काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा चार अर्ब २५ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ७४ करोड रुपियाँ मात्र लगानी भित्रिएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष लगानीको मात्रा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। यसैबीच, चालु आर्थिक वर्षको चार महिनामा १९ अर्ब ५५ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्म ४९७ वटा परियोजनाका लागि सो प्रतिबद्धता आएको हो। गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड रुपियाँको प्रतिबद्धता आएको थियो, जुन यस वर्षको तुलनामा झन्डै आधाले कम हो। विभागको तथ्याङ्कअनुसार यस वर्ष सबैभन्दा धेरै ४९१ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ। यसबाहेक चारवटा ठुला र दुईवटा मझौला उद्योगमा लगानी गर्ने प्रस्ताव आएको छ। क्षेत्रगत रूपमा हेर्दा १८६ वटा पर्यटनमूलक उद्योगका लागि आठ अर्ब ६६ करोड रुपियाँ प्रतिबद्धता आएको छ, जुन सबैभन्दा बढी हो। त्यस्तै, तीनवटा ऊर्जामूलक उद्योगमा चार अर्ब पाँच करोड र ४४ वटा सेवामूलक उद्योगमा तीन अर्ब ९५ करोड रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ। सङ्ख्यात्मक आधारमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै २७२ वटा उद्योग दर्ता भएका छन्। यसका साथै २९ वटा उत्पादनमूलक उद्योगमा एक अर्ब ७५ करोड रुपियाँ लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।
तीन महिनामा सवा चार अर्ब वैदेशिक लगानी भित्रियो

Read Complete Original Article
Published originally on नेपालन्युज






