ती दिनहरू फेरि आउँलान र ?

नेपालका विकासका पूर्वाधारले पर्याप्त रूपमा नछोएको पहाडी जिल्ला खोटाङको हालको खोटेहाङ गाउँपालिका–७ मा पर्ने एउटा सानो गाउँ हो, बरबोटे । कुनै समय जम्मा नौ घरपरिवारको बसोवास रहेको यो गाउँमा बाहुन, भुजेललगायत समुदायका मानिसहरू मिलेर बस्थे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बरबोटे गाउँमा नै मेरो जन्म भएको हो । आफू जन्मिएको र हुर्किएको गाउँ कसलाई नराम्रो लाग्ला र ! तर पनि बरबोटेको सुन्दरता र विशेषता सम्झँदा आज पनि मन त्यसै रमाउँछ । समथर र भिरालो भू–भागको मिश्रण रहेको यो सानो गाउँ कुवापानी, पुरानागाउँ, रातमाटा र गुठ गरी चार गाउँको बीचमा अवस्थित थियो । बजारबाट न धेरै टाढा, न धेरैनजिक रहेको बरबोटे भौगोलिक हिसाबले पनि उपयुक्त ठाउँमा थियो । प्रकृतिको काखमा अवस्थित शान्त र मनमोहक गाउँमा बिताएको मेरो बाल्यकाल जीवनकै सबैभन्दा सुनौला र अविस्मरणीय समयमध्ये एक हो । गाउँका पाखापखेरा, खुला चौर र वनजंगलमा गाईवस्तु चराउँदै डण्डिबियो, गट्टी, लठ्ठीमारी र लुकिडुम खेल्दाका ती दिनहरू आज पनि मानसपटलमा ताजै छन् । प्रविधिको विकास र शहरीकरणले गाउँको जनजीवनलाई खासै नछोएको त्यस समयमा प्रकृतिसँग रमाउनु, साथीभाइसँग रैथाने खेल खेल्नु र स्वतन्त्र रूपमा समय बिताउनुको आनन्द नै बेग्लै थियो । आजको जस्तो मोबाइल र कम्प्युटरमा रमाउने समय थिएन । हाम्रा लागि प्रकृति नै खेलमैदान थियो भने वरिपरिका रूखबिरुवा, ढुंगामाटो र काठका टुक्रा नै खेलका सामग्री । त्यो बेला गाउँका प्रायः सबै घरमा गाईभैँसी र बाख्रा पालिन्थे । पशुपालन र खेतीपाती नै अधिकांश परिवारको जीविकोपार्जनको प्रमुख आधार थियो । अन्य दिन स्कुल जान्थ्यौँ भने बिदाका दिन र घरमा रोपाइँ, श्राद्ध, पूजाआजाजस्ता विशेष काम हुँदा पनि खाना खाएपछि गोठालो जाने चलन थियो । गाउँका छ घरपरिवारका हामी बालबालिका मिलेर गाईवस्तु चराउन जान्थ्यौं ।गाउँनजिकै रहेको भुतेपहरो, पुरानागाउँको पोखरी, दह, ठूलो चौर, दारेगौंडो, मगरगाउँको पाखो, चिलाउनेटार, भान्दाइ डाँडो हुँदै डोब्ल्याङ कुवासम्म पुग्नु हाम्रो बिदाको नियमित तालिकाजस्तै थियो । पानीको अभाव र सीमित अवसरका कारण गाउँ छोड्नुपर्ने बाध्यता धेरैलाई परेको छ । कुनै समय बालबालिकाको हाँसो र खेलले गुञ्जायमान हुने खुला चौरहरू अहिले सुनसान हुँदै गएका छन् । ती ठाउँका नाम अहिले सम्झँदा पनि बाल्यकालका अनेक दृश्य आँखाअगाडि आउँछन् । घाँसको सुगन्ध, चराचुरुंगीको चिरबिर आवाज र गाईका गलामा