको उनी बताउँछिन्। पहिले गाउँमा भेला भएर पिङ खेल्ने, गफ गर्ने र मिलेर रमाइलो गर्ने चलन बढी भए पनि अहिले कतिपय युवा गाउँमै हुँदा पनि मोबाइलमा व्यस्त हुने गरेका छन्। यसले सँगै बसेर कुराकानी गर्ने, सुखदु:ख साटासाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने अवसर घटाएको उहाँको अनुभव छ। रोजगारीका लागि गाउँ छाड्ने क्रम र बदलिँदो जीवनशैलीले पुराना संस्कार, संस्कृति र सामूहिकताको परम्परा कमजोर हुँदै गएको उनको चिन्ता छ। परम्परा जोगाउँदै समयसँग अघि बढ्ने दसैँ हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो। घटस्थापनादेखि सुरु हुने नवरात्रमा देवी दुर्गाको पूजा आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ। असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको सन्देश बोकेको दसैँ धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व हो। दसैँसँग जोडिएका पिङ, परम्परागत खेल, चङ्गा उडाउने गतिविधि र सामूहिक भेटघाटले विगतमा गाउँघरको जीवनलाई जीवन्त बनाउँथे। यस्ता गतिविधि मनोरञ्जनका माध्यम मात्र थिएनन्, आपसी सहयोग, मित्रता र सामुदायिक सम्बन्ध बलियो बनाउने अवसर पनि थिए। अहिले यस्ता चलन सबै ठाउँमा उस्तै अवस्थामा छैनन्। कतै अझै निरन्तरता छ भने कतै घट्दै गएका छन्। बदलिँदो समयसँगै चाडपर्व मनाउने शैली फेरिनु स्वाभाविक हो तर परिवर्तनका क्रममा आफ्ना मौलिक परम्परा र सामाजिक सम्बन्धलाई बेवास्ता गर्नु उचित हुँदैन। नयाँ पुस्तालाई पुराना खेल, संस्कार र परम्पराको महत्त्व बुझाउने, ज्येष्ठ नागरिकका अनुभव सुन्ने तथा परिवार र समुदायसँग समय बिताउने अवसर सिर्जना गर्न आवश्यक छ। दसैँलाई पहिलेको जस्तै बनाउन सबै कुरा पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने होइन। आधुनिक जीवनशैली र प्रविधिको उपयोग गर्दै पनि पारिवारिक भेटघाट, आपसी सहयोग र सामूहिक खुसीलाई प्राथमिकता दिन सकिन्छ। गाउँमा रहेका परम्परागत खेल र सांस्कृतिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्न सके तिनको निरन्तरता सम्भव हुन्छ। दसैँ आज पनि उत्तिकै महत्त्वपूर्ण छ। तर, यसको रौनक र अनुभव समयसँगै बदलिँदै गएको छ। ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व केवल खानपान र बिदामा सीमित नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको सम्बन्धसँग जोडिएको देखाउँछन्। त्यसैले बदलिँदो समयसँगै दसैँ मनाउने शैली परिवर्तन भए पनि यसको आत्मीयता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्नु आवश्यक छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


