काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७ सय मेगावाट हुने अनुमान गरेको छ। प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताए। यस अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५ सय मेगावाट हुने प्रक्षेपण गरिएको छ। उनले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने दाबी गरे। प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारीसमेत गरेको जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका छन्। त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ। विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

Read Complete Original Article
Published originally on नेपालन्युज






