काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए । उनले आवाज निकाल्न थालेको केही समयमै टाढाटाढाबाट कागहरू उडेर कार्यक्रममा आइपुगेका थिए । करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए । त्यस अवसरमा ठूलो स्टेज निर्माण गरी कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गर्ने उनको तयारी छ । काग सम्मेलनमार्फत उनले मनोरञ्जनसँगै समसामयिक राजनीतिक सन्देश पनि दिएका छन् । नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडोभन्दा चाँडो विकासको गतिमा अघि बढाउनेमा आफू आशावादी रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष काग तिहारलाई विशेष बनाउँदै आएका दुलालको यो अनौठो कला र काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत थप रोचक बनाउँदै आएको छ ।
काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![सरस्वतीनगर टोलसुधार समितिले गर्यो टोलमा सरसफाइ [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/saraswatinagar-tolsudhar-samiti-83-7-21%20(21).jpeg)