बाँधिएका घण्टीको टिनटिनले वरिपरिको वातावरण संगीतमय बनाउँथ्यो । गाईवस्तु चौरमा चर्दै गर्दा हामी भने खेल्ने योजना बनाउन थालिसकेका हुन्थ्यौं । प्रायः प्रत्येक घरबाट कम्तीमा एकजना साथी गोठालोमा सहभागी हुन्थ्यो । हामीमध्ये कोही नआउँदा त्यो दिनको रमाइलो नै खल्लो लाग्थ्यो । हाम्रो उमेर समूहका १० देखि १७ वर्षसम्मका साथीहरूसँगै हुँदा गोठालो जानु केवल जिम्मेवारी निर्वाह गर्नु थिएन, बरू भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र मन खोलेर खेल्ने अवसर पनि थियो । गाईबाख्रालाई भुतेपहरो, पुरानागाउँको पोखरी, दह, ठूलो चौर, दारेगौंडो, मगरगाउँको पाखो, चिलाउनेटार वा भान्दाइ डाँडोजस्ता ठाउँमा पुर्याएर चराउन छोडेपछि हाम्रो मुख्य काम खेल्नु हुन्थ्यो । त्यसमध्ये डण्डिबियो हाम्रो विशेष प्रिय खेल थियो । सतिबयर, चिलाउनेलगायतका रूखका सिधा हाँगा काटेर हामी आफैं खेल्ने सामग्री तयार पार्थ्यौं । करिब एक फिट लामो डण्डी र एकदेखि दुई फिटसम्म लामो, दुवैतिर तिखारिएको बियो बनाइन्थ्यो । जमिनमा सानो खाल्डो खनिन्थ्यो, जसलाई हामी ‘खोपी’ भन्थ्यौं । त्यही खोपीमा बियो राखेर डण्डीले उछिट्ट्याउँदै खेल सुरु हुन्थ्यो । डण्डिबियो एक्लाएक्लै वा दुई समूहबीच प्रतिस्पर्धात्मक रूपमा खेलिन्थ्यो । खोपीमा राखिएको बियोलाई डण्डीले जोडले उछिट्ट्याएर हावामा पुर्याउने र फेरि डण्डीले नै हिर्काएर टाढासम्म पुर्याउने प्रयास गरिन्थ्यो । विपक्षी समूहका साथीहरू बियो हावामै समात्न तम्तयार भएर बस्थे । कसैले बियो समात्न सफल भयो भने प्रहार गर्ने खेलाडी आउट हुन्थ्यो । त्यसपछि अर्को खेलाडीको पालो आउँथ्यो । यही नियमले खेललाई थप रोमाञ्चक बनाउँथ्यो । यदि बियोलाई हावामै कसैले समात्न सकेन भने अर्को चरण सुरु हुन्थ्यो । टाढा पुगेको बियोलाई विपक्षी खेलाडीले डण्डीले हिर्काएर खोपीसम्म पुर्याउने प्रयास गर्थे । बियोमा डण्डी लागेमा खेलाडी आउट हुने नियम थियो । त्यसपछि बियोलाई जमिनमा राखेर डण्डीले ठ्याक लगाइन्थ्यो । जति ठ्याक लाग्थ्यो, त्यहीअनुसार अंक प्राप्त हुन्थ्यो । त्यसपछि बियोलाई सकेसम्म टाढा पुर्याउने प्रतिस्पर्धा चल्थ्यो । बियो कति टाढा पुग्यो भन्ने नाप्न डण्डी नै प्रयोग गरिन्थ्यो । ‘एक, दुई, तीन’ भन्दै डण्डीले दूरी नापेर अंक जोड्दाको रमाइलो बयान गरिसाध्य छैन । खेलमा जित हासिल गर्दा हामीलाई कुनै ठूलो प्रतियोगिताको ट्रफी जितेजत्तिकै खुशी लाग्थ्यो । कहिलेकाहीँ बियोलाई टाढा पुर्याउने धुनमा चिलाउनेटारबाट पोखरी, भान्दाइ डाँडाबाट दारेगौंडो हुँदै करिब एक–दुई किलोमिटर तलसम्म पुग्थ्यौं । खेलको उत्साहले दूरी र समयको कुनै ख्याल हुँदैनथ्यो । खेलमा यति धेरै मग्न हुन्थ्यौं कि गाईवस्तु पोखरीछेउका मकैबारी वा अरूका खेतबारीमा पसेको समेत पत्तो पाउँदैनथ्यौं । जब खेतका मालिकले टाढाबाट कराएको सुनिन्थ्यो, तब बल्ल झस्किएर खेल छोड्थ्यौं र हस्याङ्फस्याङ गर्दै गाईवस्तु धपाउन दौडिन्थ्यौं । कहिलेकाहीँ अरूको बाली खाइदिएका कारण गाली पनि खानुपर्थ्यो । तर, त्यसबेला ती गाली पनि बाल्यकालकै सामान्य घटनाजस्ता लाग्थे । खेल्दाखेल्दै धुलाम्मे हुनु, खुट्टामा काँडा बिझ्नु, लडेर घुँडा छिलिनु, खेलको नियममा कुरा नमिल्दा झगडा पर्नु वा एकअर्कालाई जिस्क्याउँदै नाम काढेर बोल्नु हाम्रा लागि सामान्य थिए । गाईवस्तु हराउँदा भगवान् पुकार्नु र घरमा पुगेपछि ‘वस्तु हराइस’ भन्दै गाली खानु पनि गोठाले जीवनका अभिन्न अनुभव थिए । आज ती घटना सम्झँदा मनमा हाँसोसँगै पुरानो समयप्रतिको गहिरो माया जागेर आउँछ । गोठालो जीवनमा रमाइलोमात्र थिएन, दुःख र अभाव उत्तिकै थिए । जंगल र पाखापखेरामा पानीको अभाव हुन्थ्यो । खेलिसकेपछि तिर्खा लाग्दा कहिले पुरानागाउँमा पानी माग्न जानुपर्थ्यो भने कहिले त्यस क्षेत्रमा ल्याइएको पाइपबाट झरेको पानी सेउलाका पातमा थापेर खानुपर्थ्यो । पानी भेटिँदा हामीलाई कुनै ठूलो उपलब्धि हासिल गरेजस्तै लाग्थ्यो । तिर्खाले सुक्न लागेका ओठमा पानी पर्दाको आनन्द अहिलेका सुविधासम्पन्न जीवनमा कहाँ पाउन सकिएला र ! बेलुका घाम अस्ताउन लाग्दा गाईवस्तुलाई अघि लगाएर घर फर्किन्थ्यौं । क्षितिज राताम्मे हुन्थ्यो । दिनभरि दौडधुप गर्दा शरीर थाकेको हुन्थ्यो, तिर्खाले ओठ सुक्थे, तर मन भने प्रसन्न हुन्थ्यो । साथीहरूसँग दिनभरि खेलेको, हाँसेको र रमाइलो गरेको सन्तुष्टि बोकेर घर फर्किने ती साँझहरू आज पनि मनमा गहिरो गरी बसेका छन् । समयसँगै गाउँको जीवनशैली बदलिएको छ । विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य सुविधाको खोजीमा धेरै परिवार बसाइँ सरेका छन् । पानीको अभाव र सीमित अवसरका कारण गाउँ छोड्नुपर्ने बाध्यता पनि धेरैलाई परेको छ । कुनै समय बालबालिकाको हाँसो र खेलले गुञ्जायमान हुने खुला चौरहरू अहिले सुनसान हुँदै गएका छन् । हामीसँगै गोठालो जाने र डण्डिबियो खेल्ने उमेर समूहका साथीहरू गाउँमा कमै बाँकी छन् । त्यसैले हिजोका ती रमाइला दिनहरू आज सम्झनामा मात्रै सीमित हुन थालेका छन् । आजका बालबालिका मोबाइल, कम्प्युटर र डिजिटल