दशैँपछि राजधानी फर्किए उपभोक्ता : कालीमाटी तरकारी बजारमा बढ्यो चहलपहल र कारोबार

काठमाडाैं । बडादशैँ मनाउन आ-आफ्नो गृहजिल्ला पुगेका नागरिकहरू कर्मथलो काठमाडौं उपत्यका फर्किएसँगै यहाँको प्रमुख कृषि उपज केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारिक चहलपहल ह्वात्तै बढेको छ । दशैँका कारण केही दिन सुनसान प्रायः बनेको थोक तथा खुद्रा बजारमा उपभोक्ता र खुद्रा व्यापारीको चाप बढ्न थालेपछि कारोबार पुरानै लयमा फर्किन थालेको हो । दशैँको मुख्य दिनहरूमा उपत्यका प्रायः खाली हुँदा तरकारीको माग र आपूर्ति दुवै न्युन बिन्दुमा झरेको थियो । टीकाको भोलिपल्टदेखि नै राजधानी भित्रिने यात्रुहरूको संख्यामा वृद्धि भएसँगै दैनिक उपभोग्य वस्तु, विशेषगरी हरियो तरकारीको माग एकाएक बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हाल बिहानैदेखि थोक विक्रेता, खुद्रा व्यापारी र सर्वसाधारण उपभोक्ताहरूको बाक्लो उपस्थितिले बजार चलायमान बनेको छ । माग बढेसँगै काठमाडौं वरिपरिका जिल्लाहरू धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर तथा चितवनबाट हरियो तरकारी र अन्य कृषि उपज भित्रिने क्रम पनि तिब्र भएको छ । चाडपर्वका बेला ढुवानी तथा संकलन प्रभावित हुँदा आपूर्ति खस्किए पनि अहिले नियमित रूपमा तरकारीका ट्रकहरू कालीमाटी प्रवेश गरिरहेका छन् । स्थानीय उत्पादनका साथै तराईका जिल्लाहरूबाट समेत नियमित आपूर्ति शुरु भइसकेको छ । बजारमा प्याज, आलु, गोलभेडा, काउली, बन्दा र हरिया सागपातको कारोबार बढी देखिएको छ । व्यापारीहरूकाअनुसार दशैँको बिदाका कारण बन्द रहेका होटल, रेस्टुरेन्ट तथा होस्टेलहरू पुनः सञ्चालनमा आउन थालेपछि तरकारीको दैनिक खपतमा उल्लेखनीय वृद्धि भएको हो । माग र आपूर्तिको सन्तुलन क्रमशः मिल्दै गएकाले मूल्य पनि सामान्य अवस्थातर्फ उन्मुख भइरहेको व्यवसायीहरूको भनाइ छ । आगामी तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा चहलपहल अझै बढ्ने अनुमान गरिएको छ । कालीमाटी बजार विकास समितिले उपभोक्ताको हितलाई ध्यानमा राखी आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्याउन ३० जना मनोनीत गर्नुपर्ने
तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...


