बाँके । एकै घरका बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ। बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका बुवा ६६ वर्षीय दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया–११ लालपुरमा मिनीफोर्स बससँग ठोक्किँदा उनीहरूको निधन भएको थियो। बाबु–छोराको एकसाथ निधन भएपछि सिङ्गो चिलहरिया गाउँ शोकमग्न भएको स्थानीय जुद्ध पुनले बताए। भारतमा रोजगारी गर्दै आएका उनीहरू तिहार मनाउन नेपाल फर्किएका थिए। बर्दियाको गुलरियामा छोरी भेट्न जाने क्रममा उक्त घटना भएको थियो। गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को मिनि फोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ गइरहेको भारतीय मोटरसाइकल एकआपसमा ठोकिएको थियो। त्यस सडक दुर्घटनामा बाबु–छोराको ज्यान गएपछि आफन्त र छिमेकी गाउँवासीले दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्ज–राजापुर सडक अवरुद्ध पारे पनि सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गरेर फर्किएको राप्ती सोनारी गाउँपालिका–५ का वडाध्यक्ष झगरु थारुले बताए। मृत्यु भएको तीन दिन बित्दासम्म निकाश ननिस्केपछि मुद्दा दर्ता गर्ने सहमतिमा बाबु–छोराको शव आफन्तजनले बुझेका छन्। मृतक बाबु–छोराको आज स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष थारुले बताए। स्थानीय अगुवा तारा ओलीले चाडपर्वको बेला परदेशबाट घर फर्किएका बाबु–छोरालाई सडकमै गुमाउनुपर्दा सिङ्गो बिनौनावासी नै स्तब्ध र शोकमग्न रहेको प्रतिक्रिया दिए। उनले भने, “चाडपर्व मनाउन घर फर्किएका बाबु–छोराको अकाल मृत्युले खत्री परिवारको सहारा खोसिएको छ भने असुरक्षित सडक यात्राले फेरि एकपटक ग्रामीण बस्तीमा कहिल्यै निको नहुने घाउ छाडेको छ।”
तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