खेलमा बढी रमाउँछन् । समयअनुसार प्रविधिको प्रयोग हुनु स्वाभाविक हो । तर प्रकृतिसँग प्रत्यक्ष जोडिएर खेलिने डण्डिबियो, गट्टी, लठ्ठीमारी र लुकिडुमजस्ता रैथाने खेलले बालबालिकामा विकास गर्ने सामूहिक भावना, सहकार्य, शारीरिक सक्रियता र आत्मीयता पनि उत्तिकै महŒवपूर्ण छन् । यस्ता खेल केवल मनोरञ्जनका साधनमात्र थिएनन्, हाम्रो गाउँले जीवन, संस्कृति र सामाजिक सम्बन्धका अभिन्न हिस्सा पनि थिए । यो लेख लेखिरहँदा ती पुराना ठाउँमा सँगै पुगेका साथीहरूको सम्झना आइरहेको छ । साथीहरूसँग झगडा गरेको, निबुवा टिपेर खाएको, लठ्ठीमारी खेलेको, अरूका बारीबाट आँप चोरेर वा मागेर खाएको जस्ता अनेक घटना एकपछि अर्को गर्दै स्मृतिमा आइरहेका छन् । तीमध्ये कतिपय घटना सामान्य थिए, कतिपय शरारतले भरिएका थिए, तर आज ती सबै मेरा जीवनका अमूल्य सम्पत्ति बनेका छन् । कहिलेकाहीँ लाग्छ, ती डाँडापाखा र खुला चौरले अझै हामीलाई पर्खिरहेका होलान् । हामीले बाल्यकालमा टेक्ने गरेका बाटा, खेल्ने गरेका मैदान र गाईवस्तु चराउने गरेका पाखाहरूले हाम्रा पाइला र आवाज सम्झिरहेका होलान् । समयले मानिसलाई टाढा पुर्याए पनि जन्मभूमिसँग जोडिएका स्मृतिहरू कहिल्यै टाढा हुँदैनन् । नेपाली माटोको सुगन्ध बोकेको त्यो बाल्यकाल, गाईवस्तु चराउँदाको गोठाले जीवन र डण्डिबियो, लठ्ठीमारी तथा गट्टी खेल्दाका ती सामूहिक क्षण आज पनि मेरो मनको कुनामा सुरक्षित छन् । जीवनमा जतिसुकै भौतिक सुखसुविधा प्राप्त भए पनि गाउँको त्यो पाखो, साथीभाइको साथ र प्राकृतिक वातावरणमा रमाउँदाको आनन्दको तुलना अरू कुनै कुरासँग गर्न सकिँदैन । अन्त्यमा, मलाई जन्म दिने बुबाआमा, मेरो परिवारका दिदीहरू र दाइ, बाल्यकालका सम्पूर्ण साथीभाइ, हामीलाई सही बाटोमा हिँड्न सिकाउने अभिभावक तथा आदरणीय गुरुहरूप्रति हार्दिक नमन । आफ्नो बाली गाईवस्तुले खाइदिँदा समेत हामीलाई असल बाटोमा हिँड्न सिकाउने गाउँका अभिभावकहरूको माया र मार्गदर्शन आज पनि उत्तिकै स्मरणीय छ । साथै, मेरो जन्मभूमि खोटाङका सम्पूर्ण जनसमुदायप्रति हार्दिक सम्मान र मिठो सम्झना । ती दिनहरू अब फर्केर आउने छैनन्, तर तिनले दिएका खुशी, सिकाइ र आत्मीयता जीवनभर मसँगै रहनेछन् । बरबोटेको त्यो सानो गाउँ र त्यहाँ बिताएको बाल्यकाल मेरो जीवनको यस्तो अध्याय हो, जसलाई समयले कहिल्यै मेटाउन सक्नेछैन ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

खसी खोज्न गाउँमै ग्राहक
उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...


