काठमाडाैं । भारत सरकारले तिब्बती धर्मगुरु दलाई लामाको कार्यालय ‘गादेन फोड्राङ’का लागि नयाँ दिल्लीको लुटियन्स क्षेत्रमा सरकारी बंगला उपलब्ध गराएको छ । नयाँ दिल्लीस्थित पण्डित रविशंकर शुक्ल लेनमा रहेको उक्त बंगलालाई दलाई लामाको कार्यालयका रूपमा प्रयोग गरिनेछ । उनको दिल्ली भ्रमणका क्रममा आवास र सुरक्षा व्यवस्थापनमा हुने कठिनाइलाई ध्यानमा राख्दै स्थायी कार्यालयका लागि बंगला उपलब्ध गराइएको हो । बंगलामा सुरक्षा व्यवस्था थप मजबुत बनाउन ३४ लाख ९४ हजार भारतीय रुपैयाँ खर्च गर्ने गरी अतिरिक्त संरचना निर्माण तथा जडानको काम अघि बढाइएको छ । भवनको वरिपरि अग्ला धातुका पर्खाल, काँडेतार, बलियो प्रवेशद्वार र सुरक्षाकर्मी बस्ने कक्ष निर्माण गरिएको छ । केन्द्रीय लोक निर्माण विभागले बंगलाको सुरक्षा पूर्वाधार थप गर्न ३४ लाख ९४ हजार रुपैयाँको टेन्डरसमेत आह्वान गरेको थियो । दलाई लामाको कार्यालयका अनुसार उनको उमेर र दिल्ली भ्रमणका क्रममा होटलमा आवास तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन हुने कठिनाइका कारण स्थायी सुविधा आवश्यक परेको हो । यसका लागि भारतीय विदेश मन्त्रालय र दलाई लामाको कार्यालयबीच समन्वय गरिएको जनाइएको छ । लुटियन्स दिल्ली भारतको राजधानी क्षेत्रको उच्च सुरक्षा व्यवस्था रहेको महत्वपूर्ण स्थानका रूपमा परिचित छ ।
दलाई लामालाई भारतले दिल्लीको लुटियन्स क्षेत्रमा दियाे सरकारी बंगला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





